काठमाडौ, ६ मंसिर(ओएनएस) : रुपन्देहीको लुम्विनि नजिक विष्णुपुरामा प्रहरीको गोली लागेर एकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार भारतीय नागरिक सर्फ राजको मृत्यु भएको हो ।
नियमित सुरक्षा गस्तीमा रहेको प्रहरी टोलीले हतियारधारी व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि गोली चलाएका थिए ।
सुरक्षा गस्तीमा रहेका प्रहरीमाथि गोली चलाउदा प्रहरीले जवाफी फायरिङ गरेको बताएको छ ।
त्यस्तै पक्राउ पर्नेमा कपिलवस्तुका अखिल मुसलमान र हफिजल्लाह मुसलमान ,रूपन्देही धमौलीका अखिलेश यादव छन् ।
पक्राउ पर्नेहरूका साथबाट प्रहरीले हतियारसहित दुईवटा भारतीय नम्बर प्लेटका मोटरसाइकलसमेत बरामद गरेको छ । बरामद गरिएका मोटरसाइकलमा युपी ५ पी ५८६३ नम्बरको अपाचे र युपी ५५सी ४३३ नम्बरको स्प्लेन्डर रहेका छन् ।घटनास्थलबाट दुई थान पेस्तोल, एक थान सिक्सर र १५ थान गोली बरामद गरिएको प्रहरीले जानकारी दिए ।
उनीहरु मोष्ट वान्टेडको सूचिमा थिए । उनीहरुमाथि प्रहरीले एक महिनादेखि निगरानी गरिरहेको थियो ।
भारतबाट हतियार ल्याएर कपिलवस्तुमा लुट्ने सूचनाका आधारमा प्रहरी टोली उनीहरुको निगरानीमा रहेको बताइएको छ ।
लुम्विनी क्षेत्रको उत्तरतर्फको भागको यो घटना भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण हुने भएपछि लुम्बिनी क्षेत्रमा सुरक्षा निगरानी र जाँचलाई कडा बनाइएको छ ।