सुशील दाइ सत्तामा पुगेपछि उनीहरू आए

104
  •  
  •  
  •  

काठमाडौं २५ असोज ।
लक्ष्मण ढकालले प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालासँग १८ वर्ष संगत र ११ वर्ष निकट रहेर काम गरे । तर, कोइराला परिवारका सदस्यभन्दा पनि विश्वासिला मानिएका ढकाललाई केही समयअघि स्वकीय सचिवबाट बर्खास्त गरियो । ढकालले कोइरालाको घरायसी खर्च धान्नेदेखि उनलाई पार्टी सभापति, प्रधानमन्त्री बनाउनसमेत आफ्नै भूमिका रहेको दाबी गर्दै आएका छन् । उनका आफन्तहरू दु:ख र आपत्मा नआए पनि सत्तामा पुगेपछि कोइरालासँग नजिकिएको र आफू बर्खास्तीमा परेको उनको बुझाइ छ :

मोरङवासी भएकाले कोइरालासँग जोडिएँ
बुबा कांग्रेसमा क्रियाशील हुनुहुन्थ्यो । ४० को दशकको सुरुवाततिर गाउँमा २०–२५ घरमात्र कांग्रेसका थिए । पार्टी प्रतिबन्धित भए पनि गोप्य रूपमा संगठनका कामलाई सघाउँथेँ । कांग्रेस नीतिअनुसार नै बुबाले ४३ सालमा पञ्चायतको चुनावमा भाग लिनुभयो । त्यतिखेरदेखि नै म पनि राजनीतिमा सक्रिय भएँ । ४६ सालमा बहुदल आयो । गणेशमानजीको घरमा राष्ट्रिय सम्मेलन थियो, म त्यसमा आएको थिएँ । सानै भए पनि बुबासँग काठमाडौं आएको थिएँ ।

म पनि मोरङवासी, कोइरालाहरू पनि मोरङकै । बिपी, गिरिजाहरू हुर्कनु–बढ्नु, पढ्नुभएको ठाउँ । सुशील कोइराला पनि त्यहीँ बस्नुभयो । कांग्रेस भएकै कारण उहाँहरूसँग जोडिने मौका मिल्यो । कांग्रेसहरू थोरै थिए, त्यसैले पनि उहाँहरूसँग जोडिने मौका पनि मिल्यो । मनोहरि बराल गिरिजाबाबुको नजिक हुनुहुन्थ्यो उहाँसंग बुबाको राम्रो थियो । ४८ सालमा काठमाडौं आएँ । म डाक्टर बन्न चाहन्थेँ । गिरिजाबाबुले भारतमा पढ्न जाने व्यवस्था मिलाइदिन्छु भन्नुभयो । तर, कोइरालाहरूकै डिजाइनमा अरूलाई नै पठाइयो । यसले मलाई रिस उठेको थियो । भारतीय दूतावासमा पनि फारम भरेको थिएँ । पढ्न भारत जान नपाएपछि पहुँचवालाहरूका लागि मात्र अवसर रहेछ भन्ने लाग्यो । त्यसैले, अब राजनीतिमा मै लाग्छु भन्ने प्रण गरेँ । म किसानको वर्गबाट आएको थिएँ, तर अवसर त टाठाबाठाका लागि मात्र रहेछ । सुकिलामुकिलाको मात्र नभई सामान्य मान्छेले पनि राजनीति गर्नुपर्ने रहेछ भनेर यता लागेँ । त्यसैले पढाइ छाडेर राजनीति रोजेँ ।
५० सालमा मोरङ–काठमाडौं सम्पर्क समितिको अध्यक्ष भएँ । त्यसवेला गिरिजाबाबुकहाँ गइरहन्थँे, मलाई कुनै रोकतोक पनि थिएन । चित्त नबुझेको कुरा गिरिजाबाबुका अगाडि राख्न डराउँदैनथेँ । कुनै पनि विषयमा यो किन भएन ? कसरी भयो भनी प्रश्न गर्थेँ ।

गिरिजाबाबुसँग नजिक हुँदै गर्दा ०५२ सालदेखि सुशील कोइरालासँग नजिक भएँ । यसो हेर्दा उहाँलाई एक्लो देखेँ, कोइराला परिवारबाटै उहाँमाथि ‘एट्याक’ पनि थियो । उहाँ कुनै कुरामा लोभ नगर्ने, फाइदा नलिने भएरै उहाँमाथि आक्रमण भएको होला ? मैले त्यतिखेरै मोरङमा अबको सभापति सुशील कोइराला नै हुनुहुन्छ भनेर अन्तर्वार्ता नै दिएँ । नेविसंघको केन्द्रीय समितिमा काम गरेको थिएँ । तीनपटक तदर्थ समिति बन्दा म पनि अध्यक्षको लाइनमा थिएँ । तर, मोरङको भएकै कारण मलाई हुन दिइएन ।

सत्ता प्राप्त नगरेसम्म सम्बन्ध सुमधुर
सुशील दाइ पहिले बुद्धनगरको पार्टी सम्पर्क कार्यालयमा बस्नुहुन्थ्यो । अनि केही समय भान्जाको घरमा बस्नुभयो । जो अहिले उहाँको पिए बन्नुभएको छ । घोषणा त गरिएको छैन । तर, रमेश शर्मालाई नै स्वकीय सचिव बनाइएको छ । बुद्धनगरमा ५६ सालदेखि ६१ सम्म बस्नुभयो ।

उहाँसँग सुरुदेखि बस्दा नै मेरो सम्बन्ध सुमधुर रह्यो । मानिसहरूले उडाएर भन्थे, ‘यो पनि अब जोगी भएर जान्छ ।’ किनकि, सुशील कोइराला सत्तामा हुनुहुन्थ्यो, त्यागी र इमानदार छवि थियो । सुशील कोइरालाकहाँ पुग्लान् र के गर्लान् र भन्ने मानिसहरूलाई लाग्थ्यो । गिरिजासँग लागेर त केही भएन, केही नभएका सुशीलसँग लागेकाले यसले केही गर्न सक्दैन भन्थे । पावर, शक्ति, पैसा, सत्ता केहीको अनुभव पनि छैन, अब लक्ष्मण ढकालको बिजोग हुन्छ पनि भने ।

बेकारमा बिहे
उमेर पुगे पनि सुशील दाइको संगतले बिहे गरेको थिइनँ । सुशील दाइले पनि तपाईं पनि अब बिहे नगर्नुहोस् भन्नुहुन्थ्यो । मलाई पनि त्यस्तै लागिसकेको थियो । केही कुरामा समानता थिए । तर, उहाँको र मेरो चरित्र अलि फरक थियो । म केही गरिहालौं भन्ने, उहाँ होइन पर्खौँ भन्ने । झन्झट हुन्छ बिहा नगर्नुहोस् भन्नुभएको थियो । तर, तीन वर्षअघि ३७ वर्षको उमेरमा अचानक मेरो विवाह भयो । आमा बिरामी हुनुहुन्थ्यो, तैँले विवाह गरिनस् भने म अप्रेसन नै गर्दिनँ भन्नुभयो । अनि, दुई दिनमा नै विवाह गरेँ ।

बिहेपछि काठमाडौं आएँ । श्रीमतीका अगाडि नै सुशील दाइले भन्नुभयो, ‘लुकेर जानुभयो अनि बेकारमा बिहे गर्नुभयो, अब कसरी श्रीमती पाल्नुहुन्छ ?’ जवाफमा भनेँ, ‘होइन सुशील दाइ परिबन्दमा परेर विवाह गरेँ ।’ राजनीतिमा लागेको मान्छेले श्रीमती पाल्न सक्दैन भनेर बिहा गर्न हुँदैन भन्ने उहाँको आशय थियो ।

सत्ताका कारण टुट्यो सम्बन्ध
गिरिजाबाबु ०६६ चैत ७ गते बित्नुभयो, हामी त्यसै महिनाको २३ गते महाराजगन्जस्थित उहाँ बसेकै घरमा सर्‍यौँ । संगत भएको १८ वर्ष भयो । तर, पछिल्लो ११ वर्षदेखि उहाँको स्वकीय सचिवको हैसियतमा काम गरेँ । ११ वर्षदेखि घोडाको टापजस्तै बनेर गरेको सहयोग टुटेको छ । अरू धेरै घटनाक्रम हुँदा पनि टिकेका थियौँ । तर, सत्ताका कारण उहाँसँगको सम्बन्ध टुट्यो ।

उहाँका गल्ती, कमजोर हुँदा सधैँ औल्याउँथेँ, तपाईंलाई फसाउलान् भनिरहन्थेँ । तर, उहाँ सत्तामा पुगेपछि मैले नेता–कार्यकर्तालाई उहाँसँग पहुँच नबनाएको प्रसंगबाट झमेला सुरु भयो । पहिलो संविधानसभा निर्वाचनमा कांग्रेस दोस्रो पार्टीमा खुम्चन पुग्यो । तर, सुशील कोइराला सभापति भएसँगै उहाँमाथि आशा पनि बढेको थियो । मुलुकको पुरानो र जेठो प्रजातान्त्रिक पार्टीमाथि यस्तो आशा बढ्नु स्वाभाविक पनि हो । त्याग, तपस्यामा पनि उहाँ धेरै परिचित मान्छे । त्यसैले उहाँमाथि धेरै अभिभारा थिए ।

परिवारको नामले हिजो गिरिजाबाबु पनि अप्ठ्यारोमा पर्नुभयो भनिरहन्थेँ । हिजोका प्रयोग फेल भएको कुरा गर्थेँ, तर उहाँ भन्नुहुन्थ्यो, ‘त्यस्तो हुँदैन जे हुन्छ राम्रो हुन्छ, तपाईंले राम्रो गरिरहनुभए । दायाँबायाँ हुँदैन । एउटा लिमिटेसन राख्नु । परिवारका सदस्यको हकमा राखेको लिमिटेसन पनि ठीक हो’ भन्नुहुन्थ्यो । परिवारका सदस्यलाई लिमिटेसनमा राखेर जनतलाई केही दिनुपर्छ भन्ने मेरो सुझाब थियो । जनताका शान्ति, संविधान, विकासका अपेक्षा छन् त्यसलाई पूरा गर्न पनि उहाँको व्यक्तित्व लोकप्रिय होस् भन्ने चाहेँ । तर, उहाँ स्वार्थीहरूको घेरामा पर्नुभयो र यस्तो अवस्था आयो ।

परिवारसँग मेरो लफडा होइन । फेरि उहाँनिकटका परिवार पनि यहाँ थिएनन् । सबै अमेरिकामा थिए । कुनै विवाद थिएन । उहाँनिकटका सबै अमेरिकाका पिआर होल्डर हुन् । अमेरिकाकै नागरिक भइसकेका छन् । तर, उनीहरू पहिले आएनन्, सुशील दाइलाई वास्ता पनि गरेनन् । जब सत्तामा सुशील दाइ पुग्नुभयो, तब उनीहरू आए । तर, अहिले नै उनीहरू आउनुपर्‍यो ? किन वास्ता भयो ? सत्ताको स्वार्थ मात्र हो भने पहिले नै किन आएनन् ? अहिले किन आए ?

अहिले जनता र कार्यकर्ताको नजरबाट हेर्दा देखिएको अवस्था नै यही हो । मेरो गल्ती, कमजोरी भएको भए म सुधारिहाल्थेँ नि । मेरो कारणले कोइराला परिवारको हिस्ट्री नै सकाउन लागेको हो भने राजीनामा गरिदिन्थेँ । उहाँ सभापति बनेदेखि ममाथि ‘एट्याक’ सुरु भयो । सुशील कोइरालासँग को छ भन्दा लक्ष्मण ढकाल छ भन्थे । त्यो कुरा उनीहरूलाई पचेन होला ?

‘सच्चिएर आउनुहोस्’ भन्दै हिँडेँ
विभाग गठनका सन्दर्भमा मेरो उहाँसँग फरक धारणा थियो । हामी पोखरमा थियौं । विभाग गठनको जिम्मा पाएकाले राति नै घोषणा गरे । धेरै सम्पर्क हुने भएकाले उहाँभन्दा अघि मैले नै त्यसको जानकारी पाएँ । गलत तरिकाले विभाग गठन भएको छ, अब सुशील दाइको इमेज नै खत्तम हुन्छ भन्ने धेरै भए । र, भोलिपल्ट बिहान गाडीमा कार्यक्रममा जाँदै गर्दा भनेँ, ‘सुशील दाइ विभाग गठन प्रक्रिया गलत भयो । यो सच्चिएन भने तपाईंको र मेरो राजनीतिक यात्रा टुंगियो ।’

त्यसैले सबैलाई न्याय गर्नुपर्छ भन्ने मेरो मान्यता थियो । त्यही कुरामा मेरो विवाद भयो । र, उहाँलाई भनेँ, ‘सच्चिँदैन भने म काठमाडौं लागेँ । मसँग सम्बन्ध रहिरहने हो भने, तपाईं मसँग सम्बन्ध सुधार गर्ने हो भने सच्चिएर आउनुहोस् भन्दै हिँडेँ । उहाँ तीन दिनपछि काठमाडौं आउनुभयो । लक्ष्मण ढकालले सुशील कोइरालालाई छोडेर गयो भन्दै मुलुकभर तरंग पैदा भयो । म सही थिएँ, केही बिराएको थिइन्ँ । उहाँलाई ठीक लागेको भए सशांकको घर जान सक्नुहुन्थ्यो । रातारात खाली गराइएको, रंगरोहन गरिएको थियो । २४ घन्टामा घर खाली गराउने नाटक मञ्चन गरिएको थियो । तर, जानुभएन । पोखराबाट फर्किएपछि महाराजगन्जमा पत्रकार सम्मेलन गर्दै अब सशांकको घरमा जान्छु भन्ने घोषणा गरे पनि उहाँ जान सक्नुभएन । मसँग कुरा मिलेपछि उहाँ नजानुभएको हो । मलाई लोभ हुन्थ्यो, मेरो गल्ती नै हुन्थ्यो भने, गल्ती भयो हजुर भनेर खुट्टा समाइहाल्थें नि म पनि आफ्नो ठाउँमा ठीक थिएँ, त्यसैले डराउनुपरेन । यसले सुशील कोइरालाको त्याग तपस्यालाई न्याय गर्दैन, मूल्य–मान्यताको राजनीतिलाई पर धकेल्छ भन्ने मेरो मान्यता थियो । धेरैले विश्वास गरी उहाँको मूल्यांकन र क्षमता हेरिरहेका थिए ।

‘तपाईंलाई सिध्याउने खेल भइरहेको छ, सचेत हुनुहोस्’ भनेपछि पाँच दिनपछि उहाँले गल्ती महसुस गर्नुभयो । घर सर्नुपर्दाको कारणबाट जाने गलत म्यासेजले उहाँ पछाडि हट्नुभयो । भन्नुभयो, ‘लक्ष्मणजी गल्ती, कमजोरी भएछ । अब सुध्रिएर काम गर्नुपर्छ ।’

भारतका प्रधानमन्त्री दिनदिनै पपुलर हुँदै गएका छन् । बिहा गरेकी श्रीमतीलाई गुजरातमा राखेका छन् । मन्त्रिपरिषद्मा आफ्नै परिवार र नजिकलाई छनोट नगर्ने नीति लिएका छन् । नेपाल आउँदा पनि आफ्नो घरमा काम गर्ने नेपालीलाई उनका अभिभावकसँग मिलन गराएर गए । के हामीले यसबाट केही नसिक्ने ? मैले यो भनिरहँदा मलाई दिनुपर्छ भन्ने होइन ।

आइएसआई एजेन्टको आरोप
सुशील कोइरालालाई परिवारकै सदस्यले आइएसआईको एजेन्ट भन्न पछि परेनन् । करोडौँ रकम खायोसम्म भने । अहिले तिनै मान्छे बालुवाटारमा बसेका छन् । के उहाँ आइएसआईको एजेन्ट हो ? उहाँले करोडौँ रकम खानुभएको छ ? यस्तो कपोलकल्पित कुरा गर्ने ? पत्रिकामा छपाउने, प्रचार गर्नमा समेत कोइराला परिवारकै सदस्य तम्सिए । त्यतिखेर सिंगो कोइराला परिवार उहाँविरुद्ध लागेको थियो, जतिखेर गिरिजाबाबु सत्तामा आसीन हुनुहुन्थ्यो । गिरिजाको उत्तराधिकारीको रूपमा अरूकै प्रचार थियो । त्यसैले गिरिजाबाबुलाई अंकुश लगाएर विधान बनाइएको होइन ? आखिर खोइ आइएसआईको एजेन्ट प्रमाणित भएको ? त्यसैले राजनीतिमा धैर्यता हुनुपर्छ भनेको हो । मैले त सुशील कोइरालाको इतिहास जोगियोस् भनेर लागेको हुँ । उहाँको इतिहास जोगिँदा कांग्रेसको इतिहास जोगिन्छ । जसरी राजनीतिमा आउनुभएको थियो । सोही त्याग र इमानको राजनीतिबाट बिदा हुनुहोस् भन्ने लागेको हो । इतिहासमा नाम रहोस्, जनता र देशले सम्झिऊन् भन्ने मेरो मान्यता हो ।

विवेकमा लागेको बोलिरहेको छु । अब पनि बोल्छु । उहाँले मलाई बर्खास्तीको चिठी दिन पनि आनाकानी गर्नुभयो । चिठी नदिए पत्रकार सम्मेलन गर्छु भनेँ । तपाईंसँग परिवार छन्, तपाईंलाई परिवार नै चाहिने रहेछ, अप्ठ्यारो परेका वेलामा सम्झनुहोस्, म सहयोग गर्छु, खबर गर्नुहोला भन्दै बिदा भएँ ।

अप्ठ्यारो पर्दा सहयोग गर्छु । म फेरि जोडिन्छु भन्ने काल्पनिक कुरा गर्न चाहन्नँ । राजनीतिमा जुनसुकै कुरा सम्भव छ । उहाँसँगै काम गरेँ, म पनि सार्वजनिक मान्छे भइसकेँ । महासमिति सदस्य छु । हामीले पनि लामो जीवन राजनीतिमा समर्पण गर्न बाँकी नै छ ।

धमिजा, लाउडामा मुछिएकालाई रोक्न खोजेकै हो
सुशील दाइलाई पार्टी सभापतिदेखि प्रधानमन्त्री बनाउँदासम्म मेरो नै भूमिका रह्यो । अरूको पनि सहयोग रह्यो होला । तर, अरू सदस्य कहाँ थिए ? मैले कोइरालाहरूलाई मात्र पहुँच नबनाएको आरोप छ । अरूलाई त होइन नि । फाइदा लिन खोज्ने सत्ताको दुरुपयोग गर्न खोज्नेलाई बाहिर राख्न खोजेकै हो । त्यही भएर त उहाँ आज ‘क्लिन’ देखिनुभयो नि । धमिजा, लाउडा काण्डमा मुछिएकालाई रोक्न खोजेकै हो । ती त नमुना मात्रै हुन् । मेरो प्रभाव र पहुँचबाट कोइराला परिवारका सदस्य नै डराएजस्तो लाग्यो । महाधिवेशनले कसको के हैसियत हो भन्ने छिनोफानो गरिदिन्छ । उहाँको समयमा संविधान जारी होस्, उहाँको स्वास्थ्यलाभको कामना पनि गर्छु । तर, उहाँको घेरा राम्रो छैन । राम्रो चस्मा लगाएर हेर्न अनुरोध गर्छु ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •