काठमाडौं ६ कात्तिक (ओएनएस) :
हिन्दुहरुको बडा दशैंपछिको दोस्रो महत्वपूर्ण, धार्मिक, सांस्कृतिक पर्व तिहारको तेस्रो दिन आइतबार विहान गाईको पूजा गरिनुका साथै साँझ दीपावली गरी धनकी दवी लक्ष्मीको पूजा आराधना गरिनुका साथै घरघरमा भैलो खेलि मनाइँदैछ । प्रकृति र जीवन–जगतको सम्बन्ध झल्काउने पर्वको रुपमा लिने तिहारलाई रंग र दीपको पर्व पनि भनिन्छ ।
आजका दिन रूपैयाँ, पैसा र अन्य धनदौलतको पूजा गर्नाले धन सम्पत्तिको कहिल्यै दुःख हुँदैन भन्ने जनश्रुति पाइन्छ । त्यसैले लक्ष्मी पूजाका दिन प्रत्येक नेपालीले गाईको गोबरले घर लिपपोत गरी चोखो निधो गर्दछन् र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा र भक्तिपूर्वक घरघरमा लक्ष्मी भित्र्याउँछन् । जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गरून् भने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको धार्मिक विश्वासका आधारमा आजका दिन सम्पूर्ण नेपालीले धनकी देवी लक्ष्मीको पूजा दीपावली गरेर गर्ने परम्परा बस्दै आएको हो ।
दीपावली नगरेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार यस दिन समस्त नेपालीले आ–आफ्नो घर तथा करेसा सफासुग्घर गरी दैलो, सँघार, झ्याल, ढोका, कौसी, अटाली, भर्याङ लगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गर्दैछन् । लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भत्रे गरिन्छ । साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पिठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।
सत्ययुगमा वामन अवतार विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बलीले भगवान्लाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण प्रस्तुत गरेको कुरा पुराणमा पाइन्छ । यस दिन लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी कन्या केटीहरूको पूजा गर्ने चलन पनि छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने विश्वास छ ।
यसै दिन कन्याहरू विभिन्न समूह बनाई घरघरमा भैलो खेल्न हिँड्छन् । यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ ।
इतिहासविद्हरुकाअनुसार ‘भलो होस्’ भन्दै घर घरमा गएर सन्देश दिने चलाकै निरन्तरता भैलो हो । ‘शसभ वचनले राम्रा राम्रा वाक्य मात्र ओकल्दै भलो होस्को साटो यतिबेला भैलो भन्न प्ुगिएको बताइन्छ । लक्ष्मीपूजाकै दिन नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन परेकाले यस दिन उनको स्मृतिमा विविध कार्यक्रम गरी मनाइन्छ । डिल्लीबजारमा रहेको महाकवि देवकोटाको सालिकमा माल्यार्पण गरी विविध साहित्यिक कार्यक्रम गरिन्छ ।