बुटबलमा कांग्रेस र एमालेको कडा टक्कर ! माओवादी तालमेलको खोजीमा

2061
  •  
  •  
  •  

butwalबुटवल, २४ चैत (ओएनएस) : स्थानीय तहको निवार्चन नजिकदै जाँदा पश्चिम नेपालको प्रमुख केन्द्रमा रहेको बुटबल उपमहानगरपालिकामा प्रमुख राजनीतिक दलहरूले आआफ्ना उम्मेदवारको नाम चर्चा उपचर्चामा ल्याएका छन् ।

सरकारले वैशाख ३१ गते स्थानीय चुनाव गर्ने घोषणा गरेपछि बुटबल उपमहानगरपालिकामा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र चुनावी दौडाहमा छन् ।

बुटवल उपमहानगरपालिकामा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र एमाले बीचमै हुने देखिन्छ । यद्यपी, नेकपा माओवादी केन्द्रमा पनि उम्मेदवार पनि चुनावी दौडाहमा छ ।

माओवादी केन्द्र चुनावी तालमेलको खोजीमा छ ।

बुटवलमा नेकपा माओवादी केन्द्र तुलनात्मक रुपमा कमजोर भएको र पार्टीले पनि उपर्युक्त दलसँग चुनावी तालमेल गर्न सकिने नीति लिएकाले चुनावी तालमेल हुन सक्ने क्षेत्र नम्बर ४ क्षेत्रीय सहसंयोजक हरि घिमिरेले बताए ।

१९ वडा रहेको बुटवल उपमहानगरपालिकामा करिव ६६ हजार ९० मतदाता रहेका छन् ।

२०४९ मा नेपाली कांग्रेसवाट सूर्यप्रसाद प्रधानले बुटबल नगर मेयर बनेका थिए, भने २०५४ मा एमालेका भोजप्रसाद श्रेष्ठ मेयर बने ।
२०६२/०६३को राजनीति परिर्वतन पछि संघीय संरचना अनुसार हुन लागेको स्थानीय निर्बाचनमा टिकट आफनो पक्षमा पार्न राजनीतिक दलका नेता कार्यकर्ता लागिपरेका छन् ।

कांग्रेसबाट क्षेत्रीय सभापति हरि लम्साल, नगर सभापति खेलराज पाण्डे, महाधिवेशन प्रतिनिधि रामबहादुर कार्की र युवराज गिरी, उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंह, उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, पूर्वक्षेत्रीय सभापति हरिबवहादुर आचार्य, काजीमान श्रेष्ठ, पूर्वउपमेयर रामेश्वर श्रेष्ठ र हरि ध्वज मल्ल मेयरका आकांक्षी रहेका छन ।

एमालेमा बुटवल उपमहानगरपालिकाको मेयर लागि पूर्वमेयर भोजप्रसाद श्रेष्ठ, व्यवसायिक पृष्ठभूमिका गोपाल राना, औषधि व्यवसायी बाबुराम भट्टराई, कमल गौतम, जिल्ला अध्यक्ष शिव सुवेदी र पत्रकारिता पृष्ठभूमिका बालकृष्ण चापागाईको नाम पनि चर्चामा छ । एमालेले उपमहानगरपालिका र महानगरपालिकाको उम्मेदवारको चयन केन्द्रीय समितिले गर्ने र नगर तथा गाउँपालिकाको मेयरको उम्मेदवार प्रदेश समितिले गर्ने प्रावधान बनाएको छ ।

माओवादी केन्द्रमा पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद वञ्जाडे, क्षेत्र नम्बर ४ का सहसंयोजक हरि घिमिरे, कृष्ण पोखरेल, नगर इन्चार्ज सुदीप न्यौपानेको नाम चर्चा छ ।


  •  
  •  
  •