अख्तियार प्रमुख कार्कीले भने ‘मलाई बोलाउने अधिकार छैन’

280
  •  
  •  
  •  

काठमाडौं १९ मंसिर (ओएनएस) : अख्तियार प्रमुख लोकमान सिंह कार्कीले संसदले अख्तियार माथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । उनले सभासदहरुलाई संसदीय नियमावलीको परिधिभित्र रहन पनि आग्रह् गरेका छन् । व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिमा बिहान अख्तियार प्रमुख कार्कीले अख्तियारले संसदको समान्न गरेको तर संसदले अख्तियारको अपमान गर्न खोजेको आरोप लगाए ।

अख्तियार संसदको नियमावली अनुसार सुशासन समिति अन्र्तगत नै पर्ने भएकाले अन्य समितिले बोलाए नजाने फेरि पनि दोहोर्याए ।

‘तपाईहरुले बनाएको नियमावली अनुसार अख्तियार सुशासन समितिमा पर्छ’ उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग संसदलाई सम्मान गर्दछ तर, मानिन्य ज्यूहरुले नै स्वतन्त्र अख्तियारको परिकल्पना गर्नुभएको हो त्यसलाई आफै नाघ्ने काम गर्न भएन ।’अख्तियार सुशासन समितिसँग सँधै सहकार्य गरेर अघि बढ्न तयार रहेको तर अन्य समितिलाई बोलाउने अधिकार नभएको कार्कीले बताए ।

‘कार्यक्षेत्रका बारेमा बिवाद आएका छन् । यसमा म मौन नै थिए’ समितिमा लिखित भनाई राख्दै कार्कीले भने, ‘म उपयुक्त दिनको खोजीमा थिएँ, आज त्यो दिन आएको छ संसदीय निमायलीको ब्याख्या गर्ने अधिकार सभामुख बाहेक कसैलाई पनि छैन ।
समितिको कामकारबाहीको बर्गीकरणमा जसलाई जहाँ राखिएको छ, त्यसरीनै काम गर्नुपर्छ ।’ कार्कीले अन्य समितिले गर्न खोजेको छलफल पनि सुशासन समिति मार्फत नै गर्न आग्रह गरे । कार्कीले अख्तियारले काम गर्ने क्रममा कुनै कार्यक्षेत्र उल्लंघन नगरेको पनि दावी गरे । सभासदहरुले भने लोकमानको प्रस्तुतकिो चर्को आलोचना गरेका छन् ।

व्यवस्थापिका संसदका अरु कुनै समितिमा नजाने अडान राखेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की बिहानै सुशासन तथा अनुगमन समितिमा पुगेका छन् ।

समितिले अख्तियारको कार्यक्षेत्रबारे छलफल गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई बोलाएको हो। यसअघि पनि छलफल गरिसकेको समितिले आज अख्तियारको कार्यक्षेत्र र कावेली जलविद्युत आयोजनाका विषयमा छलफल गर्नेछ । मुख्य गरि कार्यक्षेत्रका विषयमा छलफलका लागि बोलाएको समिति सभापति शेरधन राईले बताए।

यसअघि सभासदहरुले संसदकै अन्य समितिहरुमा समेत अख्तियारको कार्यक्षेत्रमा प्रश्न उठेको अवस्थामा अख्तियार हेर्ने सुशासन समितिले नै पहिला छलफल गर्नुपर्ने बताएका थिए । समिति सभापति शेरधन राईले पनि अरु समितिले बोलाउन नहुने बताएका थिए ।

केही दिनअघि मात्र लोकमानसिंह कार्कीलाई संसदको कृषि तथा जलस्रोत, अर्थ समितिले कार्यक्षेत्र मिचेर काम गरेको भन्दै बोलाएको थियो। कार्कीले अर्थ समितिबाटै अरु समिति नआउने घोषण गरेका थिए ।


  •  
  •  
  •