प्रेम बन्यो अपराधको कारण

88
  •  
  •  
  •  

काठमाडौं २३ कात्तिक ।
झापाको तोपगाछीमा शुक्रबार साँझ एक प्रेमी जोडीले विष खाए । रतुवामाई वनक्षेत्र गई विष खाँदा प्रेमीको तत्कालै मृत्यु हुन पुग्यो । प्रेमिकाको गम्भीर अवस्थामा धरानस्थित वीपी कोईराला स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ ।
विषको पीडा सहन नसकेपछि प्रेमिका छट्पटाउँदै जङ्गल बाहिर निस्केकी थिइन् । विषले छट्पटाएकी उनैले ‘मैले मात्र होइन, उहाँले पनि खानु भएको छ’ भन्दै चिच्याइन् । घटनास्थलमा गाउँले पुग्दा प्रेमीको प्राण पखेरु उडिसकेको थियो ।

इलामको चुलाचुली गाविसस्थित बाह्रकोठे घर भई दमक–१३ मा डेरा बस्ने १५ वर्षीय यादव कुमाल र प्रेमिकाले एकैसाथ विष खाई आत्महत्या प्रयास गरेका थिए । प्रारम्भीक अनुसन्धानबाट यही खुलेको प्रहरीको भनाइ छ ।

प्रेमील जोडी विष खान पुगेका थिए । शुक्रबार साँझको यो घटनामा उनीहरुले किटनाशक विषादी खाएको खुल्न आएको छ । उनी कक्षा– १० मा पढ्दै गरेकी झापा शान्तिनगरकी किशोरी पे्रमिका भने दमक–१० मा डेरा गरी बस्छिन् ।

आत्महत्या अपराध मानिए पनि पछिल्लो समय पूर्वमा प्रेम नै अपराधको कारक बन्दैछ । युवायुवतीबीच एकोहोरो या दोहोरो प्रेम असफल हुने अवस्था आए दुबैले सँगै आत्महत्या क्रम बढ्दो छ ।
गत जेठमा पनि झापाको सतासीधाम–५ मा यस्तै घटनाले चर्चा पायो । त्यो घटना पनि प्रेमी जोडीले नै निम्त्याएका थिए । युवतीका अभिभावकले दबाब दिएर प्रेम तोड्न भनेको तीन दिनमै युवतीले सलको पासो लगाएर आत्महत्या गरिन् ।

पे्रमिकाले मृत्युवरण गरी आफूप्रति देखाएको समर्पणबाट विह्वल प्रेमी सरोज विकले पनि त्यही दिन आत्महत्या प्रयास गरे । झुण्डेर छटपटाईरहेका उनको गलामा कस्सिएको पासो गाउँलेले काटेर बचाए । त्यसअघि झापाको दमक–१५ मा प्रेम सम्बन्धसँग जोडिएको विषयले युवायुवतीकै निधन भयो । दुवैजना कोठाभित्र जलेको अवस्थामा फेला परे । उनीहरु एकै चिहान भए ।

प्रहरीले घटनाको कारण प्रेम सम्बन्ध र त्यसमा आएको उतारचढाव भएको ठहर गरेको छ । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न खोज्दा एउटा पक्षका अभिभावकले अस्वीकार गर्दाको परिणाम दुबैले आफैंलाई आगो लगाएर जलाएको प्रहरी अनुसन्धानले देखाएको छ ।

सानो उमेरमा गरेको प्रेम परिवारले अस्वीकार गर्नु र समाजमा बढ्दो बिलाशीताको परिपूर्ति गर्न नसक्नु आत्महत्याको कारक रहेका पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक केदार खनाल बताउँछन् । ‘पारिवारिक अवस्था, डिप्रेसन र हाडनाता सम्बन्धले पनि आत्महत्या गर्ने बढेका छन्’, खनालले भने, ‘सम्बन्धमा जातीय विभेद पनि अर्को कारण हो ।’
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •