‘कमरेड तपाईलाई पराजित भूतले नराम्रोसँग तर्साएको छ’ (प्रचण्डलाई खुला पत्र)

177
  •  
  •  
  •  

प्रचण्ड जी,

यो पत्र, पत्र मात्र होइन, ३ करोड जनताको प्रतिनिधि विश्वास, हो जुन यहाँले मनन गर्नुहुन्छ भन्ने विश्वासका साथ सम्प्रेषण गरिएको हो । यो र त्यो राजनीतिक दलको झन्डा नबोके पनि हरेक नागरिक राजनीतिक प्राणी अवश्य हो । सायद, त्यसैले होला समाजका हरेक घटनाक्रम र राजनीतिक विकासले उसलाई पनि अछुतो राख्दैन । अनि लाग्छ रहनु पनि हुँदैन । वैचारिक स्वतन्त्रताको जगमा टेकेर तपाईं एमाओवादी अध्यक्ष कामरेड प्रचण्ड महोदयसमक्ष केही जिज्ञासारूपी प्रश्न राख्ने अठोटस्वरूप दुई/चार शब्द लेख्ने प्रयास गरेको हुँ । यो पत्र कुनै अमूक दल वा व्यक्तिप्रतिको आग्रह पूर्वाग्रह होइन ।

सबैभन्दा जान्नै र बुझ्नै पर्ने पहिलो कुरा आफूलाई बुझ्नु अनि चिन्नु हो । जो मानिसले आफूलाई चिन्छ ऊ स्वयंबाट बाहिर आउन र आफ्नो प्रभाव एक पर्यवेक्षक भएर नियाल्न सक्छ । यसअर्थ, तपाईं चुक्दै हुनुहुन्छ कामरेड । तपाईंले आफैंलाई बुझ्न त होइन बिर्सन पो थाल्नुभयो कि भन्ने शंकालाई मार्गप्रशस्त गर्दै छन् तपाईंका केही वर्षयताका गतिविधिहरूले । त्यसैले एउटा परिवर्तन अनि विकास, समानता अनि समतामूलक समाजमा आस्था राख्ने स्वतन्त्र नागरिकका हैसियतमा तपाईंलाइ घचघच्याउनु आफ्नो पनि कर्तव्य ठानी यो खुला पत्र कोर्दै छु ।

यो संक्रमणकालीन अवस्थामा अति नै सुजबुझयुक्त राजनीतिक नेतृत्वको खाँचो पर्छ जसले स्वयंलाई आफ्ना ज्ञानेन्द्रीय पकडबाट मुक्त गराएर देश र जनताका पक्षमा निर्णय लिन सक्नुपर्छ । जसका लागि इतिहासले चुनेको व्यक्ति तपाईं बन्न सक्नुहुन्छ । हो, त्यो शक्ति तपाईंमा छ, मात्र आवश्यकता छ त त्यो शक्तिलाई चिन्ने र महसुस गर्ने । आज हामी जुन युगान्तकारी परिवर्तन गरेर यसलाई संस्थागत गर्न लागिपरेका छौं, यसको नायक तपाईं नै हो ।

सुजबुझपूर्ण नेतृत्व, राजनीतिक चातुर्यता, साहसिक अनि बलिदानीयुक्त तपाईंको नेतृत्वमा सम्पन्न जनयुद्धकै उपज हो, आजको यो लिपिबद्ध हुन बाँकी राजनीतिक उपलब्धिहरू । राजनीतिक मात्रै होइन, जुन रूपमा समाज आज चेतनायुक्त भएर आफ्ना अधिकारप्रति सचेत भएको छ यो पनि उसै आन्दोलनको उपज हो भनेर भन्दा खासै फरक पर्दैन । त्यसैले यी सबै सत्यतताबीच हामीले तपाईंलाई यो संक्रमणकालीन अवस्थाबाट निकास दिन सक्ने एक मात्र व्यक्ति मान्नु के भूल हो ? हाम्रो तपाईंप्रतिको विश्वासलाई भूल सावित गर्ने कि त्यो विश्वास अनि अभिभारामा खरो उत्रिएर नेपाली जनता अनि राष्ट्रलाई कहिले नभुल्ने गुन लगाउने बल अब तपाईंको कोर्टमा छ । त्यसैले तथ्यगत विश्लेषण अनि धरातलीय यथार्ततामा खडा भएर आफ्नो सुजबुझ प्रस्तुत गर्ने अब तपाईंले हो । यसो भन्दै गर्दा तपाईंले प्रमाणित गर्नु केही छैन, नेपाली गणतान्त्रीक इतिहासमा यहाँ सावित भइसक्नुभएको हो । अब मूल प्रश्न भनेको त्यही प्रमाणित तथ्यताको जगमा आफूलाई निरन्तता दिएर सीमित रहने कि, पतनउन्मुख हुने अथवा त्योभन्दा थप उचाइमा गएर एउटा उदारण प्रस्तुत गर्ने ? रोजाइ तपाईं हो तर याद राख्नुहोस्, सवाल यहाँ तपाईंको व्यक्तिगत लाभ–हानी मात्रको होइन । तपाईंको रोजाइसँगै जोडिएको छ, राष्ट्रिय सवाल । सवाल राष्ट्रलाई अब प्रतिगमनतर्फ फर्काउने कि यथास्थितिमा नै राखेर देश र जनतालाई बन्दी बनाइरहने वा प्रगति र समृद्धिको मार्गमा हिँडाउने, यी प्रश्न पनि यहाँमा नै आएर ठोकिँदै छ । त्यसैले यस्तो ऐतिहासिक कार्यभारलाई फलदायी नेतृत्व दिन तपाईं आज किन खुट्टा कमाउँदै हुनुहुन्छ ? आज तपाईंका कतिपय गतिविधि, विचार अनि कार्य नीतिले तपाईंमा हीनताबोधको ग्रन्थी हावी हुँदैछ भन्ने प्रतित हुन्छ । दोस्रो संविधानसभाको परिणाम अनि त्यसबाट तयार भएको संविधानसभाभित्रको माहोललाई यहाँले सहजताका साथ आत्मसात् गर्न नै सक्नु भएको छैन । प्रस्ट रूपमा भन्नुपर्दा यहाँलाईं त्यो पराजित भूतले नराम्रो गरी तर्साएको छ, जुन वास्तविकतामा सही होइन ।

तपाईंहरूले चुनावमा हारेको होइन, केही हदसम्म नजितेको भन्न सकिन्छ । त्यसैले सबैभन्दा पहिला तपाईं त्यो संकीर्ण मानसिकताबाट मुक्त हुनुपर्छ । आज त्यो चुनावको नतिजा जुनसुकै दल अनि नेताका पक्षमा गएको भए पनि मूलभूत रूपमा तिनले उठाएका मुद्दा अनि एजेन्डाहरू हामी सबैको हो र त्यसमा पनि तमाम ती स्थापित मुद्दाहरूको जननी माओवादी पार्टी नै हो । त्यसकारण आज माओवादी संविधानसभाभित्र कुन हैसियतमा छ, त्यो गणितीय अंकले उति माने राख्दैन, जुन कुरा अरू राजनीतिक दल र स्वयं तपाईं अनि सिंगो माओवादीले पनि बुझ्नुपर्छ र कसरी हुन्छ संविधान बनाउनतर्फ उन्मुख भएर हालसम्मको उपलब्धिलाई संस्थागत गर्न लाग्नुपर्छ । तर, विडम्बना तपाईं बुझेर पनि नबुझेजस्तै बन्नुभएको हो कि वास्तवमै हालसम्मकै उपलब्धि अनि परिवर्तनका मुद्दाबाट टाढा भाग्न खोज्नुभएको ? तपाईंमा किन सैद्धान्तिक विचलन देखा पर्दै छ, आज ? होइन भने तथाकथित विवादित मुद्दामा हलो अड्काएर पनि कतै राज्यले निकास पाउँछ ? उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक पनि तपाईं, संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पनि यहाँकै दलले नेतृत्व गरेको छ, यति हुँदाहुँदै पनि आज तपाईंहरू किन चाँडोभन्दा चाँडो हालसम्मका उपलब्धिहरूलाई संस्थागत गर्नतर्फ तदारुकता देखाउनुहुन्न ? तपाईं दलभन्दा माथि उठेर राष्ट्र अनि जनताका पक्षमा वकालत गर्ने कि यो र त्यो अमूक नामका झुन्डरूपी मोर्चा गठन गर्दै जाने ? आज निकासका खातिर दलगत सानो घेराबाट मुक्त भएर राष्ट्रिय स्वार्थ सर्वपरी ठान्नुपर्छ कि पर्दैन ? जवाफ अब आगामी दिनमा तपाईंका निर्णयले गर्नेछ ।

२००७ सालपछि आजका दिनसम्म पनि बीपी कोइरालाको नाम जुन आदर्श र सम्मानका साथ लिइन्छ, त्यस्तै ऐतिहासिक नायक हुने यो स्वर्णीम मौका कामरेड प्रचण्ड आज तपाईंलाई जुरेको छ । तपाईंलाई सद्बुद्धि मिलोस् । धन्यवाद

योगेश ओली

झापा


  •  
  •  
  •