लुक्ला विमान दुर्घटना : छानबिन गर्न समिति गठन

84
  •  
  •  
  •  

काठमाडौं, २ वैशाख(ओएनएस) : सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा आइतबार बिहान भएको समिट एयरको विमान दुर्घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन समिति गठन गरेको हो ।

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डंगोल सदस्य रहेका छन् भने सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा रहेको लुक्ला विमानस्थलमा आइतबार बिहान ९ः२२ बजे भएको विमान दुर्घटनामा दुई प्रहरीसहित तीन जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका छन् ।

लुक्लाबाट रामेछाप उड्ने क्रममा रहेको ‘नाइन एन एएमएच’ कलसाइन विमान धावनमार्गबाट चिप्लिएर पार्किङ गरी राखिएको मनाङ एयरको ‘नाइनएन एएलसी’ कल साइन हेलिकप्टरसँग ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा समिट एयरका सहायक पाइलट सुजित ढुंगाना, प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको छ ।

सहायक पाइलट ढुंगाना र प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का घटना स्थलमै मृत्यु भएको थियो भने श्रेष्ठको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा समिट एयरका पाइलट रवीनाथ रोकाय र मनाङ एयरको हेलिकप्टरका पाइलट चेतबहादुर सामान्य उपचारपश्चात् घर फर्किसकेको मन्त्रालयले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

यो पनि हेर्नुहोस्

लुक्ला विमान दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्यो


  •  
  •  
  •