‘लक्ष्मीप्रसादका जीवनमा धेरै थाहा नपाइएका पाटाहरू रहेछन्’

58
  •  
  •  
  •  

पछिल्लो एक महिनामा पढेका थुप्रै किताबमध्ये मलाई नरेन्द्र प्रसाईंद्वारा लक्ष्मीप्रसाद देवकोटाबारे प्रभावित गर्यो । मैले लक्ष्मीप्रसादबारे जति जानेको छु, त्योभन्दा उनको जीवनमा धेरै थाहा नपाइएका पाटाहरू रहेछन् ।

डा.अरुणा उप्रेती

यो किताब पढ्दा देवकोटा ‘गरीब’ थिएनन् तर विभिन्न कारणले गरीब हुन पुगेछन् भन्ने थाहा पाएँ । अत्यन्त मेधावी लक्ष्मीप्रसादको ‘मेधावी’पनबाट विभिन्न देशका विद्वानहरू प्रभावित थिए भन्ने कुरा त थाहा थियो । यद्यपि, यो किताबले कुन देशमा, कसरी उनको विद्वताको प्रशंसा भयो भन्ने पढ्दा यस्तो विद्वान मान्छेलाई हामीले चिन्न सकेनौं भन्ने लागिरहृयो ।
भारतका प्रसिद्ध लेखक मुन्सी प्रेमचन्द्रले पनि मेधावी भइकन दरिद्र जीवन बिताउनुपरेको ‘कथा’ पढ्थ्यौं हामी । नेपालमा लक्ष्मीप्रसादले पनि विभिन्न कारणले कहिलेकाहीँ खान नै नभएको अवस्थामा भोग्नुपरेको कथा पढ्दा मनमा लाग्यो, ‘मेधावी’हरूको नियती नै यही हो कि !
लक्ष्मीप्रसाद अति मेधावी भएर पनि परिस्थतिले उनलाई बनारस भाग्नेसमेत बनाएको कुरा पढ्दा हुरुक्क मन भयो । नेपालबाट भारतमा कांग्रेससँग काम गर्न उनलाई लगियो । त्यहाँ उनले ‘युगवाणी’ निकाल्न अति मेहनत गरे । तर, उनको मेहनतलाई त्यहाँका नेपाली कांग्रेसका साथीहरूले वास्ता नगरेको र खानसमेत पैसा नभएको देखिन्छ । कृष्णप्रसाद भट्टराईजस्ता सन्त व्यक्तिले उनलाई वास्ता गरेनन् भन्ने पढ्दा, के साँच्चीकै यस्तो भयो होला र भन्ने मनमा प्रश्न आइहाल्यो । धेरै मेहनत गरेको, धेरै चुरोट खाएको र राम्ररी खान नपाउँदा देवकोटा बिरामी परेको कुरा थाहा भयो ।


देवकोटाको बनारस अवस्थाबारे उनको भाञ्जा केशवचन्द्र गौतमले भनेका रहेछन्, ‘मेरो साहिँला मामाले दूधविनायकको पेटीमा मैलौ कछाड लगाएर बसेको दृश्य कहिले भुल्न सक्दिन । उहाँ त्यस समयमा बाटोमा हिँड्ने चिनेजानेकासँग एउटा बिँडी दिनुहोस् न हजुर भन्दै माग्नुहुन्थ्यो (पृष्ठ २९०) ।
यसरी एक प्रमुख राजनीतिक दलका नेताले देवकोटाको अपमान गरे । विद्वान् लक्ष्मीप्रसादको घरको आर्थिक व्यवस्थाचाहिँ त्यति राम्रो रहेनछ भन्ने पनि बुझिन्छ । श्रीमति धार्मिक भएर एक गुरुका पछि लागेर घरको पैसा गुरुलाई चढाउँदा, घरको वास्ता नगर्दा बिस्तारै घरचाहिँ ‘पाटी’जस्तै बन्न गएको देखिन्छ । श्रीमतिले धार्मिक गुरुलाई पैसा दिन थालेपछि घर अस्तव्यस्त भएको पढ्दा कसरी यस्तो हुनगयो भने अचम्म लाग्छ । छोरा बिरामी हुँदा उपचार गर्न नपाएको दुःख, धेरै पढेर पनि जागिर नपाउँदाको दुःख, ट्युसन पढाउँदै १६-१८ घण्टा काम गरेर परिवार चलाएको दुःख हुँदा पनि लक्ष्मीप्रसादले कसरी त्यति धेरै रचना गर्न सके अचम्म लाग्छ !
यसरी हेर्दा उनी मानसिक तनावबाट पीडित भएर सायद ‘डिप्रेसन’को रोगी भए होलान् । देवकोटालाई मानसिक तनावले घेर्न थालेपछि उनी चिच्याउने, कराउने गर्दथे । उनको मानसिक स्थिति निकै बिगि्रएपछि सुरविहीन भएर हिँड्न थाले । चूडामणि बन्धुले लेखेका छन्, ‘घरका मान्छेले उनलाई बौलाहा भनेको र त्यस्तै व्यवहार गरेको महाकविले धेरै पटक अनुभव गरेका थिए (पृष्ठ २५४) ।
श्यामदास वैष्णवका अनुसार त्यतिबेला (अर्थात होश नभएको बेला) देवकोटाको मुख पनि कालोनीलो देखिन्थ्यो । अनि थु-थु गर्दै ‘यो समस्त ब्रम्हाण्डलाई नै क्वारामक्वाराम चपाउँजस्तो लाग्छ’ भन्नुहुन्थ्यो (२५५) । देवकोटा ‘पागल’ भए भनेर उनलाई भारतको राँची पुर्‍याइयो ।
सन् १९५५ मा १ सय ५५ दिन राँची नर्सिङ होममा देवकोटाको उपचार भयो । मानसिक रोग विशेषज्ञ डा. वर्कले देवकोटालाई सम्मान गरेर भनेका थिए- ‘देवकोटाजस्तो मान्छे नेपालमा जन्मने नै होइन । उनी त्यहाँ जन्मेर नै पागलको गन्तीमा आए । उनी नेपालमा जन्मनु भूगोलको गल्ती हो (२५९) ।
देवकोटालाई मानसिक समस्या थियो भन्ने कुरा बुझिन्छ तर अपशोच त्यो बेलामा उपचार गर्न अहिलेजस्तो राम्रो औषधिमूलो थिएन । यो नेपालीहरूको दुर्भाग्यजस्तो लाग्छ मलाई । देवकोटाको बारेमा, उनको व्यक्तिगत जीवन, पारिवारिक जीवन, उनलाई ठूला भनेका व्यक्तिहरूले गरेको अपमान, उनको अन्तिम अवस्थामा क्यान्सरले गर्दा भएको पीडाबारे बुझ्न यो किताबले धेरै मद्दत गर्न सक्छ ।
उनी १४ भाषा बुझ्थे भने कविता लेख्न र सुनाउन जहिले पनि तयार रहने बानीबारे कीर्तिनीधि विष्टले भनेका रहेछन्, ‘उहाँ एक व्यक्तिलाई कविता सुनाउँदा पनि एक विशाल जनसमूह भनिठानेर उत्सुकतापूर्वक र जोशिलो पारामा सुनाउने गर्नुहुन्थ्यो (पृष्ठ २८१) ।
देवकोटाका कृतिको बारेमा पनि यस किताबमा चर्चा गरिएको छ । थुप्रै सन्दर्भस्रोतहरू प्रयोग गरेर लेखिएको यो किताबले एक महान् कवि, एक असल व्यक्ति तर देशले चिन्न नसकेको व्यक्तित्वबारे धेरै कुरा थाहा हुन्छ । यो किताब पढेपछि देवकोटाका कविता फेरि पढ्ने जमर्को गर्दैछु म ।


  •  
  •  
  •