माघ ८ गते संविधान आउनेमा नेताहरुलाई नै अविश्वास

239
  •  
  •  
  •  

काठमाडौं, १९ असोज (ओएनएस):  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले शीर्ष नेताहरु संविधान निर्माणमा गम्भिर नभएको भन्दै माघ ८ गते नै संविधान नआउने आशंका व्यक्त गरेका छन् । आइतबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता थापाले संबैधानिक राजनीतिक संवाद तथा सहमती जस्तो जिम्मेवार समितिका सभापतिले नै माघ ८ गते संविधान नआउने खुलासा गरीसकेको उल्लेख गर्दै तोकिएकै मितिमा संविधान जारी हुन्छ भनेर दाबी गर्ने ठाउँ नभएको स्पष्ट पारेका छन् ।

थापाले सहमती भए सहमतीबाट नभए प्रक्रियामा गएरभएपनि मुलुकमा संविधान जारी गर्नुको विकल्प नभएको बताएका छन् । थापाले बाहिर हल्ला भएजस्तो संविधानका अन्र्तवस्तुमा खासै विमति नभएको स्पष्ट पार्दै विमति भएका विषयवस्तुलाई प्रक्रियमा लगेर भएपनि टुँगो लगाउनुपर्ने बताएका छन् । उनले भने–‘‘दलहरुवीच शासकीय स्वरुप, राज्यको पूर्नसंरचना सबै विषयमा करिव–करिव सहमती भैसकेको छ, खाली नमिलेको विषय भनेको संघिय प्रदेशको सँख्या र नामाकरण मात्रै हो । ती विषयलाई संविधान सभाभित्र लगेर प्रक्रियामै टुँगो लगाउनुको विकल्प पनि छैन् ।’’

थापाले विवादित विषयमा सहमती कायम गर्न समय अत्यन्तै कम रहेको बताउँदै शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीमा सहमती गरेर बाँकी असहमती रहेको राज्यको पूर्नसंरचनामा भने प्रक्रियामा जानुपर्ने धारणा राखेका छन् । थापाले भने–‘‘अहिले बाहिर नक्कली र कृत्रिम विवादहरु झिकेर संविधान लेखन प्रक्रियालाई अवरुद्ध पार्ने खेल भएको छ, यो आपत्तिजनक छ ।’’उनले संविधान जारी नगरुन्जेलसम्म उच्च स्तरीय राजनीतिक संयन्त्रको संयोजक प्रचण्डलाई दिएर भएपनि अवरुद्ध संसद सुचारु गर्नुपर्ने धारणा राखेका छन् ।

थापाले भने–सहमती गर्नुहुँदैन्थ्यो, सहमती गरिसकेपछि समितिको संयोजक प्रचण्डलाई दिएपनि केही फरक पर्दैन । संविधानसभालाई प्रभाव पार्छ भन्ने हल्ला निराधार भएको स्पष्ट पार्दै उनले संविधान सभाको बाटो भएर आउने कुरालाई मात्रै संविधान सभाले चिन्ने भएको हुँदा कोही पनि डराउनु नपर्ने बताएका छन् । थापाले प्रक्रियामा गएर संविधान जारी गरे राजीनामा दिन्छु भन्ने बाबुराम भट्टराईको भनाईलाइ अराजनीतिक भएको टिप्पणी समेत गरेका छन् । एकिकृत माओवादीका नेता अग्नि प्रसाद सापकोटाले प्रक्रियामा गएर संविधान जारी गरिए च्यातेर फाल्ने बताउँदै त्यसको विरुद्धमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सापकोटाले गणितीय बलमा, बलमिच्याँई गरेर बहुमतको आधारमा संविधान ल्याए अर्को त्यसको विरोधमा सशक्त आन्दोलन गर्ने बताएका छन् । उनले भने–‘‘प्रक्रियामा संविधान ल्याउनै हुन्न भनेर हामीले विरोध गरेको होईन, तर जनताको भावनाभन्दा ठूलो कुरा प्रक्रिया हुनै सक्तैन । संघियता जस्तो मूख्य विषयलाई नै थाती राखेर संविधान जारी गर्ने कुरा हामीलाई स्किार्य हुँदैन् ।’’ सापकोटाले संघियतामा पनि सबै कुरा मिलिसकेको बताउँदै खाली काँग्रेस–एमालेको दृष्टिकोणमा अन्तर रहेको स्पष्ट पारेका छन् । उनले विगतमा राज्य पूर्नसंरचना आयोगले अघि सारेको सुझावलाई आत्मसाथ गर्न सके सबै कुरा मिल्ने जिकिर गरेका छन् । सापकोटाले सत्तारुढ दलद्वय नेपाली काँग्रेस र नेकपा एमालले गणितिय बल देखाएर जनतालाई झिस्काउने काम गरेको आरोप लगाएका छन् ।

उद्योगमन्त्री महेश बस्नेतले पनि संविधान जारी गर्न दलहरुवीच सहमती भए सहमती गर्ने सहमती हुन नसके प्रक्रियामा जानुको विकल्प नभएको प्रष्ट पारेका छन् ।बस्नेतले संविधानका विवादित विषय शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली र राज्यको पूर्नसंरचनामा दलहरुवीच सहमती हुनेमा आफू विश्वस्त रहेको बताउँदै सहमती नभएपनि अब प्रक्रियामा जानुको विकल्प नभएको बताएका छन् । उनले दलहरुवीच खाली संघियतामा मात्रै कुरा नमिलेको जानकारी दिँदै नेकपा एमाले सकेसम्म कम राज्य बनाउनुपर्ने पक्षमा रहेको जिकिर गरेका छन् ।

बस्नेतले भने–‘‘सकेसम्म ५ देखि ७ प्रदेश बनाउनुर्छ भन्ने हाम्रो मान्यता हो, नामांकन र सिमांकनमा विवाद भए त्यसलाई थाती राखेर भएपनि संविधान जारी गर्नुको विकल्प छैन् ।’ बस्नेतले प्रतिपक्ष दल एकिकृत माओवादीले शहिद परिवारको उचित सम्मान, जग्गाको विषय र उच्च स्तरीय राजनीतिक समितिको निर्माण गर्नेजस्ता विषय उठाएर च्याँखे थाप्ने काम गरेको आरोप लगाएका छन् । राष्ट्रिय जनमोर्चा नेपालको अध्यक्ष चित्र बहादुर केसीले संघियतालाई थाती राखेर भएपनि संविधान जारी गर्नुपर्ने बताएका छन् ।

केसीले दलहरुवीच जबसम्म प्रक्रियामा गएर भएपनि तोकिएकै मितिमा संविधान जारी गर्नुपर्छ भन्ने सहमती हुँदैन तबसम्म संविधान जारी नहुने ठोकुवा गरेका छन् । उनले नेपालमा संघियता ल्याउनै नसक्ने बताउँदै ल्याएपनि कार्यन्वयन गर्ने गाह हुने तर्क गरेका छन् । आफ्नो पार्टीले विगत नौ वर्षदेखि नै संघियताको विरोध गरेको उल्लेख गर्दै संघियताको नाममा प्रमुख प्रतिपक्षी दल एकिकृत माओवादीको नेतृत्वमा बनेको गठबन्धनलाई समेत केसीले अपवित्र गठबन्धनको संज्ञा दिएका छन् ।


  •  
  •  
  •