नेताका पेट किन पुट्ट ?

175
  •  
  •  
  •  

काठमाडौं २५ जेठ ।
शनिबार नेता र कलाकारबीच मैत्रीपूर्ण फुटबल खेल सुरु हुँदै थियो। कार्यक्रमका सञ्चालकद्वय नेतालाई खेलाडीका रूपमा परिचय गराउँदै थिए। पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई परिचय गराउने क्रममा कार्यक्रम सञ्चालकले भने, ‘झलनाथ खनालको पेट अलिकति सानो भइदिएको भने सबैभन्दा हाइट उहाँको छ।’ मैदान हाँसोले गुन्जिएपछि अर्का सञ्चालकले थपे, ‘छैन छैन, उहाँको पेट देखिएकै छैन, देखाइएको हो।’
हल्चोकस्थित सशस्त्र प्रहरी खेल मैदानमा निस्किएको प्रसंगले सामाजिक सञ्जालमा ‘भुँडी बहस’कै रूप लियो। केहीबेरमै अनलाइनहरुले नेताका पुट्ट भुँडी देखिने फोटो अपलोड गरेपछि धेरैले ‘नेताले भुँडीभित्र बल लुकाएको’ भन्दै व्यंग्य पनि कसे।मैत्रीपूर्ण खेलको पहिलो चरणमा प्रधानमन्त्री सुशील कोइरालाबाहेक अधिकांश शीर्ष नेता मैदानबाट बाहिरिएका थिए। नेता टिमका क्याप्टेन कोइरालाले क्यान्सरको उपचार गराएका भए पनि सबैभन्दा स्वस्थ र सानो पेटमा देखिएका थिए। उनी सबैभन्दा बढी २५ मिनेटसम्म मैदानमा टिके। उनले हावामा उडेर बल प्रहार गरेको तस्बिरले निकै चर्चा पनि बटुल्यो।

पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, बाबुराम भट्टराईसमेत एकैछिनमात्रै मैदानमा टिके। केपी ओली, विष्णु पौडेल, विजय गच्छेदार, अर्जुननरसिंह केसी, कृष्ण सिटौला, मीनेन्द्र रिजालको हालत पनि उस्तै थियो। दौडिन नसकेकै कारण अधिकांश वरिष्ठ नेताले एकैछिनमा मैदान छाडे।

सामाजिक सञ्जालमा ‘भुँडी बहस’ नेताको सुन्दरतामा केन्द्रित भए पनि चिकित्सकले भने भँुडीलाई अधिकांश रोगको कारक मानेका छन्।

गंगालाल हृदयरोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.मनबहादुर केसीका अनुसार मोटोपनमध्ये सबैभन्दा नराम्रो भुँडीवृद्धि हो। ‘हातपाखुरा, ज्यान सबै ठूल्ठूला र तलसम्म प्यारालल छन् भने त्यति डराउन पर्दैन,’ डा. केसीले भने, ‘हातखुट्टा, गर्धन छाती सानो तर भुँडीमात्रै पुट्ट भएको मोटोपन स्वास्थ्यका हिसाबले प्रतिकूल हुन्छ।’

ग्रान्डी अस्पतालका मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलका अनुसार मोटोपन उच्चरक्तचाप, मधुमेह, उच्च कोलेस्टोरेल, हृदयघात, मतिष्कघात, क्यान्सरदेखि यौन दुर्बलता, बाँझोपन र जोर्नीसम्बन्धी समस्यको प्रमुख कारण हो। ‘अधिकांश नेताको स्वास्थ्य अवस्थाबारे सुन्दा प्रमुख रोग यिनै भएको देखिन्छ,’ डा.अनिलले भने।

चिकित्सकहरू मोटोपनसँगै उच्चरक्तचाप, सुगर र उच्च कोलेस्टोरेललाई ‘रिस्क फ्याक्टर’ मान्छन्। यस्ता रिस्क फ्याक्टरले मुटुरोग, मिर्गौलाको समस्या, हृदयघात र मतिष्कघातजस्ता समस्या निम्त्याउँछन्।

‘भुँडी लाग्नु भनेको चक्रव्युहमा बस्नुजस्तै हो,’ डा.अनिलले थपे, ‘भुँडी बढेपछि दौडिँदा श्वासप्रश्वास बढ्छ, त्यसैले अल्छी गरिन्छ, झन् भुँडी बढ्दै जान्छ।’ खेल अवधिभर नेताको तुलनामा केही छरितो ज्यान भएका कलाकारको टिमले बल नियन्त्रणमा लिएका थिए।

नेताहरु मैदानमा टिक्न नसक्नुको प्रमुख कारण मोटो भुँडी नै भएको चिकित्सक बताउँछन्। एमाले नेता ओलीमा मिर्गौला प्रत्यारोपण गरिएको छ। ओली अहिले पनि मधुमेह, उच्चरक्तचाप र युरिक एसिड समस्या झेलिरहेका छन्। खनाललाई मुटु र उच्चरक्तचापको समस्या छ। पूर्वप्रधानमन्त्री दाहाललाई मधुमेह र उच्चरक्तचाप, नेपाललाई मुटु र भट्टराईलाई रक्तचापको समस्या छ। कांग्रेस नेताहरु सिटौला, केसी, फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई पनि उच्चरक्तचाप छ। यीमध्ये अधिकांशले सुगर र प्रेसरसँगै बढी तौलकै कारण जोर्नी दुख्ने समस्यासमेत भोगिरहेका छन्।

डा.अनिलका अनुसार भुँडी भनेको बैंक ब्यालेन्सजस्तै हो। ‘आम्दानी बढी र खर्च कम भएपछि अकाउन्ट बढ्दै जान्छ, बढी क्यालोरी खाने तर खर्च नगर्ने हो भने थुप्रिँदै गएर भुँडी लाग्छ।’ नेताहरुको भुँडी पनि त्यसैको कारक हो।

चिकित्सकका अनुसार केही विधिबाट व्यक्ति आफैँले पनि मोटोपन भए–नभएको थाहा पाउन सक्छ। त्यसका लागि उचाइ र शरीरको गोलाइको आधारमा निकालिने बडी मास इन्डेक्स (बिएमआइ), बेस्ट हिप रेसियो, एब्डोमिनल सर्कमफेरेन्स (पेटको मोटाइ), आइडियाल बडी वेट छन्। चिकित्सकका अनुसार दक्षिणपूर्वी एसियाको सन्दर्भमा बिएमआइ २२, पेटको नाप ९० सिएम, बेस्ट हिप रेसियो ०.९, आइडल बडी वेट ७० भन्दा कम कम हुनुपर्छ। आइडल बडी वेट निकाल्न सबैभन्दा सजिलो छ। सेन्टिमिटरमा उचाइबाट सय घटाउँदा आउने अंक आइडल बढी वेट हो। बिएमआइ ३० भन्दा बढी भएमा ओभर वेट भनिन्छ। अधिकांश नेता ओभर वेट भएको अनुमान चिकित्सकको छ।

चिकित्सकका अनुसार पश्चिमीको भन्दा पूर्वीयको भुँडी रोगका दृष्टिले बढी जोखिमयुक्त छ। सिटी स्क्यान गरेर हेर्दा साउथइस्ट एसियामा बस्नेको बोसो आन्द्रा, कलेजोजस्ता अंगको वरपर फैलिएको छ। यस्तो अवस्थामा बिएमआइ कम देखिए पनि मुटुरोगको जोखिम पूर्वीयमा बढी हुन्छ। ‘पश्चिमाको भुँडीमा बोसो बढी छालामुनि (पेरिफेरअल) हुन्छ, हामी पूर्वीयको फैलिएर रहेको (सेन्ट्ररल ओभेसिटी) छ,’ अनिलले भने, ‘पश्चिमाको १०० केजीभन्दा हाम्रो ८० केजी तौल हुनु बढी जोखिम हो।’

अहिले धेरै रोगको औषधि सेवन गरिरहेका नेताले भुँडीमात्रै घटाउने हो भने धेरै कम हुने डा.केसी बताउँछन्। ‘प्रेसर, सुगर, युरिक एसिडका औषधि खाइरहेका छन् भने, तौलमात्रै घटाए पनि अरु औषधि खानुपर्दैन।’

चिकित्सक पनि लामो समय लागेर जमेको भुँडी घटाउन सजिलो भने मान्दैनन्। ‘ठूलो कमिटमेन्ट चाहिन्छ,’ डा.अनिलले भने, ‘क्यालोरी कम खाने र जम्मा भएको क्यालोरी खर्च गर्दै जानुपर्छ।’ सामान्यतः सुगर, मासुजन्य र दूधजन्य खानेकुरामा बढी क्यालोरी हुन्छ, भुँडी घटाउनका लागि हिँड्ने, पर्याप्त व्यायाम गर्नेसँगै कम क्यालोरीयुक्त खानेकुरा, फलफूल, तरकारी, सलाद बढी खानुपर्छ। जसले गर्दा क्यालोरी प्रतिस्थापन हुन सक्छ।

‘हिँड्नु फिट्टु छैन, जे पायो त्यही खान्छन् अनि भुँडी यस्ता छन्,’ डा. केसीले थपे, ‘शारीरिक गतिविधि बढाएर इनर्जी लुज गर्ने सबैभन्दा सजिलो तरिका हो। चिकित्सकका अनुसार सर्जरी र औषधि सेवनबाट पनि बोसो कम गर्न सकिन्छ तर ती राम्रा बाटा होइनन्।

अधिकांश नेताको जीवनशैली निस्त्रि्कय रहेको आफन्त एवं उपचारमा संलग्न चिकित्सक बताउँछन्। प्रधानमन्त्री कोइराला नै कुनै व्यायाम गर्दैनन्। ‘समय नमिलेर हिँड्नै पाइएन भन्नुहुन्छ तर दौडिनेचाँहि गर्नुभएकै छैन,’ बालुवाटार स्रोतले भन्यो, ‘अन्य नेतामध्ये खनाल, दाहाल र नेपाल केही व्यायाम गर्छन् तर भुँडी घटाउने योजना लिएर खाना र व्यायामको सन्तुलन मिलाउँदैनन्।

नागरिकबाट

  •  
  •  
  •