खाना पकाउने ग्याँसको अभाव हुँदैनः आपूर्ति मन्त्री

367
  •  
  •  
  •  

काठमाडौं, ८ असोज (ओएनएस) : सरकारले यसपटकको दशंै, तिहार र छठ पर्वमा खाना पकाउने एलपी ग्याँसको अभाव नहुने बताएको छ ।

केही व्यापारीले कालोबजारीका लागि अभावको हल्ला फैलाएको भन्दै सरकारले  गलत हल्लाको पछि नलाग्न भनेको छ । बाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापाले बजारको मागभन्दा पनि बढी एलपी ग्याँस बढी आयात भईरहेको भन्दै न आत्तिन आग्रह गरे ।

मन्त्री थापाले अहिले २३ हजार ५०० मेट्रिक टन एलपी ग्याँस आयात भईरहेको छ भने ग्याँस व्यवसायीले  १६ सय मेट्रिक टनमात्रै उठाईरहेकाले अभाव कुनै हालतमा नहुने दाबी गरे । संसदको राज्य व्यवस्था समितिमा उनले भने,‘ खपत भन्दा आयात धेरै छ भने अभावको कुरै आउँदैन, बजारमा अभाव हुने भन्ने हल्ला गलत हो ।’

उनले पेट्रोलियम पदार्थमा पनि अभाव नहुने जिकिर गरे । बजारमा कालोबजारी गर्ने प्रयास भएपनि त्यसलाई नियन्त्रणका लागि कदम चालिरहेको मन्त्री थापाले दाबी गरे । उनले कालो बजार र कृत्रिम अभाव हुन नदिन चाडपर्वभरी नै अनुगमन गर्न टोली खटाएको बताए ।

काठमाण्डौं उपत्यकामा पाँच वटा टोली खटाएर अनुगमन भईरहेको मन्त्री थापाले जानकारी दिए । मन्त्री थापाले काठमाण्डुको न्यू रोडमा अनुगमन गर्न गएका सरकारी अधिकारीमाथी अभद्र व्यवहार भएको भन्दै घटनामा संलग्नमाथी कारवाहीका लागि मुचुल्का उठाएर जिल्ला प्रशासन कार्यालयमा पठाएको जानकारी दिए  ।


  •  
  •  
  •