स्वरोजगारका लागि सात शीर्षकमा सहुलियत कर्जा

746
  •  
  •  
  •  

काठमाडाैं, १४ असाेज (अाेएनएस) : सरकारले स्वरोजगार बढाउने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ विभिन्न सात शीर्षकमा सहुलियत कर्जा प्रदान गर्ने भएको छ । अर्थ मन्त्रालयले हालै स्वीकृत गरेको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुसार लक्षित ऋणीलाई व्याज अनुदान दिने र स्वरोजगार बनाउने लक्ष्य राखिएको छ ।

मन्त्रिपरिषद्ले गत भदौ २१ गते शैक्षिक कर्जासम्बन्धी कार्यविधि पारित गरेको थियो । पारित कार्यविधि यही असोज ६ गते अर्थ मन्त्रालयले सार्वजनिक गरेको थियो । सरकारले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा पाँच करोडसम्म प्रदान गर्ने छ । यस्तै कार्यविधिअनुसार शिक्षित युवा स्वरोजगार कर्जा रु सात लाखसम्म तथा विदेशबाट फर्केका युवालाई  १० लाखसम्म कर्जा प्रदान गर्ने भएको छ ।

यस्तै महिलालाई आर्थिकरुपमा सबल बनाउनका लागि महिला उद्यमशील कर्जाबापत १५ लाख, दलित समुदाय व्यवसाय विकास कर्जा  १० लाख, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा पाँच लाख, भूकम्पपीडितको निजी आवास निर्माण कर्जा तीन लाखसम्म प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

सरकारले अनुदानस्वरुप प्रदान गरिने व्याज, कर्जा, सुरक्षण शुल्क तथा बीमा प्रिमियम रकम उपलब्ध गराउने प्रयोजनका लागि राष्ट्र बैंकमा एक खाता खोल्नेछ । उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा लिन माध्यामिक शिक्षा वा सोसरह उत्तीर्ण गरी २५ वर्ष उमेर ननाघेको नेपाली नागरिलाई कर्जा प्रवाह गरिने कार्यविधिमा उल्लेख छ ।


  •  
  •  
  •