लोकसेवाको विज्ञापन तत्काल फिर्ता लिन माग

237
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ दलका सांसदहरुले लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता लिन माग गरेका छन् ।
बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकका बोल्दै सांसदहरुले विज्ञापन फिर्ता गर्न सरकारलाई दबाब दिएका हुन् ।

बैठकमा सत्तारुढ समाजवादी पार्टी, नेपालका नेता एवम् सांसद रामसहाय प्रसाद यादवले संघीयता, संविधान र कानुन विपरित स्थानीय तहको समेत कर्मचारी नियुक्त हुने गरी लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता नलिए मुलुक गम्भीर द्वन्द्वमा फस्ने चेतावनी दिए ।

उनले स्थानीय तहको आफ्नो अधिकार क्षेत्र भित्र पर्ने विषयमा समेत लोक सेवा आयोगले विज्ञापन गरेपछि त्यसको विरोधमा देशभर आन्दोलन सुरु भएको बताए ।

लोक सेवा आयोगले केही दिन अघि प्रदेश र स्थानीय तहमा समेत कर्मचारी नियुक्त गर्ने गरी विज्ञापन खुला गरेको थियो। सो विज्ञापन संविधान र कानुन विपरित आएको सांसद यादवको दावी छ ।

बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले मुलुकमा थप आर्थिक बोझ हुने गरी लोक सेवा आयोगले कर्मचारीको नियुक्तीका लागि विज्ञापन खुला गरेको भन्दै आपत्ति जनाइन् ।

कर्मचारी कटौति गर्ने र उनीहरुको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउन पनि सरकारलाई उनले सचेत गराइन् ।
सांसदहरुले कर्मचारीहरुको अभाव भए तत्कालका लागि करारमा राख्ने व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।


  •  
  •  
  •