काठमाडौँ, १७ मंसिर(ओएनएस) : नेपाल विद्युत प्राधिकरणले भोलि अर्थात् शुक्रबारदेखि दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ गर्ने भएको छ । प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गर्दै दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ हुने जनाएको छ ।
तालिका अनुसार साताको तीन दिन तीन पटक विद्युत कटौती हुनेछ भने अन्य दिन दुईपटक विद्युत कटौती हुनेछ । यस हिसाबले सातामा ५८ घण्टा लोडसेडिङ हुनेछ ।
यसअघि प्राधिकरणले साप्ताहिक ४४ घण्टा लोडसेडिङ्ग गर्ने गरी तालिका सार्वजनिक गरेको थियो । भारतीय नाकाबन्दीपछि उद्योगमा विद्युत खपत नहुँदा औद्योगिक क्षेत्रमा वितरण गरिएको विद्युत सर्वसाधारण ग्राहकलाई उपलब्ध गराउँदा सातामा १५ घण्टामात्रै लोडसेडिङ्ग गरेको थियो ।
केहीदिनअघिदेखि अघोषित रुपमा लोडसेडिङ्ग बढाएको प्राधिकरणले माग भन्दा उत्पादन आधा नै कम भएकाले लोडसेडिङ्ग बढाउनुपरेको प्राधिकरणले जनाएको छ ।