काठमाडौँ, १४ कात्तिक(ओएनएस) : काठमाडौं उपत्यकामा आज ८० हजार ग्यास सिलिन्डर वितरण गरिदै छ । आधा परिमाण अर्थात ७.१ किलो ग्यास भरेर नजिकको ग्यास डिलर र पसलबाट वितरण गरिँदै छ ।
ग्यास बाँडिने खबरपछि डिपो तथा डिलरहरूमा ग्यास प्रयोगकर्ता सर्वसाधारणको भीड लागेको छ । भारतको अघोषित नाकाबन्दीका कारण लामो समयदेखि ग्यास नपाएका सर्वसाधारणहरू आधा सिलिण्डर ग्यास पाउने आशामा आधा रातदेखी नै लाइन बसेका छन् ।
आधा सिलिण्डर ग्यास पाउँदा पनि आफ्नो केही दिनको उर्जा संकट टर्ने आशामा छन् सर्वसाधारणहरू । ग्यासको सिलिण्डर बोकेर टाढा-टाढादेखी लाइन बस्न आउने पनि कमी छैन् । ग्यास नहुँदा घर तथा कोठामा खाना समेत पकाउन नपाएको गुनासो गर्नेहरूको पनि कमी छैन्, ग्यासका लागि लाइन बसेकाहरूबीच ।
उद्योगीका अनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक पूरै भरिएका ४० हजार सिलिन्डर (१४.२ किलो) ग्यास खपत हुने गरेको छ । ग्यास उद्योग संघका अनुसार सामान्य अवस्थामा दैनिक मुलुकभर ६६ बुलेट ग्यास खपत हुने गरेको छ । यसबाट ८२ हजार ५ सय सिलिन्डरमा पूरा ग्यास भर्न पुग्छ । उपत्यकामा सरदर दैनिक ३० बुलेट ग्यास खपत हुने गर्छ । ३० बुलेटबाट ४१ हजार २ सय ५० सिलिन्डरमा पूरा ग्यास भर्न पुग्छ । आज थप बुलेट ग्यास आएकाले थप सहज हुने आयल निगमले जनाएको छ ।