काठमाडौं ६ साउन (ओएनएस) :
काठमाडौँ महानगरपालिका–३० ज्याठा स्थित बेइजिङ होटलमा बस्दै आएका चिनिया नागरिकहरु फिल्मी शैलीमा लुटिएका छन् । दुई चिनियाँ नागरिकलाई सिन्धुपाल्चोक जिल्ला तातोपानी–३ घर भई स्वयम्भू बस्ने ज्यान्जो शेर्पा चालक रहेको बा ८ च ६४३४ नम्वरको टाटा सुमो जीपद्वारा आज कान्तिपथतर्फ लैजादै गरेको लुटपाट भएको हो ।
प्रहरीका अनुसार उक्त होटल नजिक नम्वर खुल्न नसकेको दुईवटा मोटरसाइकलमा मास्क लगाई आएका ४ जना अपरिचित व्यक्तिहरुले ती चिनियाँ नागरिकसँग भएको नगद लगायतका धनमाल लुटपाट गरेका हुन् ।
लुटेराहरुले चिनिया नागरिकहरु र चालकलाई जीपबाट ओराली जीपमा रहेको नगद ५ लाख रुपैयाँ, चाईनिज २० हजार, चिनिया नागरिकता १ थान, पासपोर्ट १, मिनिमोवाइल १ थान, डिजिटल क्यामरा सहितका धनमाल र उक्त जीप लुटेर भागेको बताइएको छ ।
रकम लुटिएको ४ घण्टामै प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। चिनियाँ व्यापारीलाई खासा लाने गाडीका चालक ग्यान्जो शेर्पासहित पाँच जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले बौद्ध र गौशालाबाट पक्राउ गरेको हो।
महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीका अनुसार पक्राउ परेका नुवाकोटका बुद्धिमान तामाङ, दोलखाका राजेश लामा र सोभितकुमार श्रेष्ठ, सिन्धुपाल्चोकका लाक्पा शेर्पाबाट लुटिएको रकम, लुटपाटमा प्रयोग भएको मोटरसाइकल बरामद भएको छ। उनका अनुसार प्रारम्भिक अनुसन्धानमा गाडी चालक ग्यान्जो शेर्पाले लुटपाटको योजना बनाएको देखिएको छ। बिहान साढे ४ बजे ठमेलको ज्याठामा रहेको बेइजिङ होटलबाट बाहिर निस्केलगत्तै दुई मोटरसाइकलमा आएका चार जनाले गाडी रोकेर चिनियाँ व्यापारीको साथमा रहेको रकम लुटेका थिए। स्थानीयले लुटपाटको घटनाबारे प्रहरीलाई खबर गरेपछि उनीहरूको खोजी गर्दा बौद्ध र गौशालामा पक्राउ गर्न सफल भएको कार्कीले बताए।