बलात्कारको प्रयासबाट उम्केकी किशोरीको राष्ट्रपतिलार्इ पत्र

288
  •  
  •  
  •  

काठमाडौँ, २५ मंसिर(ओएनएस) : बलात्कारको प्रयासबाट उम्केकी एक किशोरीले राष्ट्रपति विद्या भण्डारीलाई एउटा मार्मिक पत्र लेखेकी छिन् ।

कक्षा १० मा पढ्दै गरेकी लिजा शर्मा(नाम परिवर्तन)ले आफूलाई करणीको प्रयास गर्ने व्यक्तिलाई समाज, प्रहरी र अदालतले सहजै उन्मुक्ति दिएको भन्दै दु:ख व्यक्त गरेकी छिन् । उनले आफूलाई करणी गर्ने प्रयास गर्ने व्यक्तिलाई कुनै कारबाही नगरी ४० हजार तिराएर उन्मुक्ति दिएको भन्दै आफ्नो इज्जतको मूल्य ४० हजार हो भन्दै राष्ट्रपति विद्या भण्डारीलाई प्रश्न गरेकी छिन् ।

अदालत भनेको पीडितलाई न्याय र पीडकलाई सजाय दिने ठाऊँ भएको पुस्तकमा पढेपनि आफूले भने ठिक उल्टो अवस्था झेल्नु परेको बताएकी छिन् । उनले राष्ट्रपतिलाई प्रश्न पनि गरेकी छिन् की, “अदालत भनेको अन्यायमा परेकाहरुलाई न्याय दिने, पीडकलाई सजाय तोक्ने स्थान हो’ गुरुले भन्नुहुन्थ्यो, ‘यस्तो फैसला न्यायधीशहरुले गर्छन् ।’ तर मैले उल्टो देखेँ । अदालतबाट न्याय होइन अन्याय पाएँ । न्यायधीशबाट मेरो मूल्य तोकियो । के मलाइ झुटो शिक्षा सिकाइँदैछ ?”

पढ्नुस् ती किशोरीले राष्ट्रपतिलाई लेखेको पत्र

श्री सम्माननीय राष्ट्रपति विद्या भण्डारी ज्यू,
शीतल निवास, काठमाडौं

परिस्थितिको इजलाशमा कहिलेकाँही आफैँ न्यायधीश बन्नु पर्दोरहेछ । त्यसैले यो पत्र कोर्ने फैसला गरेँ । यदि न्याय दिने न्यायधीशले मेरो चित्कारको सम्बोधन गरेको भए सायद यस्तो फैसला पक्कै हुने थिएन । त्यसैले मप्रति भएका अन्यायहरुलाई यो पत्रमा उतार्ने जमर्को गरेकी छु ।

घटना गत जेठ ९ गतेको हो । जतिबेला मुलुक भूकम्पको त्रासले काँपिरहेको थियो । राजधानी छोड्नेहरुको लर्को लाग्यो । त्यसबाट म पनि अछूतो रहन सकिन । काठमाडौं शहरमा बस्न नसकिने अवस्था भयो । पढाई पनि रोकियो । त्यसपछि म सुरक्षित स्थान खोज्दै आफ्नो घर गएँ । भूकम्प रोकिएपछि पढाई सुरु होला र काठमाडौं जाउँला भन्ने थियो । तर, २९ गते अर्को शक्तिशाली परकम्पन भयो । त्रास थपियो । मेरो गाउँ बसाई पनि लम्बियो । जेठ ९ गते बिहानै म बाख्रा चराउन गोठालो गएको थिएँ । आँखुखोलामाथि जंगल थियो । साथीसँगै बाख्रा चराउँदै थिएँ । करिब बिहानको ९:३० बजेको हुँदो हो, साथीहरुसँगै म पनि फर्किन लागेको थिएँ । स्थानीय सञ्जिव घलेले आँप ल्याएका रहेछन्, आँप खाउँ भने । गाउँको दाइ ठिकै छ, भनेर आँप खाएँ । आँप खान थालेपछि भोलिको लागि हुन्छ, नुन लुकाएर राख भने । मैले हुन्छ भनेर नुन राख्न थालेँ । उसले अचानक पछाडिबाट तानेर मेरो शरीर सुम्सुम्याउन थाल्यो । मैले प्रतिकार गरेपछि मलाई भुईंमा लडायो । म उठेँ र भाग्न खोजेँ । उसले फेरि मलाई लडायो । प्रतिकार गर्दा मेरो कुर्ता पनि च्यातियो । उसले मेरो छातिमा चलाउन थाल्यो । मैले के गर्न लागेको भन्दै चिच्याएर भाग्न थालेँ । उसले हातमा भएनको हँसिया देखाउँदै धम्क्यायो । म उठेर भाग्न खोजेँ यो क्रम ती पटकसम्म चल्यो ।

सम्माननीय राष्ट्रपति ज्यू माफ गर्नुहोला, यो घटना स्मरण गर्दैगर्दा म निकै भावुक भएको छु ।

अचानक राहत लिएर आउने टोली नजिकैको बगरमा देखियो । त्यसपछि उसले मलाई चलाउने हिम्मत गरेन । त्यो राहत बोकेर आउने टोली मेरो जीवनमा पनि राहत बनेर आए । मेरो लुटिन लागेको इज्जत जोगाउनेगरी आए । उनीहरु टाढा पुगुञ्जेल ऊबाट भागेर म पनि भागिसकेको थिएँ ।

मैले आमालाई सबै कुरा भनेँ । जिल्ला बाहिर रहेका बुबालाई आमाले फोन गर्नुभयो । बुबाले ‘म एकदुई दिनमै फर्कन्छु । अनि जे गर्नुपर्छ गरौंला’ भन्नुभयो । बुवा आउनुभएपछि हामीले प्रहरी उजुरी दियौं । उजुरी दिएपछि गाउँका ठूलाबडा भनाउँदाहरुले म माथि अन्याय गर्ने कुचेष्टा गरे । ‘न्यायको नाममा हल्ला भयो भने तिम्रो छोरी बिक्दिन’ भनेर मेरो आमा र बुवालाई धम्क्याउन थालियो । एकदिन बुवा नभएको बेला मिलापत्र गर्न दवाव दिइयो । ममाथि अन्याय भएको थियो । म न्यायको लागि लड्न चहान्थेँ । मैले ‘न्याय पाउनुपर्छ’ भनेर चिच्याएँ । समाजका भद्रभलादमी भन्नेहरुले मेरो कुरा सुन्नै चाहेनन् । अचने उमाविका शिक्षक तथा वडा नागरिक मञ्च ५ का प्रतिनिधि बासु सेडाईं र पूर्वगाविस उपाध्यक्ष गोपी पाण्डेले मेलमिलाप गर भनेर दबाव दिए । म रोकिनै सकिनँ । मैले मुखभरी निस्किएको घृणा ओकल्दै पीडकलाई थुकेँ । मैले उसलाई चप्पल फुकालेर प्रहार गरेँ । मेरो आमाले पनि त्यही गर्नुभयो । त्यहाँ केही अगुवाहरुले मलाईभन्दा पीडकलाई नै राहत हुने गरी कुरा गरे ।

मलाई जबर्जस्ति करणी गर्ने व्यक्तिविरुद्ध सम्मानित जिल्ला अदालत धादिङमा ‘जबर्जस्तिकरणी उद्योग’को मुद्दा हालेँ । त्यो दिन २०७२/०२/१३ गते थियो । तर, उसलाई प्रहरीले पक्राउ गरेन । उसलाई पक्राउ गरेको बारे मैले जानकारी पाइनँ तर, मैले सुनेअनुसार सम्मानित जिल्ला अदालत धादिङबाट उसलाई उन्मुक्ती दिइयो रे ! चालिस हजार रुपैयाँ तिराइयो रे ! न्यायको पर्खाइमा रहेकी मलाई यो फैसलाले रुनु न हाँस्नु बनाएको छ । मलाई बलात्कारको कोशिस गर्ने व्यक्ति अहिले गाउँमा ‘मैले चालिस हजार तिरेको’ भन्दै हिँडेको मैले सुनेको छु । यसले मलाई निकै आहत बनाएको छ ।

सम्माननीय राष्ट्रपतिज्यू, हजुर त नेपालको पहिलो (महिला) राष्ट्रपति । तपाईंको जीवनले धेरै उकालो पार गरिसकेको छ । महिलाको पीडाबारे जानकार हुनुहुन्छ, के मजस्तो महिला/बालिकाहरुको मूल्य चालिस हजार रुपैयाँ हो ? के यसरी नै नेपालमा महिलाहरुको मूल्य तोकिन्छ ?

जिल्ला न्यायधीश ठाकुरप्रसाद शर्मालाई बुझ्दा ‘आफूले मिशिल नै नहेरेको’ जवाफ दिनुभयो । उनलाई पनि मेरो प्रश्न छ, मिसिल नै नहेरी हजुरले फैसला गर्न मिल्छ र श्रीमान ? हुन त हजुरको आदेशमा जे पनि हुँदोरहेछ । मेरो मूल्य तोकिएको छ । तोकिएको मूल्य तिरेर उसले उन्मुक्ति पाएको छ । श्रीमान के अदालत भनेको हाम्रो मूल्य तोकिने ठाउँ हो ? यदि त्यसो हो भने, मेरो लुटिएको इज्जतको पनि मूल्य तोक्दिनुहोस् श्रीमान । श्रीमानको बेञ्चमा मेरो इज्जत फिर्ता हुने फैसला हुन्छ भने, तोकिएको भाउ तपाईंले पाउनुहुनेछ ।

श्रीमान तपाईंको आदेशमा सबै हुँदोरहेछ । किन तपाईंले भूँइचालो रोक्ने आदेश दिनुभएन ? भूँइचालो रोकिदिएको भए म काठमाडौं छोडेर गाउँ (त्रिपुरेश्वर ५ धादिङ) जानु पर्ने थिएन । मेरो इज्जत पनि लुटिने थिएन ।

सम्माननीय राष्ट्रपति ज्यू, म अहिले राजधानीको एक विद्यालयमा कक्षा १० मा पढिरहेकी छु । सामाजिक शिक्षाको कक्षामा गुरुले अदालतबारे पढाउनुभएको थियो । ‘अदालत भनेको अन्यायमा परेकाहरुलाई न्याय दिने, पीडकलाई सजाय तोक्ने स्थान हो’ गुरुले भन्नुहुन्थ्यो, ‘यस्तो फैसला न्यायधीशहरुले गर्छन् ।’ तर मैले उल्टो देखेँ । अदालतबाट न्याय होइन अन्याय पाएँ । न्यायधीशबाट मेरो मूल्य तोकियो । के मलाइ झुटो शिक्षा सिकाइँदैछ ?

लिजा शर्मा (नाम परिवर्तन)
त्रिपुरेश्वर ५ धादिङ


  •  
  •  
  •