उपभोक्तावादीको आवरणमा असुली

139
  •  
  •  
  •  

काठमाडौं ६ जेठ ।
ठगी, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि, कृत्रिम अभावलगायत बजार गतिविधि नियन्त्रणमा सरकारी निकायलाई सघाउन खोलिएको उपभोक्ता मञ्च नेपालका केन्द्रीय सदस्य रोशन पोखरेल आफैं ठगी अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई ‘अनुगमनको आवरणमा व्यापारीलाई धम्क्याएर रकम असुलेको आरोप’ मा मंगलबार पक्राउ गरेपछि परिसरले बुधबार ठगी अभियोग लगाएर अनुसन्धानका लागि हिरासतमा राखेको हो ।

प्रहरीले पोखरेलमाथि जोन्सन एन्ड जोन्सनका उत्पादनको लेभलिङमा समस्या रहेको भन्दै नेपाल प्रतिनिधि नेपाल ओभरसिज मार्केटिङ कम्पनीका सञ्चालक पवन अग्रवाललाई धम्क्याएर ३ लाख रुपैयाँ मागेको अभियोग लगाएको छ । पक्राउ पर्दा पोखरेलको साथबाट प्रहरीले १ लाख रुपैयाँ फेला पारेको थियो । सो रकम उनले अग्रवालबाट असुलेको प्रहरी दाबी छ ।

महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार पोखरेलले जोन्सन ब्रान्डका सामग्रीमा लेभलिङको समस्या रहेको भन्दै कागजात माग गरेका थिए । कम्पनीले कागजपत्र बुझाएपछि उनले अपुग भएको भन्दै छापा मारेर कम्पनी नै बन्द गराइदिन्छु भन्दै ३ लाख रुपैयाँ मागेका थिए । अग्रवालले मंगलबार ३ लाखमध्ये एक लाख रुपैयाँ कम्पनीका सेल्सम्यानमार्फत दिन पठाएका बेला महाशाखाको टोलीले भृकुटीमण्डपमा रहेको आफ्नै कार्यालयमा पैसा लिँदै गरेका बेला उनलाई पक्राउ गरेको थियो ।

रोशन वाणिज्य विभागले गर्ने बजार अनुगमनका सदस्यसमेत हुन् । महाशाखाका प्रमुख खनालका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा असुलीमा उनीसँगै अन्य २ जनाको नामसमेत पोलिएपछि उनीहरूको खोजी भइरहेको छ ।
‘प्रारम्भिक अनुसन्धानमा उपभोक्तावादीका रूपमा अनुगमन गर्ने र विभिन्न बहानामा व्यापारीलाई धम्क्याएर रकम असुल्ने घटनामा पोखरेल सक्रिय रहेको देखिएपछि पक्राउ गरेका छौं,’ खनालले भने, ‘उनीबाहेक अन्य पनि असुलीमा संलग्न रहेको सूचना आएको छ, उनीहरूलाई खोजिरहेका छौं ।’

उपभोक्ता मञ्च नेपालका अध्यक्ष हरेन्द्र श्रेष्ठले पोखरेल पक्राउको सूचना आए पनि विस्तृत जानकारी नभएको बताए । ‘किन पक्राउ गरेको हो, त्यसबारे धेरै थाहा छैन,’ श्रेष्ठले कान्तिपुरसँग भने, ‘बदमासी नगरी त किन पक्राउ गर्‍यो होला र ?’

अनुगमनको आवरणमा असुली

पोखरेल मात्रै अनुसन्धानमा छन् । पाँच वर्षअघि व्यापारीलाई धम्क्याएर रकम मागेको अभियोगमा दुई उपभोक्तावादी एक महिना जेल परिसकेका छन् । ती हुन्, नेपाल उपभोक्ता महिला तथा बालबालिका उपभोक्ता सञ्जालकी सदस्य अप्सरा कोइराला र विश्व उपभोक्ता संघका सहसचिव दीपक कोइराला । काठमाडौं, इचंगुनारायणको मसला कारखाना सञ्चालकसँग रकम मागेको अभियोगमा उनीहरू पक्राउ परेका थिए ।
सरकारी टोलीको अनुगमनमा गुणस्तरहीन मसला उत्पादन गरेको भेटेपछि अनुसन्धानमा रहेको मुद्दा मिलाइदिने भन्दै मसला उद्योगका सञ्चालकसँग २ लाख रुपैयाँ मागेको आरोपमा पक्राउ परेका थिए । उनीहरूले पटक-पटक रकम मागेको व्यापारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जानकारी गराएपछि दुवै पक्राउ परी एक महिना जेल बसेर धरौटीमा रिहा भएका थिए ।
कान्तिपुरबाट


  •  
  •  
  •