संसारमै सस्तोमा मृगौला उपचार गर्ने डा. पुकारचन्द्र

1140
  •  
  •  
  •  

dr pukar chandra shresthaकाठमाडौँ, २० बैशाख(ओएनएस) : सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डा. पुकारचन्द्र श्रेष्ठलाई मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको छ ।

पुर्ख्यौँली घर बागलुङ रहेका उनी पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका भाइ हुन् । बेलायतमा अध्ययन र चिकित्सा अभ्यास गरेका डा. श्रेष्ठ त्यहाँको आकर्षक जागिर र सुविधा छाडेर नेपालमै केही नयाँ काम गर्ने भन्दै स्वदेश फर्किएका थिए ।

५२ वर्षीय डा. श्रेष्ठले नेपाल आएलगत्तै मानव अंग प्रत्यारोपणको सहज व्यवस्थाका लागि अभियान सुरु गरेका थिए । नेपालमा उनकै पहलमा मानव अंग प्रत्यारोपणसम्बन्धी कानुनी व्यवस्था भएको हो ।

पढाइ सकेर ६ वर्षसम्म बेलायतमा चिकित्सा अभ्यास गरेका उनले त्यहाँको लोभलाग्दो आम्दानी र जागिर बीचैमा छाडेर आफ्नै देशको सेवा गर्ने प्रतिबद्धताका साथ फर्के पनि यहाँका वरिष्ठ चिकित्सक, प्रशासक र स्वास्थ्य व्यवसायीहरुले असहयोग गरेर हतोत्साहित पनि पारेको अनुभव उनीसँग छ । उनी भन्छन्, “एक न एक दिन त सबैले अवश्य बुझ्नेछन् भन्ने ठानेर म आफ्नो काममा लागी नै रहेँ । सबै खालका प्रतिक्रियालाई मैले सकारात्मक ऊर्जा र प्रेरणाको रुपमा उपयोग गरेँ ।”

सुविधायुक्त जीवनको खोजीमा विदेश जान मरिहत्ते गर्नेहरूका लागि उनी एउटा बेग्लै पाठ बनेका छन् । त्यसमा पनि सरकारी संरचनाबाटै जनमैत्री स्वास्थ्य सेवा प्रवाहको प्रणाली स्थापना गर्न सकिन्छ भनेर खट्ने एक स्वप्नद्रष्टा र कर्ता पनि उनलाई मानिन्छ ।

Dr. Pukar Chandra shresthaनेपालमा पहिलोपल्ट मृगौला प्रत्यारोपणको सफल प्रयोग गर्ने पनि उनै हुन् । विगत तीन वर्षमा ३०० प्रत्यारोपण गरिएको र त्यसमा ९८ प्रतिशत सफल भएको डा. श्रेष्ठ बताउँछन् । साथै, संसारमै सस्तो सेवा मृगौला उपचार तथा प्रत्यारोपणमा दिने, संस्थागत संरचना र प्रणाली बनाउने कामको जस पनि डा. श्रेष्ठलाई नै जान्छ ।

केन्द्रले अहिले प्रतिवर्ष औसत १०० मृगौला प्रत्यारोपण गरिरहेको छ । केन्द्रमा प्रतिमृगौला प्रत्यारोपणको लागत तीनदेखि चार लाख पर्छ । मृगौलाका बिरामीहरुले हरेक हप्तामा गर्नुपर्ने डाइलाइसिस समेत १ हजार ३ सय रुपियाँमा गर्न सक्ने व्यवस्था उनले गरेका छन् । जबकि, कतिपय अस्पतालहरुले ३ देखि ५ हजार रुपियाँसम्म डाइलाइसिसको लिँदै आएका छन् ।

त्यसरी महँगो शुल्कमा डाइलाइसिस गर्ने चिकित्सक र अस्पतालहरुले सस्तोमा उपचार नगर्न उनलाई पटकपटक धम्काएका समेत थिए । केन्द्र कलेजो प्रत्यारोपणका लागि पूर्ण तयारीमा रहेको छ । मुटु, फोक्सो, बोन म्यारो, प्यांक्रियाज लगायत अंगहरुको प्रत्यारोपणका लागि पनि उत्कृष्ट केन्द्र बनाउने योजना रहेको डा श्रेष्ठको भनाइ छ । यसका लागि भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र सैनिक विद्यालयसँगको सहकार्य गरिने उनको भनाइ छ ।


  •  
  •  
  •