मसान पुज्दा ५१ तोला लुटियो

193
  •  
  •  
  •  

काठमाडौं ३ पस ।
मंसिर २५ गते दिउँसो छोरी आरती र म घरमा थियौं। टाउको दुखेकाले छोरी सुतेकी थिइन। ऊ जहिले पनि बिरामी भइराख्ने, धेरै हेराइसकेकी थिएँ। ओखतीमूलो त कतिकति।

त्यो दिन दिउँसो मनकामना माता बताउने दुईजना महिलाले धनगढीको नैनादेवी मन्दिरको सन्तोषी माताको पूजाका लागि चन्दा उठाउन आएको बताए। केही रकम दिन गेटमा गएका बेला एक महिलाले ‘तपाईंको घरमा मसान लागेको रै’छ, अशान्ति हुन्छ होला, छोरी बिरामी भइराख्छिन् होला, व्यापारव्यवसायमा पनि राम्रो प्रगति भइरहेको छैन, धन आए पनि स्वाट्टै खर्च भइहाल्छ होला’ भनिन्।

अमेरिकामा लाखौं खर्च गरेर व्यवस्थापनमा स्नातक गरेर फर्केकी छोरीलाई बिसन्चो भइरहन्थ्यो। मलाई यी माताले भनेका धेरै कुरा मिलेजस्तो लाग्यो। उनले तपाईंको घरमा पूजा गर्‍यो भने मसान ठीक हुन्छ भनिन्। मैले छोरीको स्वास्थ्यका लागि पूजा गरिदिन आग्रह गरें।

दुईमध्ये अलि पातली झन्डै २७-२८ वर्षकीले कुर्तासुरुवाल लगाएर सल ओढेकी थिइन्। अर्की अलि मोटी ३२-३४ वर्षकी थिइन्। पातलीले आफू माता भएको बताउँदै आज पूजा हुँदैन भनिन्। उनले धनगढीकै नैनादेवी मन्दिरमा बसिरहेको र अर्को दिन (२६ गते) बिहान आउने बताइन्। मैले पनि आइदिन आग्रह गरें। उनीहरूले एनसेलको फोन नम्बर पनि दिए।

उनीहरूले हामीलाई जुटाउनू भनेको सामान बजारमा कहीं पाइएन। छोरीले फोन गरेर सामान नपाएको बताएपछि उनीहरूले अर्काका लागि तयारी गरेको केही सामान आफूहरूसँग रहेको र केही खर्च तिरे दिने बताए। दुईतीनपटक उनीहरूसँग छोरीको फोन भयो। उनीहरूले छोरी र मलाई मसानको पूजा गोप्य गर्नुपर्छ, पतिसहित कुनै पनि पुरुषलाई नबताउनू भनेकाले हामीले घरमा सल्लाह गरेनौं।

२६ गते बिहान १० बजेतिर दुवैजना आए। पूजासामग्रीको साढे ११ हजार हामीसँग थिएन। आरतीले साथीसँग मगाई। ती तान्त्रिकले आरतीको साथीलाई पनि आँगनमा खुट्टा हाल्न नदिनू भनेपछि छोरीले गेटबाहिरै गएर पैसा ल्याई। घरका सबै गहनामा मसान लागेकाले एकै ठाउँमा राख्न भने।

धेरै गहना सासूकहाँ राखेका थियौं। २५ गते राति नै मगाएर राखें। पूजा सुरु भयो। चामल र गहना पोको पार्न लगाए। गहनाका पोते चुँडाउन लगाए। पोते भए मसान नभाग्ने भन्थे।

पाँचवटा रुमालमा झन्डै एक किलो दरले चामल हाल्दै पोको पार्न लगाए। मैले खुट्टामा लगाएको सुनको बिच्छुसमेत खोलेर पोकामा राखें। छोरीको घाँटीको सिक्री, हीराजडित हार, सुनका चुरा, मंगलसूत्र सबै पोको पारेर राख्यौं। सबै गहना हाम्रै लकरमा राख्ने भनेकाले ढुक्क थियौं।

मलाई गहना र चामलको पोको पार्न र गाँठो खुब कस्न भने। घरको चारै कुनामा पानी छर्कन लगाए। केके गरे केके। केही खान पनि दिएका थिए। पूजाकोठामा रहेको लकरमा त्यो गहनासहितको पोको राख्न लगाए। मैले लकरमा राखेर चाबी लगाएँ। थप साढे सात हजार दक्षिणा दिएँ। उनीहरूले पाँच दिनसम्म कसैलाई नबताउन भनेका थिए। छोरोलाई पनि भनिनँ। छोरा र छोरीका लागि बनाइदिएको जन्तरमात्रै बाँधिदिएँ।

पाँचौं दिन पुस १ गते छोरीलाई नैनादेवी मन्दिर आउनू, पूजा हुन्छ भनेका थिए। मेरो एक जोर गुलाबी रङको १६ हजारको साडी पनि फुकफाक गरिदिने भन्दै लगेका थिए।

छोरी बिहानै नुहाइधुवाइ गरेर नैनादेवी मन्दिर पुगेर पुजारीलाई मनकामना माताबारे सोध्दा भनेछन्, ‘नानी तिमी पनि ठगिएछौ। यहाँ कोही पनि मनकामना माता बस्दैन। उनीहरूले ठगेको भनेर दुई प्रहरीका पत्नी पनि आइसके।’

छोरीले रुँदै मन्दिरबाटै फोन गरेर लकर हेर्न भनिन्। लकरमा झन्डै ६ सय ग्रामको गोलो ढुंगा भेटियो। रुमाल र चामल थिए, गहनामात्रै गायब।

(नेपाल उद्योग वाणिज्य महासंघका के न्द्रीय सदस्य गोपाल हमालकी पत्नी शारदासँग शिवराज भट्टले गरेको कुराकानी।) अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •