काँकडभिट्टा, २६ वैशाख : एकल महिलाले आफ्नै आँगनमा बिहे गरी दुलाह भित्र्याउन खोजेपछि स्थानीयवासीले मण्डपबाटै लखेटेका छन् । भागेर जिल्ला प्रशासन कार्यालय परिसरमा बिहे गरे पनि ‘मार्ने धम्की’ दिइएपछि नवदम्पती परिवारसहित विस्थापित भएका छन् ।
झापा राजगढ-६ की एकल महिला गुड्डी जैसवालले कुमरखोद २ का गायकप्रसाद राजवंशीसँग राजीखुसी बिहे गरेकी हुन् ।
एक वर्षदेखि राजवंशीसँग नजिकिएकी जैसवालले बिहे गर्ने निर्णय लिएपछि केही व्यक्तिले ‘त्यसो गरे मार्ने’ धम्की दिँदै आएका थिए ।
उनले परिवारकै सल्लाहमा बिहे गर्न लागेकी थिइन् । जेठाजु सुरेश भगतलाई केही समयअघि आफूले दोस्रो बिहे गर्न लागेको जानकारी गराउँदा गाली गर्दै नगर्न धम्की दिएको उनले बताइन् ।
बुधबार बिहेको तयारी हुँदै थियो । एक हुल गाउँले आएर मण्डप भत्काइदिए । उनीहरूले भागेर ज्यान बचाए र अधिकारकर्मीले उद्धार गरेपछि जिल्ला प्रशासन कार्यालय पुगे ।
जैसवालले बिहेको निम्तो कार्ड पनि बाँडेकी थिइन् । ‘कार्ड बाँडेदेखि नै आफन्त रिसाएका थिए,’ उनले भनिन्, ‘मार्ने धम्की दिँदै हामीविरुद्ध मानिसलाई उकास्ने, आक्रमण गर्ने काम भयो ।’ केही स्थानीयले मण्डप भत्काउनुका साथै बिहेमा बोलाएका पुरोहितलाई नजान धम्की दिएका थिए । ‘अघिल्लो दिनसम्म तयार जन्ती बिहेकै दिन मानेनन्,’ दुलहा राजवंशीले भने, ‘सबैलाई बिहेमा गए मार्ने धम्की दिइएछ ।’
गुड्डीका पति दिनेश भगतको चार वर्षअघि दुर्घटनामा मृत्यु भएको थियो । तीन सन्तानकी आमा गुड्डीले जमिन र सम्पत्ति तिनै छोराछोरीको नाममा गरिदिएकी छन् । उनको नाममा पौने एक कठ्ठा जमिन मात्र छ ।
झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले जैसवालले पुनः बिहे गरेकोमा नभई आफ्नै घरमा दुलहा भित्र्याउने निर्णय लिएका कारण समस्या भएको बताए । ‘दुलहा भित्र्याउने निर्णयप्रति समाज आक्रामक बनेको पाइयो,’ उनले भने, ‘समस्या समाधान गर्ने पहल गरिरहेको छु ।’
जैसवालले केही दिनअघि आफूले बिहे गर्न लागेको तर समाज विरोधमा रहेको भन्दै सुरक्षाका लागि प्रशासनलाई लिखित र मौखिक जानकारी गराएकी थिइन् । तर प्रशासनबाट सहयोग नभएको उनको गुनासो छ । ‘मण्डप भत्काएर आक्रमण प्रयास गर्दा प्रहरीले हेरिमात्रै रह्यो,’ उनले भनिन्, ‘मैले आफ्नो जीवनको निर्णय आफैं गर्न पाउने कि नपाउने ?’
अधिवक्ता दीपेन्द्र भट्टराईले एकल महिलालाई पुनः बिहे गर्न कानुनले नरोकेको बताए ।
आक्रमणपछि अधिकारकर्मीले उनीहरूलाई उद्धार गरेका थिए । ‘राज्यले सुरक्षा दिन नसकेको’ भन्दै उनीहरूले प्रशासनको प्रवेशद्वारमा बिहे गरेका थिए । ‘हाम्रो सुरक्षा र पुनःस्थापना हुनुपर्यो,’ जैसवालले भनिन् । विस्थापित जैसवाल, उनका तीन छोराछोरी, बिहेमा आएकी आमा र पति राजवंशी अहिले एकीकृत विकास प्रतिष्ठान -आईडीएफ) को संरक्षणमा छन् ।
यसैबीच राष्ट्रिय मानवअधिकार आयोगले घटनाबारे ध्यानाकर्षण भएको जनाएको छ । आयोगका पूर्वाञ्चल प्रमुख कोषराज न्यौपानेले नागरिकमाथि अपमान र दुव्र्यवहार हुँदा सुरक्षा निकाय मूकदर्शक बन्नु लज्जास्पद भएको बताए ।
अधिकारवादीको पहलमा जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारमा बिहे गर्दै झापा राजगढ-६ की एकल महिला गुड्डी जैसवाल र कुमरखोद २ का गायकप्रसाद राजवंशी ।
Comments are closed.