लक्ष्मी हत्या प्रकरणः मलमूत्र खुवाएको विषयमा प्रहरीले गराएको थियो मिलापत्र

156
  •  
  •  
  •  

काठमाडौं, २७ मंसिर ।
काभ्रेको सानो बाङथलीकी लक्ष्मी परियारको हत्या भएको समाचार प्रकाशित भएपछि सो विषयमा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेको छ । तर, एउटी दलित महिलालाई सार्वजनिक स्थलमा बाँधेर मलमूत्र खुवाएर छातीमा लात्ताले हानेको आरोप लागिसकेपछि पनि दोषीमाथि छानबिन नगरी मिलापत्र गर्न प्रहरी किन अग्रसर भयो भन्ने प्रश्नको जवाफ अहिलेसम्म मिलेको छैन ।

गत मंगलबार स्थानीय शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले बोक्सी भन्दै मलमूत्र खुवाएर कुटपिट गरेका थिए । स्थानीय सूर्योदय माविका सामाजिक शिक्षा पढाउने शिक्षक हरि लामाको नेतृत्वमा मंगलबार स्कूलकै खेलमैदानमा नाम्लोले बाँधेर कुटपिटपछि मलमूत्र खुवाएपछि छातीमा लात्तीले हानेर घाइते बनाइएकी लक्ष्मीको शुक्रबार बिहान मृत्यु भएको थियो । दुई वर्षको भाइ रोएपछि दूध खुवाउन स्थानीयको कोदोबारीमा पुगेकी आमामाथि भएको दुव्र्यवहारबारे उनका १० वर्षीय छोरा सुमनले दिएको बयान आइतबार नयाँ पत्रिकामा प्रकाशित भएको थियो ।

आइतबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुख सहकुल थापाले लक्ष्मीलाई कुटपिट गरेको दिनदेखि हत्या र त्यसपछि भइरहेको अनुसन्धानबारे जानकारी गराए । मलमूत्र खुवाएको र कसले हत्या गरेको भन्ने विषयमा अनुसन्धान जारी रहेको एसपी थापाले जानकारी दिए । प्रहरीले मलमूत्र खुवाएको विषयमा कुरा बाझिएको बताएको छ ।

तर, पत्रकार सम्मेलनमा लक्ष्मीकी सासू विष्णुकुमारीले घटनामा प्रहरीकै कमजोरी भएको भन्दै आक्रोश पोखिन् । ‘प्रहरीलाई बुहारीले मलाई हीरा सर र उनकी आमा काइँलीमायाले दिसा खुवाएको र बोक्सी भन्दै कुटेको बताए पनि प्रहरी चौकी चौबासका इन्चार्ज प्रेमपुकार चौधरीले महिलासम्बन्धी कुनै पनि विषय आफूले नहेर्ने बताउनुभयो,’ उनले भनिन्, ‘उहाँले गाउँमै मिल्नुहोस् भन्दै सही गर्न लगाउनुभयो । हीरा सरले हाम्री बुहारीका विषयमा उल्टै प्रहरीमा उजुरी दिएका रहेछन् । त्यही केसमा हामीले माफी मागेको र हिसाबकिताब गरेर ६ हजार रुपैयाँ दिनुपर्ने भन्दै कागज गरिएको रहेछ ।’ उनले मलमूत्र खुवाएर दुव्र्यवहार गरेको तेस्रो दिन बुहारी मृत अवस्थामा फेला परेको बताइन् ।
नयाँ पत्रिकाबाट


  •  
  •  
  •