काठमाडौँ, ६ भदौ (ओएनएस) : उपप्रधानमन्त्री वामदेव गौतमले स्थानीय निकायको निर्वाचन संविधान जारी हुनुभन्दा पहिले नै गर्नुपर्ने बताएका छन् । अखिल नेपाल किसान संघद्वारा शुक्रबार राजधानीमा आयोजित ‘राष्ट्रिय प्रशिक्षण भेला’ को उद्घाटन गर्दै उनले नेपालको अन्तरिम संविधानमा उल्लेख भएअनुसार स्थानीय निकायको निर्वाचन संविधान जारी गर्नुभन्दा पहिला नै गर्नुपर्नेमा जोड दिए ।
संघका अध्यक्षसमेत रहेका गौतमले भने, ‘अन्तरिम संविधानको पालना गरेर जानुपर्छ, त्यसले गर्दा संविधान जारी गर्नुभन्दा पहिला नै स्थानीय निकायको निर्वाचन गर्नु उपयुक्त हुन्छ ।’ उनले भू–उपयोग नीति लागू गरेको र त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै कृषियोग्य जमिनमा घर बनाएर बस्ती बसाउन नहुने नीतिगत व्यवस्था भएको बताए । उनका अनुसार कृषियोग्य जमिनमा बस्ती नबसालेर कृषि उत्पादन नहुने स्थानमा मात्र बस्ती बसाउनुपर्ने कुरा भू–उपयोग नीतिमा स्पष्टसँग उल्लेख गरिएको छ । नेपालमा भइरहेको निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउनुपर्नेमा उनको जोड थियो ।
संघका कार्यबाहक अध्यक्ष केशवलाल श्रेष्ठले नेपालमा हुँदै आइरहेको परम्परागत कषिलाई कसरी व्यावसायिकता प्रदान गर्न सकिन्छ भन्ने ज्ञान दिलाउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए । तीन दिने प्रशिक्षण कार्यक्रममा कार्यबाहक अध्यक्ष श्रेष्ठ, प्रा.डा. केशव खड्का, प्रा.डा. तेजकुमार श्रेष्ठ, डा. केशव बुढाथोकी, डा. बुद्धरत्न खड्गी र डा. तारा गैरेले प्रशिक्षण दिने कार्यक्रम छ । बागबानी केन्द्र कीर्तिपुरमा सुरु भएको सो प्रशिक्षण कार्यक्रममा देशभरबाट १५० जना सहभागी भएको सङ्घले जनाएको छ ।