लिपुलेकबारे सरकारको ‘लटरपटर’ जवाफ

164
  •  
  •  
  •  

mahendra bd pandey
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे

काठमाडौं, १७ असार (ओएनएस) : नेपाली भूमी लिपुलेकमा छिमेकी मुलुक भारत र चीनले व्यापारिक नाका बनाउने सम्झौता गरेको विषयमा सरकारले संसदमा जवाफ दिएको छ ।

सरकारको तर्फबाट परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जवाफ दिएका हुन् । यसअघि बुधबारको व्यस्थापिका संसदको बैठकमा सांसदहरुले लिपुलेकबारे सरकारको जवाफ मागेका थिए । सांसदहरुको मागपछि सभामुख सुबास नेम्बाङले जवाफ दिन सरकारलाई निर्देशन दिएका थिए ।  पाण्डेले छोटो जवाफ दिँदै दुबै पक्षबीच वार्ता भैरहेको तथा देशको अखण्डताबिरुद्ध कसैसँग सम्झौता नगर्ने बताए ।

पाण्डेको जवाफ यस्तो थियो
२०१५ मे १५ का दिन चिन र भारतका बीचमा भएको सम्झौताका विषयमा सभामुखको निर्देशन अनुसार जानकारी गराउन लागेको छु । भारत र चीनबीच २०१५ मे १५ मा जारी भएको संयुक्त वक्तव्यमा उल्लेखित लिपुलेक नाकाका सम्बन्धमा सरकारले दुवै छिमेकी मुुलुकका सरकारसाग कुटनीतिक माध्यमबाट ध्यानाकर्षण गराएको छ र दुवै पक्षसँग संवाद जारी रहेको छ ।

गत वर्ष जुलाईमा नेपाल भारत परराष्ट्र मन्त्रीस्तरीय बैठक र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा पनि दुबै देशको हितमा काम गर्ने निर्णय भएको थियो । पञ्चशीलका मान्यताबाट नेपालको परराष्ट्र नीति निर्देशीत छ । भारत र चिनबीचको संयुक्त बक्तव्य यो दिशा र मर्मबाट विमुख हुने छैन । नेपालको अक्षुणता र अखण्डताका विपक्षमा नेपाल सरकारले कसैसँग पनि सम्झौता गर्ने छैन । यस कुरालाई हृदयंगम गरिदिनुहुने छ ।

लिपुलेकबारे चर्का कुरा गर्नै नै अनुपस्थित

पाण्डेको जवाफपछि सभामुख नेम्‍बाङले लिपुलेको विषयमा प्रश्न उठाउने सांसदहरु बैठकमा अनुपस्थित भएको भन्दै ध्यानकर्षण गराउँदै भने , ‘ माननीय ज्युहरुले गंभीरतापूर्वक चासो व्यक्त गरेपछि मैले सरकारले निर्देशन दिएको थिए । सरकारले जवाफ पनि दिएको छ । तर गम्भीरतापूर्वक आवाज उठाउने माननीय सदस्यहरु यहाँ उपस्थित हुनुहुन्न । यो राम्रो होइन । म माननीय सदस्यहरुलाई यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।’  बैठकमा अघिल्लो दिन  प्रश्न उठाउने दार्चूलाका सा‌ंसद हरिश ठकुन्ना लगायतका केहि मात्र उपस्थित थिए ।


  •  
  •  
  •