नेपाली जनतालाई भूकम्पको प्रेमपत्र

189
  •  
  •  
  •  

Gamnameप्रिय नेपाली जनता, गुर्र ! अर्थात् धेरै धेरै माया एवं शुभाशिष् ।

गएको १२ वैशाखदेखि निरन्तर तिमीहरूले मेरो आलोचना गर्दै र सराप्दै आएकामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यद्यपि, म तिमीहरूले जति गाली गरे पनि रिसाएको छैन । मेरो फेसबुकको वालमा र ट्वीटरमा पनि मलाई गालीगलौज गर्ने, सरुवा गरिदिने, स्पष्टीकरण सोध्नेजस्ता ठट्टाहरू आइरहेका छन् । भूकम्पले घरबार लडायो, दरबार लडायो, धरहरा ढाल्यो, मान्छे मार्‍यो इत्यादि भनेर मलाई दोष थोपरिँदै छ । भोजभतेरमा, भेटघाटमा, घाटमा, पालमा, अस्पतालमा, अफिसमा जतासुकै मेरो बदख्वाइँ गरिँदै छ ।

हाँसउठ्दो कुरा त के छ भने एक आनामा बनेको आठ तले घरका घरबेटीहरू, दलदलेमा बनेको २० तले घरका साहूहरू पनि मलाई नै धारेहात लगाइरहेका छन् । हुँदाहुँदा नगरपालिकाको इन्जिनियर पनि मलाई नै गाली गर्दै रहेछ । उसको घर मैले बांगो पारिदिएँ रे ! आफ्ना गल्ती ढाकछोप गर्न अरूलाई दोष लगाउने तिमीहरूको बानी कहिले जान्छ हँ ?

सोझासाझा, अशिक्षित र दूरदराजका मानिसहरू कुरा नबुझेर मसित रिसाउनु ठीकै हो । म आएर गएपछि तिमीहरू कति घरबारविहीन भयौ । कतिले आफन्त गुमायौ । कतिको पालको बास भयो, कतिको आँसुको गाँस भयो । तर, यसमा मेरो के दोष ? मैले त तिमीहरूलाई, तिमीहरूको कुम्भकर्णे सरकारलाई, नीति निर्माताहरूलाई र नेताहरूलाई चेतावनी मात्र दिएको हुँ । म साँच्चिकै आएको होइन । साँच्चिकै आएको भए यत्रै मात्र आउँथेँ ? म मध्यरातमा आएको भए के के हुन्थ्यो ? तिमीहरूले अनुमान गरेकै छौ त !

हे नेपाली जनताहरू ! खाँटी कुरो के हो भने तिमीहरूले मेरो अपमान नगरेको भए मैले तिमीहरूको एउटा रौँ पनि झार्न सक्ने थिइनँ । १९९० सालमा तिमीहरूलाई मैले सचेत गराएँ, ०४५ सालमा सम्झाएँ, बीचबीचमा पटकपटक झस्काएँ । तिमीहरू कानमा तेल हालेर घर नामको धराप थापेर त्यसैमा बस्ने अनि मलाई गाली गर्ने ? नपरी नचेत्ने र चेते पनि तुरुन्तै बिर्सने तिमीहरूको नानीदेखिको बानीले गर्दा तिमीहरूले दु:ख पाएका हौ, मैले बदनामी सहनु परेको हो ।

ल हेर त, कमिलो जत्रो जमिनमा जिराफ जत्रो घर ठड्याउने अनि मैले यसो कान्छी औँलो हल्लाउँदा भूकम्पले ढाल्यो भनेर मैतिर औँलो ठड्याउने ? मुसाका ढाडमा हात्ती अड्याएर चटक देखाउने अनि मैले लामो सास फेर्दा हात्ती लड्यो भनेर मलाई गाली गर्ने ?

कुरा बुझ, म तिमीहरूलाई मार्न होइन, सातो झार्न मात्र आएको हुँ । घरबाट भगाउन होइन, भित्रैदेखि जगाउन आएको हुँ । भूगर्भमा नमिलेका प्लेट मात्र होइन, तिमीहरूको मन र पेट पनि मिलाउन आएको हुँ । त्यसैले मलाई गाली गर्न छाडेर देशको पुन:निर्माणमा लाग ।

विपत्तिलाई सम्पत्तिमा परिणत गर । राहतका सामग्री झ्याप पारेर सम्पत्ति बनाऊ भनेको चाहिँ होइन नि फेरि !

म पुन: सचेत गराउँछु, आइन्दा घूस खाएर वा खुवाएर आफ्नै काल निम्त्याउने घर कसैले नबनाउनू । जिजुबाजेका पालामा ढुंगा र माटो थुपारेर बनाएको धमिराले नै लडाउन लागेको घरमा बसेर नघुर्नू । आयु पुगेको घर आफैँ भत्काउनू । मैले भन्द्या छु, मेचीदेखि कालीसम्मका नेपाली हो, आफ्नो थैलीको मुख आजैदेखि बाँध्न थाल, पछि मलाई दोष नलगाउनू । गुर्र ! अर्थात् धन्यवाद

डा. रविन्द्र समीरको फेसबुक पेजबाट


  •  
  •  
  •