विकल्प

307
  •  
  •  
  •  

T-P-Mishra-150x150म दौरा-सुरुवालको पहिरनमा चिरिच्याँट परेको छु आज । एकजना मित्रले केही हप्ता पहिले चिनो स्वरूप काठमाडौँबाट पठाएको ढाका टोपीले मेरो तालुलाई घ्याप्प छोपेको छ । सायद मलाई देख्नेहरुले तालु बारे पत्तो पाउने छैनन् । म खुब बैंसालु, हिरो देखिएको छु रे, मेरी सानीले खिसी गर्दै भनेको । सम्झिएँ आफ़्नो मौलिक पोसाकमा म मात्र के हामी सबै त्यस्तै राम्रा-राम्री, हिरो-हिरोनी देखिन्छौं नि । गुमाने ठुले त झन् म भन्दा नि कति हो कति राम्रा देखिएका छन् ।

सेतो दौरा-सुरुवाल, त्यस माथि कालो कोट छ– छुँदा पनि काट्ला जस्तो गरेर लगाएको स्त्री पत्तीको धार जस्तै देखिन्छ । सिरमा फेटा अनि कम्मरमा पोटुकि, त्यस भित्र गोर्खाली सिरुपाते खुकुरी बोकेका । घाम छोप्ने कालो चस्मा अनि सिम्रिके रङ्गको टल-टल टल्किने जुत्ता । यिनै हुन् आजका महाराजा, गुमाने ठुले । हिरो, आजको आकर्षण, बेहुलो अरू जे-जे भने नि उनै हुन् । पुरै मिलेका सेता दाँत देखाउँदै घरिघरि खिसिक्क हाँस्दा लाग्छ सायद यिनका सालीहरुले खुब जिस्काउने छन् ।

पहिरन हेर्दा त भूटानको दागानामा हुने भए उनले घोडीमा सवार हुँदै बेहुली लिन जान्थे क्यार । हामी जन्तीहरु घोडीको पछिल्तिर लमक-लमक हिँडिरहेका हुने थियौँ । नौमती बाजाको झ्यानाकुटीझ्याईँ, त्यसमा पनि नरसिंगा फुकाई अनि सनै बजाइले हामी जन्तीको मात्र के कुरा, जङ्गल आसपासका जनावरहरु पनि कम्मर मर्काउँदै नाच्थे होलान् ।

आज भने चारपांग्रेबाहेक अरू विकल्प छैन । बेहुलो सवार चारपाङ्ग्रे कसले चलाउने भन्ने कुरामा त्यहाँ निकै बेर एक-अर्कामा कानेखुसि भो । म त्यहाँ नौलो छु । कागको बिचमा म मात्र बकुल्लो भएकोले चुपचाप बसिरहेँ ।

“होइन तिमी त अमेरिका आएको नि निकै भो । लु यार आज डाइभरी काम गर्नु पर्ने भो,” बेहुलाले धाप मार्दै भने । ‘महाराजा’ सवार चारपांग्रे चलाउन पाउँदा कसले पो हुन्न भन्ला र? उसै पनि पुरै सिंगारिएको चारपांग्रे, म खुरुक्कै तम्सिएँ ।
ल सबै जना गाडीभित्र पसुँ भनिदिएँ ।

बेहुली कहाँ पुग्न चालिस मिनेट जति लाग्दोरहेछ । गुमाने र म अगाडी, पछिल्तिर उनका एक भाइ, भरे परिहाले जन्तीका तर्फबाट सिलोक भन्न, नन्दलाल खड्का बा’ र खोइ को अर्का मैँले नचिनेका एक जना आफन्त छन्, गाडीमा । मेरी सानी चैँ बेहुलाको घरमै बस्नु पर्ने भो, यसो कामधन्दा सघाउँदै । खड्का बा’ गाडी भित्रै सिलोक भन्न थाले । मनछुने सिलोकले मलाई पुरै बिहे लागेको भान गराइरहयो । मेरा आफ्नै बा’ले भूटानमा त्यसै गरी सिलोक भनेको पुरै झल्झली आयो आँखामा ।

“तिमी मेरो बिहामा आएकोमा निकै खुसी छु,” बेहुलो।
म पनि उतिकै दङ्ग, खुसी छु । लु भन, अरू के छ खबर ? मैले सोधेँ ।

“एउटा भाइ हिजो फन्दा’ परेको त सुनेउ होला । पछाडि बसेको अर्को भाइले आउने महिना कलेज पढेर सक्छ । बैङ्कमा जागिरको पनि बन्दोबस्तो गरिसकेछ, भाइले । मैले भर्खर घर लिएँ । अब एउटा गाडी मर्मत गर्ने गराज लिने सोंचमा छु । केही सिप सिकेको छु, त्यसलाई व्यापारमा बदल्नु पर्ने भो, खोइ अरू कलमी जागिर खान धेरै पढ्न सकिएन” ।

लु बडो प्रगति भएछ, उच्च  शिक्षा हाँसिल गरेका धेरैजसोले कति कोसिस गर्दा पनि तिम्रो जति प्रगति गर्न गाह्रो महसुस गरिरहेछन्, मैले भनेँ।
“तिमीलाई सबै थाहै छ नि । यो सब मेरो दिदीले गर्दा भएको न हो । ए साँची, म चाडैं मामा बन्ने वाला छु”
“हो र? ल गज्जब भएछ”, मैँले सानो हर्ष थपिदिएँ ।

एक समय आत्महत्या गर्न प्रयास गरेका यी बेहुला दिदीबाट प्रेरित हुँदै आज यो गज्जबको प्रगति सहित अघि बढेकोमा म बहुत खुसी छु । मन-मनै म खुब हाँसेको छु । केही दिन यतै बस्नलाई पनि बेहुला निवेदन बिसाउँदै थिए । तर म हतारोमा भएको बारे प्रस्टै पारेको छु । सायद उनी मलाई अरू त्यस्ता थुप्रै कुराहरू सुनाउन चाहन्छन् । बिहाको दिन भएकोले मैँले दु:खका पुराना दिनहरू बारे कुरा कोट्याउन चाहिन । विगतलाई आधार मानेर अघि बढ्नु राम्रो हुन्छ, तर त्यसलाई सम्झिरहनु घातक हुने स्मरण गराएँ । उनकी आमा अहिले नौ हात जतिको घर पछिको करेसी बारीमा यसो सागपात छर्ने सोचमा भएको बताए ।

“छिमेकी एउटी गोरेनी आन्टीसँग दुई-चार मिनेट टुटेफ़ुटेको अङ्ग्रेजीमा गफ गर्न सक्ने हुनु भएको छ आमा । खुब मिनत’ गरेर पढ्नु हुन्छ अङ्ग्रेजी,” गुमानेले भने ।

गफको सुरमा मैँले केही देखिन तर खोइ नन्दलाल खड्का बा’ले एउटा कालो बिरालोले बाटो काट्यो भने ।
“लु गाडी रोक्नु पर्छ, रोक-रोक नानी”, खड्का बा’ ।
यो ‘हाईवे’मा एक्कासि गाडी रोक्न मिल्दैन बा’, मैँले भने ।

“मलाई अरू थाहा छैन तर गाडी जसरी नि रोक्नुको विकल्प छैन, बिरालोले बाटो काट्यो–लोदर लाग्यो, अब गाडी पल्टिन सक्छ वा केही खति हुनसक्छ ” खड्का बा’ ।
होइन होला, कसले भनेको पल्टिन्छ भनेर? मैँले सानो स्वोरमा प्रश्न गरेँ ।
“उहिलेका बुडापाकाले,” खड्का बा ।
गाडी लडेमा म जिम्मा बा’, मैँले भने ।

लु खत्तम भो, हे राम-राम!!, मेरो कुरो सुन्दैनन् त’ भन्दै थिए खड्का बा’, अघि नेटो काटिएछ, बेहुली घरपो आइपुगियो ।
जीवनमा पहिलो पटक लोकन्ते बस्नु पर्ने भो फेरि । मैँले उनको कुरो काट्न सकिन । एउटा नयाँ अनुभव बटुल्ने मौका पाएकोमा म गदगद भएको छु ।

भरे सबै पैँसो चैँ मैँले नै गनेर दिन्छु नि फेरि, मेरो सर्त ।
“जे गर, तिम्रो विचार,” हाँस्दै गुमाने ।

जब कन्या दानको बेला भो, त्यसले मेरो आफ्नै बिहाको निकै याद दिलायो । मेरो बिहामा सानीले डाँको छोडेको सम्झिएँ । आजकी बेहुली पनि खुब घुँकघुँक गरी रहेकिछिन । मेरो खल्तीमा फेरि अघि देखि फोनको घन्टीले सताइरहेको छ । निकै बेर भो फोन आएको आयै छ । म बाहिर निक्लिएँ कुरा गर्न ।

काकाको छोराले फोन गरेको रहेछ । काकीलाई बिरामले निक्कै च्यापेको थाहा पाएँ । संयोग पनि कस्तो? काकाको घर बेहुली कै गाउँमा भएको त भुतुक्कै बिर्सेको रहेछु । मान्छेको मन पनि त्यस्तो कोही बेला त हुस्सु पनि हुन्छ । बेहुलालाई अर्को लोकन्तेको बन्दोबस्त मिलाउन भनेर म काकाकोतिर लागें । काकीको अवस्था बारे मैँले बेहुलोलाई केही भनिनँ । त्यसो त यस्तो बेला भैपरि आउने कुरो थाहा भए पनि बेहुला-बेहुली र जग्गेमा बसेका आफन्तहरूलाई केही समय नसुनाउने त हाम्रो पुरानै चलन न हो ।

काकीलाई थरिथरिका बिरामले सिकिस्त पारेको रहेछ । सानैमा दाउरा खोज्न गएको बेला रुखका हाँगाले किचेर उसै त खंग्च्यांग-खंग्च्यांग गर्दै हिँड्छिन् । त्यही साल भूटान छोड्नु अघिको दसैँमा कमेरो खनिरहेको बेला माथिबाट ढिस्क्नु झरेर निकै बेर थिचेको उनैलाई । दसामाथि दसाले खुब पछ्याएको थियो काकीलाई । अहिले भने देब्रे खुट्टाको नलीहड्डीमा निकै ठुलो भित्रै देखिने गरिको घाउ भएछ । खोइ कस्तो गाढे घाउ हो त्यस्तो घाउ त मैँले देखेको थिइनँ, औधी धेरै माया लाग्यो । मैनौ दिन जति भो रे ।

“अनि ‘हस्पिटल’ जानु भो त काकी?”, मैँले सोधेँ ।
“खोइ, तेरा काकालाई सोध । कति भनी सकेँ तर कानमा तेल हालेर बसेका छन् । दोख लागेको छ, आठानेलाई मंछाएर झारफुक गरेर मात्र अस्पताल जानु पर्छ भन्छन् । म चैँ पहिले अस्पताल गएर त्यसपछि मात्र झारफुक गरुँ भन्छु । अहिले ऊ त्यहाँ पर्तिर बस्ने पिठाकोटे माइलोलाई बोलाउन गाका’ छन् ।”

‘लु अब मसँग हिड्नुस, हस्पिटल जानु पर्छ’, काकीलाई भनेँ।
गुमाने झैँ कति दु:खमा पनि खुब हास्न जानेकी छन्, मेरी काकीले।
‘घाउ कति दुखेको छ?’ सोधेँ ।
“अलि-अलि,” दुखाई लुकाउँदै काकीले भनिन् ।

उ बेला काकालाई भूटानी आर्मीले थुनेको रहेछ निकै लामो समयसम्म । बन्दीलाई खाना पुर्‍याउन गएको बेला काकाको स्थिति निकै नाजुक देखिछन काकीले । कुटाइले दुइटै कानका जाली फुटेका थिए रे काकाका, दुइटै हातका औलाका टोप्रामा घोचेका थिए रे । घरजहान नहुँदा निकै महिना बिरक्तिएको सुनाइन् काकीले । बिचरी काकीलाई तीन जना लाला-बालाको हेरविचारमा औधी समस्या परेको रहेछ त्यस बेला । बिरक्तिएर काकीले आत्महत्या प्रयास समेत गरेकी रहिछन्, अस्पताल जाँदा गाडी भित्र बाटोमा भनेको ।

“पुलको डनठिमा समातेर हाम फाल्न खोजेकी थिएँ तल बगिरहेको सुनकोस खोलामा । खोलामा नाउका चलाउदै गर्दा नैनासिंग दाजुले खोइ कसरी मलाई देखे, मलाई आएर सम्झाई-बुझाई गरे, आँटेको काम छोडेँ । म बितेपछि तिनै गिद्देहरुले पढुन भनेर ‘सासकेका मुखमा स्याउस्याउ किरा परुन्’ भनेर एउटा कागजमा लेखेर सबैले देखुन भनेर छोडेकोकी थिएँ घरमा, बाले सानामा घोटाई-घोटाई लेखपढ अलि अलि गराकाले काम गरो”

किन त्यस्तो लेख्नु भो त?, सोधेँ ।
“उनीहरूले काकालाई दिएको दु:खले नै मर्न लागेकी थिएँ नि त, काकी ।

‘हाम फालेर मर्नु अघि तपाईँले के-के सोच्नु भो? याद छ त अहिले?’, फेरि सोधेँ ।
“मैँले बित्थाँ’ यसो गरेँ । मैँले बाँच्न सिक्नु पर्थ्यो । ‘सासके’ त छिट्टै मर्छै-मर्छ, तर मैँले त्यो मरेको हेर्नु पर्थ्यो । यिनै तीनवटा कुरा मात्र आए दिमागमा । हेर छोरा, जीवनमा जति दु:ख किन नपरोस् तर हाँसेर बाँच्नुका लागि अरु थुप्रै विकल्पहरु हुन्छन् । आज तिनै मलाई बचाउने नैनासिंगको छोराको बिहामा पनि म जान सकिन । खुब रत्यौली खेल्न मन थियो । मोरो बा’ रिसायो” ।

काकीलाई अस्पताल भर्ना गरेर म एकछिन बाहिरी हावा लिन निक्लिएँ ।

“होइन तपाईँ कहाँ हराउनु भो ? यो त अचम्म भो त? बेहुली लिएर जन्ती आइसके, तपाईँलाई सबै ठिकै त छ?” सानीले फोनमा भनिन् ।
‘काकी बिरामी हुनु भएको रहेछ, अहिले म हस्पिटलमा छु । अलिक भरे मात्र आइपुग्छु त्यहाँ। तर बेहुलालाई काकी बारे केही नभन्नु ल? ‘सरि’ अघि तिम्लाई थाहै दिन पाइनँ’ ।

“को काकी नि?” सानीले सोधिन् ।
मेरो एउटा खुब मिल्ने पुरानो साथी थियो नेपालमा हुँदा । पछि ऊ खोइ के निहुमा बिरक्तिएर इन्डिया भासियो, कहिले घर फर्केन । उनकी आमालाई मैँले त्यतिकै काकी भन्ने गरेको छु । म १२ कक्षा पढ्दा केही खर्च पनि दिएको थियो, कहिल्यै तिर्नु पर्दैन भनेर । एक बेला काकीको पनि ख्याल गर्नु भनेको थियो मलाई उसले । मेरो खुब मिल्ने साथी हो काकीको माइलो छोरो’ सानीलाई बुझाएँ ।

‘खोइ तपाईँका कति साइना कति जनासँग छन् मैँले सबैलाई कहिले चिन्ने भैन, ए, यहाँ सुन्नुहोस् त यताको चिन्ता लिनु पर्दैन । बरु काकीको ख्याल गर्नु नि त राम्रोसँग, यसरी नै अरूका लागि बाँचिरहन पुगिरहोस् तपाईँलाई ’, भन्दै फोन राखिन् सानीले ।

——-
निकै अबेर पुगें बेहुलाघर । दुलाह-दुलही सुहागरातको स्वागतमा ‘कोठा’ पस्नै लागेका रहेछन् ।
“होइन तिमी त पुरै हरायौ त हँ”? गुमाने ।
त्यस्तै भो यार आज, ‘सरि’, जवाफ दिएँ ।

“ए साँची, पोख्रेल अनतरेदाइले तिम्रो कथा ‘सुसाइड नोट’ प्रिन्ट गरेर अघि चिनो सँगै हालेका रहेछन् । पढेर सक्दै मात्र के थिएँ, सैतान हाँजिर भनेको यही हो । आफ्नै कथा पढेर म गदगद भएँ खुसीले । दिदी चुनमतिलाई पनि सुनाएँ । उनी झन् म भन्दा नि खुसी छिन् । म केही दिनपछि ओहायोको एउटा कार्यक्रममा जाँदैछु नि साँची, मेरो सफलताका कुराहरू अरूलाई भन्नु परो भनेर । कथा सबै माझ पुर्याएकोमा दिदी र मेरो तर्फबाट तिमीलाई धन्यवाद है ।”
“होइन, अब भोलि कुरा गर्नु पर्ला,” सर्माउँदै बेहुली ।
कथा लेख्नेबारे मलाई दिएको अनुमतिको लागि तिमी र दिदीलाई पनि विशेष धन्यवाद है त, मैँले भनेँ ।
“भइहाल्छ नि यार,” गुमाने ।

“तपाईँ फेरि यहाँ उहाँहरूलाई पो ‘डिसट्ब’ गर्दै बस्नु भा’ को?”, सानी ।
म अक्कमक्क परें, लाजले ।
“हिड्नू, मलाई पनि निन्द्राले पुरै च्यापेको छ, सुत्नुपर्छ अब” मेरो हात तान्दै सानीले कानमा भनिन् ।

bhutaneseliterature  बाट


  •  
  •  
  •