लोकसेवाको विज्ञापनमा आरक्षणको व्यवस्था नभएको भन्दै प्रदर्शन

317
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय अपांग महासंघ नेपालले लोकसेवा आयोगले हालै प्रकाशित विज्ञापनको विरोधमा प्रदर्शन गरेको छ । विज्ञापनमा अपांगता भएका व्यक्तिलाई कानून अनुसार आरक्षणको व्यवस्था नभएको भन्दै महासंघले विरोध प्रदर्शन गरेको हो ।

महासंघले सोमबार लोकसेवा कार्यालय अगाडि प्रदर्शन गरेको छ ।  निजामती सेवा ऐन अनुसार अपांगता भएका व्यक्तिका लागि पाँच प्रतिशत आरक्षण हुन पर्ने भए पनि जेठ १५ गते प्रकाशित सूचनामा त्यसको पालना नभएको महासंघले बताएको छ ।
देशका विभिन्न स्थानीय तहका लागि आयोगले ९ हजार १६१ पदमा आवेदन खुलाएकोमा अपांगता भएका व्यक्तिका लागि मात्रै तीन कोटामा आरक्षण रहेकाले विरोध प्रदर्शनमा उत्रिएको महासंघले जनाएको छ ।

कुल माग गरिएको पद संख्याको पाँच प्रतिशत हुने गरी आरक्षणको व्यवस्था गरेर सच्याएर पुनः दरखास्त आह्वान गर्न महासंघले माग गरेको छ । महासंघले नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोक सेवा आयोगको ध्यानाकर्षण समेत गराएको छ ।


  •  
  •  
  •