इङ्ग्ल्यान्डमा दोस्रो चरणको लकडाउन

90
  •  
  •  
  •  

एजेन्सी । इङ्ग्ल्यान्डमा बिहीबारदेखि दोस्रो चरणको लकडाउन हुने भएको छ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोन्सनले दोस्रोपटक देशव्यापी लकडाउन घोषणा गरेका हुन् ।

आउँदो बिहिबारदेखि कार्यान्वयनमा आउँने दोस्रो चरणको लकडाउनमा पब्स, रेष्टुरेन्ट, जीमलगायत अति–आवश्यक नपर्ने व्यवसाय ४ हप्ताको लागि बन्द हुनेछ । तर स्कुल, कलेज र विश्वविद्यालय भने खुल्न पाउनेछन् । डिसेम्बर दुई तारिखदेखि लकडाउन केही खुकुलो बनाइने पनि प्रधानमन्त्री जोन्सले बताएका छन् ।

यो वर्षको क्रिसमस ‘अति भिन्न’ हुन सक्ने बताउँदै प्रधानमन्त्री जोन्सनले अहिलेदेखि नै प्रयास सुरु गरिएकाले परिवारका सदस्य जम्मा हुन सक्ने अवस्था आउने अपेक्षा रहेको उल्लेख गरेका छन् ।

लकडाउनका कारण व्यवसायमा पर्ने असरप्रति उनले माफी माग्दै जीवन रक्षाका लागि बाध्य भएर निर्णय लिनु परेको उल्लेख गरेका छन् । ८० प्रतिशत कामदारको पारिश्रमिक सरकारले प्रदान गर्ने सुविधा नोभेम्बरसम्मै जारी रहने उनले बताए ।

गएको अप्रिलमा भन्दा अब कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या अधिक हुने देखिएकाले बाध्य भएको जोन्सनले उल्लेख गरे । बेलायतमा संक्रमितको संख्या १० लाख भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार बेलायतमा संक्रमितको कुल संख्या १० लाख १४ हजार ७ सय भन्दा बढी छ । अहिलेसम्म कोभिड–१९ बाट बेलायतमा ४६ हजार ६४५ जनाको ज्यान गएको छ ।


  •  
  •  
  •