बुधावरदेखि उज्यालो ८ घण्टा

383
  •  
  •  
  •  

काठमाडौं, २१ जेठ (ओएनएस) । नेपाल विद्युत् प्राधिकरण्ँले बुधबारदेखि लागू हुने गरी लोडसेडिङको विद्यमान समयमावधिमा दैनिक दुई घण्टाका दरले घटाएको छ। नदीमा पानीको बहाव बढ्न गई विद्युत् उत्पादनमा वृद्धि भएकाले लोडसेडिङको समयावधि कम गर्न लागेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख भुवनकुमार क्षत्रीका अनुसार अबदेखि सातामा साढे ५५ घण्टाका दरले लोडसेडिङ हुने छ। विद्यमान स्रोतलाई अधिकतम उपयोग गरेर लोडसेडिङको अवस्थामा कमी ल्याइएको उहाँको भनाइ छ।
यसअघि वैशाख ३१ गतेदेखि साताको १४ घण्टा लोडसेडिङ कम गरेर प्राधिकरण्ँले ७० घण्टामा झारेको थियो। त्यतिवेला प्राधिकरणले हप्ताको १ दिन १२ घण्टा, २ दिन १० घण्टा र ३ दिन ९ घण्टा विद्युत् कटौती गर्दै आएको थियो।
क्षत्रीका अनुसार अबदेखि साताको तीन दिन आठ घण्टा, तीन दिन साढे सात घण्टा र एक दिन नौ घण्टा विद्युत् कटौती हुने छ। पानी पर्ने क्रम बढ्दै गएपछि क्रमशः लोडसेडिङको विद्यमान तालिका कम हुँदै जाने प्राधिकरणले जनाएको छ।
नयाँ आयोजना नथपिने र भएका आयोजनाबाट पनि अधिकतम् लाभ लिन नसक्ने परिपाटीका कारण नेपालमा वर्षायाममा समेत लोडसेडिङ हुँदै आएको छ।


  •  
  •  
  •