चिठीमा जीवित प्रेमकथा

62
  •  
  •  
  •  

काठमाडौं २५ माघ ।
धेरै प्रेमकथा जस्तै यो पनि चिठीबाटै सुरु भएको थियो। छ वर्षअघि। लरेन फ्लेसमनले आफ्नो मामाघरको हजुरबुबाको खाटछेउ एउटा किताब फेला पारिन्। भित्र कैयौं प्रेमपत्रहरू जतनसाथ राखिएको थियो। सबै पत्र हजुरबुबाले दोस्रो विश्वयुद्धताक हजुरआमाका लागि लेखेका थिए।

लरेनका हजुरबा र हजुरआमाको ‘ब्लाइन्ड डेट’का रूपमा भेट भएको थियो। उनीहरूले सन् १९४४ मा न्युयोर्क सहरको गोल्डस्बोरोमा विवाह गरेका थिए। ५९ वर्ष साथै बितायो यो जोडीले। यतिभन्दा धेरै कुरा लरेनलाई पनि थाहा थिएन। तर, जब उनले भेटिएका प्रेमपत्रमा अभिव्यक्त भावनाहरू एकपछि अर्को पंक्ति पढ्दै गइन्, उनी निकै उत्साहित भइन्। त्यसपछि उनलाई लाग्यो, आधा शताब्दी सँगै बिताएका जोडीको प्रेमलाई चर्चा गर्नु आवश्यक छ।

लरेनले आफ्नो प्रकाशोन्मुख किताब ‘द लभर्स’का लागि यस्तै आधा शताब्दी सँगै बिताएका जोडीहरूको फोटो खिचेकी छन्। जुन यसै महिना युरोपमा विमोचन हुँदै छ।

३५ वर्षीया अविवाहित फोटोग्राफरलाई त्यतिका लामो समय एकै मान्छेसँग कसरी प्रेम गर्न सकिन्छ भनेर सोच्न कठिन नै हुन्छ। पहिलो प्रेम गर्ने हरेक जोडीको मनमा उठ्ने आशंका पनि त्यही नै हो।
लरेनको पहिलो पात्र मो र टेस्सी रुबेनिस्टेन, उनका साथीका हजुरबा–हजुरआमा हुन्। उनीहरूको बसाइ पनि लरेन हुर्केको ठाउँ ब्रुकलिनबाट धेरै टाढा थिएन। उनलाई सुरुदेखि नै आफ्नो लागि यो काम ठिक हुन्छ भन्ने लागेको थियो। तर, केही जोडी यस्ता पनि निस्किए, जो उनीसँग कुरा गर्नै चाहँदैन थिए। पहिला त उनलाई झाँेक चल्यो। जोसँग उनी कुरा गर्न चाहन्थिन् उनीहरू निकै वृद्ध भइसकेका थिए। ‘उनीहरूको छोराछोरी नै ६० वर्षमाथिका थिए,’ उनले भनिन्।

लरेनले आफ्नो पात्रको पहिचान गर्न न्युयोर्कमा बूढाबूढी बेला भएर रमाइलो गर्ने ठाउँमा गइन्। त्यहाँ भेटिएका वृद्ध जोडीले उनलाई आफ्ना हजुरबा–हजुरआमाको याद दिलाउँथ्यो। वृद्ध जोडीको फोटो खिचेपछि उनीहरूको ठेगाना सोध्थिन् र फोटो पठाउँथिन्। त्यसपछि कुरा गर्ने समय माग्थिन्।
हरेक जोडी एक–अर्कासँग नितान्त फरक हुन्थे।

‘तर, मैले थाहा पाएको कुरा, माया भनेको लामो समयको अन्तरंग सम्बन्धपश्चात् गहिरिँदै जाँदो रहेछ। न कि क्षीण हुँदै,’ उनले भनिन्, ‘लामो सम्बन्ध कसैले पनि सदैव सुमधुर रहेको भने बताएनन्। केही न केही सम्झौता सबैले गरेका थिए, लामो सम्बन्ध र प्रेमका लागि।’

कुनै प्रेमकथा यस्ता थिए, जसले पुरानो समाजको चरित्र चित्रण गर्थ्यो। त्यति बेलाको मान्यताविपरीत गरिएको प्रेम खुकुरीको धारमा हिँडेबराबर हुन्थ्यो।

सन् १९४८ विश्वमा कालाजातिलाई केवल गोराहरूको कमारोको रूपमा हेरिन्थ्यो। त्यसै बेला कालाजातिका केटा जेक ज्याकोबले म्यारी नाम गरेकी गोरी केटीलाई बिहे गरे। ज्याकोबको उक्त विवाह सम्भव छ या छैन भन्ने लरेनको प्रश्नमा म्यारीले भनेकी थिइन्, ‘सम्भव छ। तर, निश्चित छैन।’ जुन दिन यो जोडीले विवाह गर्योा। म्यारीको परिवारले उनलाई बहिष्कार गर्योे।

एरिक मारकाउस र युजिन उडवर्थको पहिलो ‘डेट’मा वेटरले सोधेकी थिइन्, ‘तपाईंहरू जुम्ल्याहा हो?’ त्यसपछि उनीहरूले लामो समयसम्म आफ्नो प्रेमको उजागर दुनियाँसामु गर्ने आँट नै गरेनन्। बरु एकअर्कालाई दाजु–भाइ भनेरै चिनाए।

केहीले आफ्नो जीवनसाथी पाउनका लागि कुनै संघर्ष नै गर्नुपरेन। उनीहरूलाई एक–अर्कालाई स्विकार्न बाध्य पारियो। सन् १९२५, ११ डिसेम्बरका दिन विवाह गरेका करम र कर्तारी चन्द जीवनसाथी भएको झन्डै ९० वर्ष पुग्यो। लरेनले उनीहरूका बारे इन्टरनेटमा पढेपछि उनीहरूको छोरालाई सम्पर्क गरेकी थिइन्। करम अहिले ११० वर्ष पुग्न आँटे। करम आफ्नो युवा अवस्थामा गरिएको प्रेमलाई रोमान्टिक तरिकाले सम्झन्छन्। ‘मेरो लागि प्रेम भनेकै हँसाउनु हो,’ उनले लरेनलाई भने, ‘म कर्तारीलाई धेरैभन्दा धेरै चुट्किला सुनाएर हँसाउथे। हाँस्यो भने आयु बढ्छ भन्ने सुनेको थिएँ। मेरी कर्तारी अझै जीवित छे। हाँसोले साँच्चै काम गर्योध जस्तो लाग्छ।’ उनले लरेनलाई आफू अझै कर्तारीसँग ८० वर्ष बिताउन चाहेको बताएका थिए।

ब्रुकलिनबाट, फ्रान्स हुँदै बेलायत बसाइँ सरेकी लरेनलाई ‘द लभर्स’ले यति धेरै ठाउँ घुमाउला भन्ने लागेको थिएन। तर, ब्रुकलिनदेखि बेलायतसम्म डुलेर सयौं वृद्ध जोडीको कथा सुन्दा हिजोआज उनलाई बाटोमा भेटिने हरेक वृद्ध जोडीको प्रेमकथा जान्ने उत्सुकता जागेर आउँछ।

उनी यो किताबबाट मानिसहरूलाई जोड्न चाहन्छिन्। भन्छिन्, ‘यो फोटोग्राफीबाट मात्र सम्भव छ।’ यो किताब कामभन्दा पनि नयाँ भावनासँग जोडिने माध्यम बनेको उनको दाबी छ।

‘मलाई लाग्छ फोटोग्राफी भनेको पनि एउटा भाषा हो। तपाईं जति यसमा बोल्न सिक्नुहुन्छ। त्यति नै राम्रोसँग आफूलाई अभिव्यक्त गर्न सक्नुहुन्छ,’ उनले भनिन्, ‘तर, ती वृद्ध जोडीको भावना र प्रेमकथा भने उनीहरूको आफ्नै बोलीमा सुन्न रमाइलो हुन्छ।’ नागरिकबाट


  •  
  •  
  •