पहिलो प्रेम प्रस्तावक नै बलात्कारको नाइके

155
  •  
  •  
  •  

काठमाडौं, १० फागनु । ‘बल्ल खोजेको केटो भेटियो’ मनमा कुरा खेल्न सुरु भएको केही दिनमै उनी सामूहिक बलात्कारको सिकार भइन् । कञ्चनपुरको पुनर्वास नगरपालिकाकी १९ वर्षीया उनको पहिलो प्रेम प्रस्तावक नै त्यसका नाइके भएको खुल्यो ।

फोनबाट पहिलो सम्पर्क बढाएका छिमेकी गाउँ विकास बस्तीका गोविन्द रानाले महिना दिनअघि स्थानीय बजारमा उनीसँग पहिलोपटक भेटेका थिए । आफ्नो वास्तविक परिचय लुकाएर उनी राजेशको नामबाट परिचित भएका थिए ।

‘धनगढीमा घर र व्यापार गर्छु भनेको थियो, यता विकास बस्तीमा आफन्तको घरमा आउँछु भन्थ्यो,’ सेती अञ्चल अस्पतालमा उपचाररत पीडित युवतीले भनिन्, ‘८/१० दिनपछि भएको दोस्रो भेटमा उसले प्रेम प्रस्ताव राख्यो, मैले कुनै जवाफ फर्काएकी थिइनँ ।’ निकै हँसिलो र फूर्तिलो जीउडालको गोविन्दप्रति आकषिर्त हुन थालेकी थिइन् उनी ।
‘आइतबार बिहान नजिकैको विवाहको घरमा गएकी थिएँ । ब्यान्ड टोलीका सदस्यमा उसलाई देखें, खुसी लागेको थियो । बिहे सकिएपछि साँझ नाचगान चल्यो, सबै रमाइरहेका थियौं । राति करिब ११ बजेतिर उसले काम छ भन्दै नजिकैको बाटोमा बोलायो,’ उनले आँसु झार्दै भनिन्, ‘म पनि सँगै रहेकी साथीलाई छाडेर गएँ, एक्लै जानु नै महाभूल भयो ।’

बाटोमा पुगेपछि अलिअलि भन्दै नजिकै उखुबारीमा पुर्‍याएर जबर्जस्ती गरेको उनले बताइन् । ‘त्यसपछि डराएँ तर उम्किन सकिनँ, अरू केटाहरू पनि आए, पहिल्यै अरू उखुबारीमा लुकेर बसेका रहेछन्, ४ जनासम्म याद छ, त्यसपछि बेहोस भएँ,’ उनले विवरण सुनाइन्, ‘घटना राति ११ बजेतिर सुरु भयो, मेरो होस बिहान ४ बजे खुल्यो । शरीरका लुगा च्यातिएका थिए । असाध्यै डर लाग्यो । अनि दौडेर घरतिर आउन खोजें । घरभित्र पस्न डर लाग्यो । घरभन्दा यता काकाको घर थियो । उनको ढोका ढक्ढक्याएँ । उनीहरूले खोले । सोधपुछ गरे । मैले केही भन्न सकिनँ, रोइरहें ।’

युवकमाथि झट्ट विश्वास गर्दा यो परिणति भोगेको उनले बताइन् । तीन दिनपछि मात्रै रक्तस्राव रोकिएको थियो । पेट र शरीरका अन्य अंग दुखिरहेको उनले बताइन् । उपचारमा संलग्न डाक्टर सुजन सापकोटाले उनलाई अझै केही दिन अस्पतालमा राख्नुपर्ने बताए ।
कान्तिपुरबाट


  •  
  •  
  •