मंगलबार मध्यरातबाट लकडाउन हट्ने, भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न पाइने

214
  •  
  •  
  •  

काठमाडौं । सरकारले गत चैत ११ गतेबाट लागू गरेको लकडाउन आज रातिदेखि हटाउने भएको छ ।

कोरोनाको जोखिम कायमै रहे पनि सङ्क्रमणको दर घटेकाले लकडाउन हटाइएको अर्थ एवं, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिएका छन् । सरकारले पटक पटक लकडाउनको अवधि थप्दै आएको थियो ।

तर कोरोनाको जोखिम बढेको स्थानमा भने निधेषित क्षेत्र घोषणा गर्न सकिने पनि उनले बताए ।

लकडाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने सरकारले स्पष्ट पारेको छ । शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर, स्वीमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने बताइएको छ ।

यद्यपी विद्यार्थी भर्ना, रोकिएका परीक्षा लिन र परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको छ । सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ । सेमिनार र भेला भने गर्न नपाइने सरकारले स्पष्ट पारेको छ ।

भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेका आवश्यक सुरक्षाका उपायहरु अपनाउन सरकारले सबैमा आग्रह गरेको छ । अन्तर्राष्ट्रिय सीमा नाकाको हकमा साउन ३२ गतेसम्म आवतजावत बन्द गरिएको छ ।


  •  
  •  
  •