काठमाडौ, १५ भदौ(ओऐनएस) : सभासदहरुले संविधानको मस्यौदामा संशोधन प्रस्ताव दर्ता गराउन थालेका छन् । सोमबार ५ ओटा प्रस्ताव दर्ता भएको संविधानसभा सचिवालयले जानकारी दिएको छ ।
संविधानसभाले १९ गतेसम्मका लागि संशोधन प्रस्ताव दर्ता गराउन सभासद् तथा राजनीतिक दललाई समय तोकेपछि ती प्रस्ताव दर्ता भएका हुन् । ठूला दलले संस्थागत रूपमा मात्रै दर्ता गराउन निर्देशन दिएकाले साना दलका सभासदहरूले मात्रै दर्ता गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) समाजवादी जनता पार्टीले फरक मत दर्ता गराएको संविधानसभा सचिवालयले जनाएको छ ।
राप्रपाले धर्म निरपेक्षता हटाएर सनातन धर्म उल्लेख गर्नुपर्ने विषयमा संशोधन प्रस्ताव दर्ता गरेको छ । राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक)ले नेपालको राष्ट्रिय झन्डा परिवर्तन गर्नुपर्ने, राष्ट्रिय जनावर गैँडा राख्नुपर्ने, नागरिकता प्रदान गर्ने प्रावधानमा आमा र बाबु भनेको स्थानमा आमा बाबु उल्लेख गर्नुपर्ने विषयमा संशोधन प्रस्ताव दर्ता गराएको छ ।