सवारी लाइसेन्सको ‘ट्रायल’ खुलाउने तयारी

151
  •  
  •  
  •  

काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल खुलाउने तयारी भएको छ। चालु महिनाको अन्तिम साताबाट ट्रायल खुलाउने तयारी भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ।

मातहतका कार्यालयहरुसँग आगामी आइतबार ९साउन २४० छलफल गरेपछि ट्रायल खुलाउने योजना रहेको विभागका महानिर्देशक नमराज घिमिरेले बताए।

कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा पूर्णरूपमा हट्न बाँकी नै रहेकाले ट्रायल खुलाउन नसकिने यातायात कार्यालयहरुले बताएका थिए।

गाडी चलाउने लाइसेन्स लिन अनलाइन आवेदन दिएर करिब ५ लाख सेवाग्राही ट्रायल परीक्षाको प्रतीक्षामा छन्। विभागले कोटा प्रणाली हटाएर अनलाइन आवेदन अनलिमिटेड बनाइदिएका कारण ठूलो संख्यामा सेवाग्राहीले आवेदन दिएका हुन्। अहिले अनलाइन आवेदन पनि बन्द गरिएको छ। ट्रायल खुल्ने टुंगो लागेपछि अनलाइन आवेदन पनि खुलाउने तयारीमा विभाग छ। सुरुमा आवेदन दिएका सेवाग्राहीले पहिलो प्राथमिकता पाउनेछन्।

त्यस्तै अब ट्रायल परीक्षा संचालनका लागि समेत कोटा हट्ने भएको छ। यसअघि कार्यालयहरुलाई विभागले कोटा तोकिदिने गरेको थियो।


  •  
  •  
  •