आजदेखि सवारी चालक अनुमतिपत्रको फारम खुला

636
  •  
  •  
  •  

काठमाडौं । कोरोना भाइरसका कारण रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को फारम ९ महिना पछि खुलेको छ। गत चैतदेखि सवारी चालक अनुमतिपत्रको फारम तथा प्रयोगात्मक परीक्षा रोकिएको थियो।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पुरा गरेर मंगलबारबाट सातै प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम खुल्ला गरिएको यातायात विभागले जनाएको छ। साना तथा ठूला सबै प्रकारका सवारीको अनुमतिपत्रका लागि अनलाइन फारम खुल्ला गरिएको हो। अब लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) नियमित हुनेछ।

लकडाउन अगाडिका ट्रायल दिन नपाएका परीक्षार्थीका लागि छिट्टै सम्बोधन गरी कार्यविधि संशोधन गर्ने विभागले जनाएको छ। उपत्यकामा ४ सहित देशभर विभागका १७ वटा कार्यालयबाट अनुमतिपत्र वितरण, नवीकरण हुँदै आएको छ। सेवाग्राहीलाई सुविधा प्रदान गर्ने गरि मोटरसाइकलमा दैनिक १ सय, स्कुटर र चारपाङग्रे सवारीमा ५०-५० गरि २ सयले अनलाइन आवेदन दिनपाउने व्यवस्था गरिएको लाइसेन्स कार्यालय चावहिलका प्रमुख विष्णु भट्टराईले बताए। स्वास्थ्य सुरक्षाको अवस्थालाई हेरेर तत्काल दैनिक २ सय सेवाग्राहीलाई व्यस्थापन गर्ने गरी प्रकृया अगाडि बढाइएको उनको भनाइ छ। अन्य कार्यालयहरुले समेत त्यस्तै संख्यामा आवेदन खुलाएका छन्।

 


  •  
  •  
  •