‘लिभिङ टुगेदर’ बस्दै आएकी प्रेमिकाको हत्या

121
  •  
  •  
  •  

काठमाडौं १० जेठ ।
रातमाटे १, महादेवस्थान नुवाकोटकी १८ वर्षीय अञ्जना थापा र महादेवस्थान ८, मण्डनपौवा काभ्रेका २८ वर्षीय श्याम श्रेष्ठको रातमाटेमै चिनजान भयो । ५ वर्षीय छोराका बाबु श्याम र अञ्जनाको भेट कामकै सिलसिलामा ३ वर्षअघि भएको हो । श्याम रातमाटेमा ट्रक चलाउँथे भने अञ्जना त्यतिबेला कक्षा १० मा पढदै थिइन् ।

एसएलसी उत्तीर्णपछि उच्च शिक्षाका लागि श्यामकै सल्लाहमा अञ्जना काठमाडौं आइन् । कोटेश्वर बहुमुखी क्याम्पसमा कक्षा ११ मा भर्ना भई कौशलटार बस्दै आएकी उनी गत साउनदेखि सूर्यविनायकस्थित गणेशकुमार दुवालको घरको चौथो तलामा बस्दै आएकी थिइन् । सधैंको भेटघाटपछि गत मंसिरदेखि भने उनीहरू ‘लिभिङ टुगेदर’ मा थिए ।
अञ्जनासँगको सम्बन्ध बाक्लिएपछि श्रीमतीसँग श्यामको सम्बन्ध चिसियो । उनले श्रीमती र घरपरिवारलाई हेरचाह गर्न छाडे ।

श्याम र अञ्जनाको झाँगिएको सम्बन्धमा गत वैशाखदेखि खटपट पर्न थाल्यो । अञ्जना नुवाकोट गएर फर्किएपछि उनीहरूको सम्बन्धमा दरार आएको थियो । सधैं फोन सम्पर्क, भेटमा झगडा हुन थाल्यो । अञ्जनाले श्यामको फोन उठाउन पनि छाडिन् ।

पछिल्लो समय भक्तपुर–कलंकी चल्ने ७ नम्बर रुटको बा३ख ५०८२ नम्बरको मिनीबस चलाउँदै आएका श्याम गत वैशाख २१ गते साँझ बस सूर्यविनायक चोकमा पार्किङ गरी मदिरा सेवनपछि अञ्जनाको कोठामा गए । उनी कोठामा पुग्दा अञ्जना बेलुकाको खाना पकाइवरी बाथरुममा नुहाइरहेकी थिइन् । त्यतिन्जेल श्यामले अञ्जनाको मोबाइल चलाएर बसे । मोबाइल चलाएकै नाममा विवाद बढेपछि श्यामले अञ्जनालाई टाउको र कन्चटमा मुक्का हानर हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

कन्चटमा मुक्का लागेर भुईंमा लडेकी अञ्जना उठिनन् । ‘यसअघि पनि बेहोस भएको नाटक गर्थी र अहिले पनि बहाना पारेको भनेर त्यतिकै छाडें,’ श्यामले प्रहरीलाई बयान दिएका छन् । अञ्जनालाई भुईंमै छोडेर उनी अञ्जनाको ओछयानमा सुतेर निदाए । निन्द्राबाट ब्युझँदासमेत उनी नउठेपछि श्यामले भुईंबाट उठाएर ओछयानमा राखे । ओछयानमा राखेपछि पनि केही प्रतिक्रिया नदिएपछि श्यामले अञ्जना मरी भन्ने लागेर कोठाबाट निस्केर आफूले चलाउने गरेको बसमै गई सुते ।

भोलिपल्ट बिहानै श्याम पुन: अञ्जनाको कोठामा पुगे । अञ्जना मृत अवस्थामै पाएपछि ढोकाबाहिरबाट चाबी लगाएर चाबी सोही ढोकामाथिको चेपबाट भित्रै खसाली हिँडेको अनुसन्धानमा खुलेको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

अञ्जनाको मृत्युपछि उनले श्रीमतीलाई फोन गरी च्याम्हासिंहस्थित डेरामा गए । घटनाको वास्तविकता नबताई अञ्जना झुन्डिएर मरी अब हामी यहाँ नबसौं पुलिसले पक्रिन्छ भनी श्रीमती र ५ वर्षीय छोराका साथ कपिलवस्तुको कृष्णनगर नाका हुँदै भारत पन्जाबको लुधियानास्थित आफन्तकोमा पुगेका थिए । भारतबाट पुन: श्रीमती र छोराको साथ कञ्चनपुर नाका हुँदै नेपाल फर्कने क्रममा उनलाई गत बुधबार दाङको लमहीमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कान्तिपुरबाट


  •  
  •  
  •