सवारी लाइसेन्सको तयारीमा हुनुहुन्छ ? यस्ताे छ नयाँ पाठ्यक्रम

765
  •  
  •  
  •  

काठमाडौं । यातायात व्यवस्था विभागले नयाँ व्यवस्था अनुसार मोटरसाइकल तथा स्कुटरको लाइसेन्सको लिखित परीक्षाका लागि प्रश्नहरु सार्वजनिक गरेको छ । पाँच सय वटा प्रश्न सार्वजनिक गरेको र लाइसेन्सको लिखित परीक्षामा तिनैमध्येबाट २० वटा प्रश्न सोधिने विभागले जनाएको छ ।

एउटा प्रश्नको पाँच अङ्क दिइने र उत्तीर्ण हुनका लागि ८० अङ्क अर्थात कम्तीमा १६ वटा प्रश्नको सही जवाफ दिनुपर्ने छ । लिखित परीक्षा उत्तीर्ण भएपछि मात्रै ट्रायल दिन पाइनेछ । गएको चैत २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ व्यवस्थासहित सवारी चालक अनुमतीपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका स्वीकृत गरेको हो ।

जेठ १ गतेदेखि नै लागु भएको कार्यविधि कोरोना महामारीका कारण लाइसेन्स सम्बन्धी सेवा बन्द रहेकोले साउन १ गतेदेखि कार्यान्वयन गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

नयाँ व्यवस्था अनुसार मोटरसाइकल तथा स्कुटरको ट्रायल परीक्षामा पनि केही खुकुलो बनाइएको छ । प्रयोगात्मक परीक्षाका लागि विभिन्न सूचकमा एक सय अङ्क तोकिएको छ । त्यसमध्ये ७० अङ्क ल्याउने व्यक्ति उत्तीर्ण हुन्छ ।

नयाँ व्यवस्थाले एउटा सानो गल्तीका कारण फेल हुने अवस्थाको अन्त्य गरेको छ । प्रयोगात्मक परीक्षामा सबैभन्दा बढी ट्राफिक संकेतको पालना नगरेमा १५ अङ्क घट्छ । घुमाउरो आठमा एक पटकसम्म रेखा छोएमा वा एक पटकसम्म भुइँमा खुट्टा टेकेमा १० अङ्क घट्नेछ । संकेत चिन्ह छोएमा, खुट्टाले भुँइमा टेकेमा, मोडमा इन्डिकेटर बत्ती नबालेमा लगायतका गल्ती हुँदा फरक फरक अङ्क घट्ने व्यवस्था छ ।

यस्तै नयाँ व्यवस्था कार्यान्वयन भएपछि लाइसेन्स परीक्षा उत्तीर्ण गर्नेहरुलाई एक वर्षको लागि परीक्षण लाइसेन्स दिइनेछ । परीक्षण कालको एक वर्षमा पाँच पटकसम्म सवारी नियम उलंघन गरेमा त्यो व्यक्तिले पुनः परीक्षा दिनुपर्छ ।


  •  
  •  
  •