हस्तक्षेपकारी परिपत्रप्रति गाउँपालिका प्रमुखद्वारा विरोध

437
  •  
  •  
  •  

काठमाडौं, २७ असार (अाेएनएस) : सरकारले संविधानप्रदत स्थानीय तहका अधिकारहरू कुण्ठित हुने गरी परिपत्र जारी गर्ने काम भएकोप्रति प्रदेश नं ३ र ४ का गाउँपालिकाका अध्यक्षहरूले विरोध जनाएका छन् ।

साविकको गाविस महासंघको नयाँ गाउँपालिका संयोजन समितिको काठमाडौं र पोखरामा बसेको छुट्टाछुट्टै भेलाले संविधानले स्थानीय सरकारलाई दिएका जिम्मेवारी र अधिकारको मर्म प्रतिकूल हुने गरी सरकारबाट विभिन्न विषयमा अदेश तथा परिपत्र जारी गरिरहेको भन्दै त्यसमा आपत्ति जनाएको हो ।

उक्त भेलाहरूमा संविधान संशोधनका क्रममा राष्ट्रिय सभामा स्थानीय जनप्रतिनिधिको मताधिकार कटौती गर्न लागिएकोप्रति पनि आपत्ती जनाएका छन् ।

संविधानमा भएका व्यवस्थाविपरीत गाउँपालिका र नगरपालिकाबीच विभेद भइरहेकोमा पनि उनीहरूले आपत्ती जनाएका हुन् ।

गाउँपालिकाका अध्यक्षहरूले जिम्मेवारीको प्रकृतिलाई ध्यान दिँदै नेपाल सरकारका कार्यालयहरूसँग रहेका भौतिक संरचना, यन्त्र, औजार र सवारीसाधनहरू हस्तान्तरण गर्न सम्बद्ध मन्त्रालयहरूलाइ दबाब दिनेसमेत भेलाको निर्णय छ ।

प्रदेश नं ३ का गाउँपालिका संयोजन समितिको संयोजकमा दोलखाको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल संयोजक र सहसंयोजकमा धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सेना सहसंयोजक चुनिएका छन् ।

यस्तै, प्रदेश नं ४ मा गोरखाको भिमसेन गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डे संयोजक र पर्वतको महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेल सहसंयोजक चुनिएका छन् ।

Gaunpalika-Meeting--766x1024 (1)


  •  
  •  
  •