दार्चुला, १६ फागुन(ओएनएस) : नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय निकायको चुनाव आगामी बैशाखमा गर्नु पर्ने बताएका छन् ।
आइतबार दार्चुलाको ९ औँ जिल्ला परिषद्लाई सम्बोधन गर्ने क्रममा नेता नेपालले सरकारले बैशाखमा चुनाव गर्नगरी तयारी गर्नुपर्ने बताएका हुन् । बैशाख सबै हिसाबले चुनावका लागि उपयुक्त महिना भएको र देशभर एकसाथ चुनाव गर्न सकिने भएका कारण पनि बैशाखमा चुनाव गर्न सहज हुने उनको भनाई थियो ।
उनले सकेसम्म चाँडो स्थानीय निकायको चुनाव गरेर स्थानीय निकायलाई जनप्रतिनिधीयुक्त बनाउनुपर्ने बताउँदै अहिले देखिएको राजनीतिक शुन्यतालाई कम गर्नुपर्ने बताए । उनले स्थानीयको निकायको चुनावपछि मात्र गाउँमा सामाजिक, आर्थिक विकास हुन सक्ने बताउँदै स्थानीय निकायको चुनावपछि देश विकासको युगमा प्रवेश गर्ने बताएका छन् ।