काठमाडौं, २६ माघ (ओएनएस) : अख्तियार दूरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध लगाइएको ७ वटा महाभियोगमध्ये ६ वटा पुष्टि भएको छ ।
लोकमानविरुद्धको महाभियोगमाथि छानबिन गर्न गठित महाभियोग सिफारिस उपसमितिले बुधबार समितिलाई प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनमा कार्कीमाथि लगाइएको ७ महाभियोगमध्ये ६ वटा पुष्टि भएको र थप अनुसन्धानका लागि सम्बन्धीत निकायमा सिफारिस गरिएको उपसमितिका संयोजक रामनारायण बिडारीले ओएनएसलाई जानकारी दिए ।
‘सर्वोच्च अदालतको म्याद तामेल गर्न नदिनका लागि हुलहुज्जत गरेको विषयमा भने सर्वाेच्चले निर्णय गरिसकेकाले उपसमितिले त्यसबारे बोलिरहनु परेन,’ संयोजक विडारीले भने ।
कार्कीले अख्तियारको दुरुपयोग गरेको, संविधान विपरीतक केही चिकित्सकलाई कारवाही गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएको, काठमाडौ विश्वविद्यावलयले सञ्चालन गरेको एमबीबीएसको प्रवेश परीक्षामा अनावश्यक हस्ताक्षेप गरेको, राष्ट्रसेवक लगायतका व्यक्तिविरुद्ध भ्रष्टाचार र अनुसन्धानको बहानामा अनावश्यक दुःख दिएको, निजको कार्यशैलीसँग असहमत हुने व्यक्ति र संस्थाप्रति प्रतिशोधपूर्ण व्यवहार गरेको महाभियाेग लागेकाे थियाे ।
लोकमानविरुद्ध गत कात्तिक ३ गते १ सय ५७ सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।
पदमुक्त भएकाले महाभियोग लगाउनु नपर्ने निष्कर्ष
उपसमितिले लोकमानमाथि महाभियोग लगाउनु नपर्र्ने निष्कर्ष निकालेको छ ।
पदमुक्त भइसकेका व्यक्तिलाई महाअभियोग लगाइरहन नपर्ने निष्कर्ष निकालिएको उपसमिति संयोजक विडारीले बताए । ‘पदमा भएको व्यक्तिलाई मात्र महाभियोग लाग्ने भएकाले पदमुक्त भएको व्यक्तिलाई नलाग्ने व्यहोरा सहितको प्रतिवेदन बुझाएका छौं,’ उनले भने ।
सर्वाेच्चले गत पुस २४ गते लोकमानको नियुक्ति खारेजी गरिदिएपछि उनी पदमुक्त भइसकेका छन् । सिफारिस उपसमितिमा नेपाली कांग्रेसका दीपक कुँइकेल र नेकपा एमालेका रेवतीरमण भण्डारी सदस्य रहेका थिए ।
महाभियोग सिफारिस समितिको बैठक बिहीबार बस्दैछ ।