महिमासंग ऋषिको निकटता

116
  •  
  •  
  •  

निर्देशक तथा लेखक ऋषि न्यौपानेले अभिनेत्री महिमा सिलवाललाई एकपछि अर्को गर्दै लगातार आफ्ना चलचित्रमा नायिकाका रूपमा लिँदै आएका छन् । न्यौपानेले यसअघि लगातार तीनओटा फिल्ममा सिलवाललाई लिएका थिए । उनलाई चलचित्र खतरनाक, झमेला र कमिनामा काम गराइसकेका न्यौपानेले चलचित्र बादशाहमा पनि सिलवाललाई नै मुख्य भूमिकामा लिएका छन् । मंगलबार राजधानीमा एक कार्यक्रममाझ फिल्म बादशाहको निर्माण घोषणा गरियो । जसमा अभिनेत्री सिलवाललाई नै नायिकाका रूपमा लिनुको कारणबारे निर्देशक न्यौपानेले राजधानीसँग भने, ‘यसअघि सँगै काम गर्दा उनको बानीबेहोरा राम्रो लाग्यो । परिवारजस्तो भएर काम गर्ने महिमाको बानीका कारण मैले यो फिल्ममा पनि उनलाई नै मुख्य नायिकाको रूपमा लिएको हुँ ।’

महिमासँग ऋषिको निकटतालाई सिने बजारमा विभिन्न रूपमा व्याख्या गर्न थालिएको छ । तर, निर्देशक न्यौपानेले आफूहरूबीच कलाकार र निर्देशकको सम्बन्ध मात्र भएको बताउँदै भने, ‘काम गर्न जोसँग सजिलो हुन्छ, उसैलाई फिल्ममा लिने हो । टिममा बसेर सबैसँग मिलेर महिमाले काम गर्ने भएकाले चौथो पटक पनि फिल्ममा उनलाई नै लिएको हुँ ।’ लगातार आफूलाई निर्देशक न्यौपानेले मुख्य नायिकाका रूपमा लिएकोमा अभिनेत्री सिलवालले खुसी व्यक्त गरेकी छन्, ‘उहाँसँग चौथो पटक पनि फिल्ममा काम गर्न पाउँदा म साह्रै खुसी छु । चलचित्र बादशाहमा उत्कृष्ट काम गर्ने मेरो प्रयास रहनेछ ।’ चलचित्रको घोषणा कार्यक्रममा उनले भनिन्, ‘यो चलचित्रमा म एक सोझी र सामान्य युवती हुन्छ । एक प्रेमिकाको भूमिकामा दर्शकले मलाई बादशाहमा देख्नुहुनेछ ।’

बादशाहको २६ भदौबाट दमौलीदेखि छायांकन सुरु हुँदै छ । चेतनाथ दंगाल र रामहरि खड्काको लगानीमा निर्माण हुन लागेको यो चलचित्रमा महिमासँगै सुशील क्षत्री, दिनेश केसी, किशोर खनाल, शूरवीर पण्डित, रामचन्द्र अधिकारीसहितको अभिनय रहनेछ । जसको प्राविधिकतर्फ रवि कोइरालाको छायांकन, किरण अधिकारीको सम्पादन, विशाल ढकालको संगीत र प्रदीप खड्काको द्वन्द्व निर्देशन रहनेछ । राजधानीबाट


  •  
  •  
  •