लुम्बिनीमा भारतीय सुरक्षाकर्मी

134
  •  
  •  
  •  

काठमाडौं, १८ कात्तिक ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्भावित भ्रमणको सुरक्षा व्यवस्थाबारे जानकारी लिन भारतीय विशेष सुरक्षा टोली सोमबार लुम्बिनी आएको छ । टोली लुम्बिनीको भूगोल र सुरक्षा तयारीबारे जानकारी लिएर सोमबारै काठमाडौं फर्किएको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउने क्रममा मोदीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पनि भम्रण गर्ने चर्चा छ । उनको भ्रमणमा गर्नुपर्ने सुरक्षा व्यवस्था र अहिलेको तयारीबारे भारतीय टोलीले जानकारी लिएको लुम्बिनी अञ्चल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी गणेश केसीले बताए ।

विशेष सुरक्षा टोलीले मायादेवी मन्दिरदेखि विकास कोषको मैदानसम्म स्थलगत अध्ययन गरेर सुरक्षा व्यवस्थाबारे जानकारी लिएको प्रहरीले जनाएको छ । एसएसपी केसीका अनुसार भारतीय टोलीले लुम्बिनीमा हुने सुरक्षा तयारी तथा लोकेसनबारे जिज्ञासा राखेको थियो ।

टोलीले मोदीको भ्रमणका क्रममा सीमासहित सो क्षेत्रमा हुने सुरक्षा तयारीबारे पनि जिज्ञासा राखेको अञ्चल प्रहरी कार्यालयले जनाएको छ । भारतीय टोलीसँगै नेपाली सुरक्षा निकायका अधिकृतहरूसमेत काठमाडौंबाट सँगै लुम्बिनी आएका थिए ।

दुई देशका सुरक्षा अधिकारीबीच मोदीको भ्रमणका क्रममा सुरक्षा व्यवस्था तथा त्यसअघिको निगरानी योजनाबारे पनि छलफल भएको स्रोतले बतायो । स्रोतका अनुसार सुरक्षा तयारीबारे ब्रिफिङपछि भारतीय टोलीले सहकार्यबाट थप सुरक्षा योजना बनाउने बताएको थियो । छलफलमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरू सहभागी थिए ।

कस्तो सुरक्षा तयारी ?
लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गर्ने मिति तय नभए पनि नेपाली अधिकारीहरूले सुरक्षा तयारी तीव्र पारेका छन् । रणनीति बनाएर सुरक्षा तयारी गरिएको लुम्बिनी अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक गणेश केसीले जानकारी दिए ।

‘सुरक्षा व्यवस्था मजबुत पारिएको छ,’ केसीले नयाँ पत्रिकासँग भने, ‘भिआइपीलाई दिनुपर्ने सबै किसिमको सुरक्षा उपलब्ध गराउने गरी तयारीमा जुटेका छौँ ।’ उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको एकीकृत टोली सुरक्षामा खटिनेछ ।

लुम्बिनीमा समोराहस्थलदेखि सवारी चलाउने रुटलगायत सबै ठाउँको सुरक्षामा एकीकृत सुरक्षा प्रणालीअन्तर्गत नेपाली सुरक्षाकर्मी खटिने केसीले बताए । सीमाक्षेत्रमा अहिलेदेखि नै चेकजाँच कडा पारिएको पनि उनले जानकारी दिए ।

सीमावर्ती जिल्ला भएकाले सम्भावित आपराधिक गतिविधिबारे पनि विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ । उच्च सतर्कताका साथ सुरक्षा निगरानी भइरहेको केसीको भनाइ छ । नयाँपत्रीकाबाट


  •  
  •  
  •