रक्षामन्त्रीले उद्घाटन गरेको फार्मेसी अझै सञ्चालनमा आएन

215
  •  
  •  
  •  

lumbini zonal hospitalबुटवल, १६ चैत (ओएनएस) :  लुम्बिनी अञ्चल अस्पताल, बुटवलको फार्मेसीको उद्घाटन भएको १ महिना वित्दा समेत अझै सञ्चालनमा आउन सकेको छैन् ।

फार्मेसी सञ्चालनको लागि चाहिने औषधिको टेन्डरमा ढिलाई भएकाले सेवा सुरु हुन नसकेको अस्पतालले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको अवज्ञा गर्र्दै सञ्चालनमा ढिलाई भएको भएपनि सरकारले सिडमनि दिएपछि उद्घाटन भएको थियो ।
अस्पतालका फार्मेसी सञ्चालनमा आउन नसक्दा दैनिक रूपमा आउने १ हजार बिरामीले औषधि बाहिर किन्नुपर्ने बाध्यता हट्न सकेको छैन । गत फागुन १५ गते रक्षामन्त्री बालकृष्ण खाँणले अस्पतालको फार्मेसी उद्घाटन गरेका थिए ।

अस्पतालका स्टोर प्रमुख नमनारायण बेलवासेले वैशाख ५ गतेबाट फार्मेसी सञ्चालन गरिने बताए । अस्पतालका मेडिकल सुपरीटेन्डन डा. राजेन्द्र सञ्जेल क्षेत्रीले औषधि खरिद प्रक्रिया टेन्डरमा रहेकोले सञ्चालन गर्न ढिलाई भएको बताए ।

नेपाल सरकारको अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ अनुसार अस्पतालले आफ्नै फार्मेसी उद्घाटन गरेको थियो ।

सर्वोच्च अदालतले २०७२ साल असार मसान्त सम्ममा मुलुकभरका जिल्ला, अञ्चल र क्षेत्रीय अस्पतालहरुलाई आफै फार्मेसी सञ्चालन गर्न आदेश जारी गरेको थियो । त्यसलगत्तै असार २९ को मन्त्रिपरिषदले सबै अस्पतालहरुलाई अदालतको आदेश कार्यान्वयन गर्न आदेश दिए पनि यस क्षेत्रकै पुरानो अञ्चल अस्पतालमा भने अझैसम्म आफ्नो फार्मेसी सञ्चालनमा आउन सकेको छैन ।

लुम्बिनी अञ्चल अस्पतालले आफै फार्मेसी सुरु गर्न कर्मचारीको अभाव भएपछि क्षेत्रीय स्वास्थ्य निर्देशनालयले ५ जना कर्मचारी पठाएको छ ।
अस्पताल हाताभित्र रहेको जनप्रिय फार्मेसी नहटाई अस्पतालको उत्तरपट्टिको गेट नजिक सानो टहरो मात्र बनाइएको छ ।

निजी फार्मेसी सञ्चालकबाट औषधिमा एकरुपता नहुने, बिरामी ठगिने लगायतका समस्याबाट सर्वसाधारणलाई मुक्ति दिन अदालत र सरकारले उक्त निर्णय गरेको भए पनि १ सय ६ वर्ष पुरानो अस्पतालले त्यसको पालना गरेको छैन ।


  •  
  •  
  •