काठमाडौं ५ पुस ।
उनी दोधारमै छिन्, जीवनको गाडी कता लैजाने ? एक मनले भन्छ, फेरि विदेश जा । अर्को मनले भन्छ, होइन नेपालमै बस् । तर जे गर्न पनि एउटा कुराको प्रतीक्षा छ उनलाई, मुद्दाको टुंगो । यही दोधारका बीच सीता राई कहिले भोजपुर, कहिले धरान त कहिले काठमाडौं आउजाउ गरिरहन्छिन् । जता गए पनि मन भने स्थिर छैन ।
अहिले उनी भोजपुरमा छिन्, जरायोटारस्थित आफ्नै जन्मघरमा । घरमा बूढा बाआमा छन् । चार गाई र एक पाडोसहितको भैंसी छ । सीता तिनलाई घाँस काटिदिन्छिन् । धेरथोर बारी छ, खनीखोस्री गर्न बालाई सघाउँछिन् ।
शुक्रबार दिनभरि पनि उनी घाँसदाउरामा व्यस्त थिइन् । हात हँसियामा र दृष्टि घाँसमा भए पनि मन भने पुनरावेदनमा झुन्डिएको मुद्दामै छ । धेरै पटक पेसीमा चढ्यो तर सुनुवाइ भएन । भोजपुरमै उनलाई वकिलहरूले खबर गरे, गएको मंगलबार उनको मुद्दा पेसीमा चढ्यो ।
‘तर के भयो त्योचाहिँ पत्तो भएन,’ भन्छिन्, ‘सुन्छु, सकिनै लाग्यो रे ।’
तर यो सकिनै लागेको भनेको सुनेको पनि उनले धेरै भइसक्यो ।
सीताको पूरै जीवन एउटा त्रासदीपूर्ण कथा जस्तो लाग्छ । पत्याउन नसकिने, तर पत्यार नगरी धर पनि नपाइने ।
उनी कक्षा आठमा पढ्दै थिइन्, घरको गरिबीले घचेडेर उनलाई साउदी पुर्यायो । त्यतिबेला उनी मात्र १४ वर्षकी थिइन् । उमेर कम भएकाले दलालले अर्कैको नाममा पासपोर्ट बनाएर उनलाई दिए र त्यसैमा भिसा पनि लगाइदिए । सीतालाई यो थाहै थिएन, कागज बोकिन् । दलालले भनेजसरी खुरखुर्ती घरबाट निक्लिन्, काठमाडौं पुगिन् । प्लेन चढिन् र साउदी पुगिन् । यो थियो २०६४ सालको कुरो ।
तीन वर्ष बसेपछि उनी फर्किन् २०६७ मंसिर ६ गते । ‘दुई महिनाको बिदामा आएकी थिएँ,’ भन्छिन्, ‘बाआमा, साथीभाइसँग कतिखेर भेट्नुजस्तो भइरहेको थियो ।’
तर सीतालाई विमानस्थलमा निक्लने बाटो मिलेन । उनी पक्राउ परिन् । उनलाई भनियो, तिम्रो पासपोर्ट नक्कली छ ।
उनीसँग भएको दुई लाख रुपैयाँ बराबरको पैसा कर्मचारीहरूले लिए । अनि छाडिदिए । नत्र जेल बस्न पर्ला भन्ने डरले सोझी सीताले जे भन्यो त्यही मानिन् ।
साँझ परेपछि प्रहरी हवल्दार परशुराम बस्नेतले दया देखाए । लगेर एउटा होटलमा राखे । र, त्यहीं जबर्जस्ती अस्मिता लुटे ।
सोझी सीतासँग चुप लाग्नुको के विकल्प थियो र ? उनलाई लागिरह्यो, बोले फेरि जेल पो हाल्ने हुन् कि ?
उनी रित्तो मन, रित्तो शरीर र रित्तो खल्ती लिएर घर पुगिन् । पछि उनले आफन्तहरूसँग मनको बह नपोखेकी भए यो कथा लोकले जान्दैनथ्यो । खालि यसको पीडाले उनको मनलाई नित्य डसिरहन्थ्यो । त्यसको दंशले उनको जीवनलाई चुसी रहन्थ्यो ।
तर कथा मोडियो । कुरा फेरियो । घटना बाहिर आयो । अध्यागमनका शाखा अधिकृत रामप्रसाद कोइराला, टीकाराम पोखरेल, नायब सुब्बा सोमनाथ खनाल र प्रहरी जवान बस्नेतको पोल खुल्यो ।
धेरै प्रदर्शन र आन्दोलन भयो । उनको नाउँमा अकुपाइ बालुवाटार भन्ने अभियान नै चल्यो । त्यसपछि उनीहरू चारै
जना समातिए ।
अनुसन्धान भयो । मुद्दा चल्यो । तर काठमाडौं जिल्ला अदालतले अधिकृतहरू कोइराला र पोखरेललाई सफाइ दियो । अनि सुब्बा खनाल र प्रहरी जवान बस्नेतलाई ठगीमा दोषी करार गर्यो । जनही ५/५ हजार रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय हुने फैसला गर्यो । बस्नेत बलात्कार अभियोगमा थप ५ वर्ष कैद र ५० हजार जरिवानाको दण्ड भागी भए ।
सीतालाई न्याय आधा मात्रै पाएँ जस्तो भयो ।
‘ज-जसले मलाई ठग्ने मुख्य भूमिका निर्वाह गरे उनीहरूचाहिँ निर्दोष अरे,’ भन्छिन्, ‘के न्याय होला यस्तो ?’
सरकारी वकिलले उनको पक्षमा पुनरावेदन गरे । तर पुनरावेदनमा के हुने हो भन्ने अझै टुंगो छैन ।
‘एक वर्षभरि यही मुद्दाको पछि लागेर हामी परिवारै काठमाडौं बस्यौं,’ उनका बा भन्छन्, ‘यता खेतबारी बाँझै, तर न मुद्दाको टुंगो लाग्यो न हामीले कहिले टुंगो लाग्छ भन्ने भेउ नै पायौं । कस्तो लम्बिँदो रहेछ यो मुद्दा भन्ने कुरो !’
सीतालाई जीवनको नयाँ अध्याय सुरु गर्न हतार छ । पुराना कुराहरूबाट अलग बसेर आउने दिनलाई सक्दो राम्रो पार्नु छ । तर कुरो अडकिन्छ यही मुद्दामा गएर ।
‘अढाई वर्ष हुन लागिसक्यो, मुद्दा त सकिँदै सकिँदैन,’ सीता राई भन्छिन्, ‘बेकारको झन्झट आइलाग्यो जिन्दगीमा ।’
कान्तिपुरबाट