अन्जानको प्रेम

328
  •  
  •  
  •  

 

सप्तरी, पिपराकी सुषमालाई आफ्नै स्कुलका शिक्षक चन्दनले प्रेम प्रस्ताव राखे। त्यो बेला कक्षा ७ मा पढ्ने सुषमाले प्रस्ताव स्वीकारिन्। गणित पढाउने चन्दनसँग सुषमा प्रत्येक साँझ ट्युसनसमेत पढ्ने गर्थिन्। बिस्तारै उनीहरूको सम्बन्धबारे गाउँमा हल्ला भयो। सुषमालाई परिवारले रातारात काठमाडौँ पठाए। राजधानी आएपछि सुषमाको मन फेरियो। गाउँको बुढो शिक्षक सम्झेर उनलाई घिन लाग्न थाल्यो।

एसएसएलसी परीक्षा दिएर जब उनी गाउँ फर्किइन्, चन्दनले उनलाई पुनः पछ्याउन थाले। एकदिन हटियाबाट फर्किदै गर्दा चन्दनले उनको बाटो छेके। सुषमाले उनलाई धकेलेकी मात्र के थिइन्, चन्दन जाइलागिहाले। उनले सुषमालाई घिसार्दै नहरतिर लगेको देखेपछि गाउँले उर्लिए। पुलिस केस गर्दा लफडा होला भनी चन्दनलाई भारत र सुषमालाई काठमाडौँ पठाइयो। सुषमाले झैँ सानै उमेरमा वा अन्जानमा गरेका यस्ता प्रेमले दुर्घटना डाक्ने गरेका छन्। गाउँमा प्रेम गर्ने र शहरमा आएर बिर्सिने प्रवृत्तिले आपसमा दुश्मनी मोलिरहेका छन्। गाउँमा श्रीमती हुँदाहुँदै शहरमा अर्की भिœयाउने, श्रीमान् विदेशमा छँदा स्वदेशका श्रीमतीहरू परपुरुषसँग लहसिनेजस्ता घटना हाम्रै आँखाअघि हुने गरेका छन्।

तिनले ढिलोचाँडो अप्रिय घटना ननिम्त्याउलान् भन्न सकिन्न। अपराधाशास्त्री माधव आचार्य कलेज पढ्ने युवायुवती एक/दुई भेटमै प्रेममा पर्ने, डेटिङ जाने, यौनकार्यमा संलग्न हुने र समस्यामा फस्ने गरेको बताउँछन्। ‘पैसाका कुरा, गर्भका कुरा र सामाजिक प्रतिष्ठाका कुराले उनीहरूबीच मतभेद जन्माउँछ,’ उनी भन्छन्, ‘अन्ततः हत्याजस्तो जघन्य अपराधमा मुछिन पुग्छन् उनीहरू।’

तातो रगतको परिणाम

धादिङ तिप्लिङ घर भई काठमाडौँ, गोंगबुमा बस्दै आएका १८ वर्षे युयन तामाङ मध्य–दिउँसो मूल सडकमै मारिए। उनलाई कृष्ण कार्की, सुरेश राउत, सन्तबहादुर तामाङ गरी सातजना केटाले जाल्पाचोकमा बाटो छेकी इँटा, ढुंगा, लात्ती र मुड्की हानी मारेका थिए। भाइटीकाको दिन तास खेल्दै गर्दा सन्तबहादुरकी श्रीमती रिनालाई अभद्र व्यवहार गरेको र भण्डारीटोलमा कृष्णलाई कुटपिट गरेको निहुँमा युयन मारिएका थिए।

हनुमानढोका अपराध महाशाखाका प्रहरी नायब निरीक्षक केशव बराकोटीको अनुभवमा तातो रगत भएको उमेरमा धेरैले आवेशमा आएर हत्या गर्छन्। उनी भन्छन्, ‘१६ देखि ४० वर्ष उमेरका हत्यारा धेरै हुन्छन्। सबैभन्दा कममा १३ वर्षको एउटा बालक र सबैभन्दा बढीमा ६२ वर्षको हत्यारा हामीले भेटेका छौँ। युवा उमेरमा झनक्क रिस उठ्ने, रिस कन्ट्रोल गर्न नसक्ने र केही न केही उपद्रो गरेर रिस शान्त पार्न खोज्नेले अपराध गर्ने चान्स धेरै हुन्छ।’ नागरिक शुक्रबारबाट


  •  
  •  
  •