काठमाडौँ, २७ फागुन ।
सरकारले स्वस्थ मिर्गौला प्रत्यारोपण नि:शुल्क गर्ने तयारी गरेको छ। स्वास्थ्य मन्त्रालयले आगामी वैशाख १ गतेबाट स्वास्थ्य कर कोषको रकम प्रत्यारोपण खर्च गर्ने गरी नि:शुल्क मिर्गौला प्रत्यारोपणको सुरुवात गर्न लागेको हो।
गिन्दगीभर डाइलासिस गराउनुभन्दा दुई वर्षको डायलासिस खर्चले प्रत्यारोपण सम्भव भएपछि मन्त्रालयले नि:शुल्क मिर्गौला प्रत्यारोपणका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो। स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य कर कोषमा जम्मा भएको रकमले नि:शुल्क मिर्गौला प्रत्यारोपणको तयारी गरेको जानकारी दिए।
थापाले २५ करोड रुपैयाँ अर्थबाट स्वास्थ्य मन्त्रालयमा जम्मा भइसकेको जानकारी दिँदै अब ५० करोड रुपैयाँ जम्मा हुन बाँकी रहेको बताए। सरकारी अस्पतालबाट मात्र नि:शुल्क मिर्गौला प्रत्यारोपण गर्न लागेको जानकारी दिँदै मन्त्री थापाले डाइलासिसभन्दा प्रत्यारोपण खर्च कम लाग्ने बताए। सरकारले हाल डायलासिसका लागि एक पटकमा तीन हजार रुपैयाँ व्योहोर्दै आएको छ।
गोरखापत्रबाट