बलात्कारीलाई नपुंसक बनाउने कानुन बनाउन संसदीय समितिको निर्देशन

354
  •  
  •  
  •  

काठमाडौं, ११ चैत (ओएनएस) : संसदीय समितिले बलात्कारीलाई नपुंसक बनाउने कानूनी व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिको आजको बैठकले बालिका बलात्कारमा संलग्नलाई केमिकल क्यास्ट्रियसन मार्फत नपुंसक बनाउने कानूनी व्यवस्था गर्न निर्देशन दिएको हो ।

हरेक वर्ष बलात्कारका घटनामा बृद्धि भैरहेको र बलात्कारीलाई फाँसीको सजाय दिने कानुन बनाउन दबाब आइरहेका बेला समितिले समितिले विद्यमान ऐनमा समयानुकुल संशोधन गरी फाँसीको बिकल्पमा नपुंशक बनाउने कानुन तर्जूमा गर्न सरकारलाई निर्देशन दिएको छ । नेपालमा मृत्युदण्डको कानुन नभएको र पीडितका तर्फबाट फाँसीको सजाय दिनु पर्ने माग आइरहेका बेला त्यसको विकल्पमा यो कानुन बनाउन सकिने उनको भनाइ छ ।

सभापति रञ्जु ठाकुरले भनिन्, ‘म कानुन व्यवसायी पनि भएकाले धेरै देशमा केमिकल क्यास्ट्रियसन विधिको प्रयोग गरेर बलात्कारीलाई नपुंशक बनाउन सकिने कानुन रहेको पाएँ । नेपालमा बालिका बलात्कारका घटना दिनहुँ बढीरहेको सन्दर्भमा पीडितका तर्फबाट फाँसीको सजाय माग भैरहेको छ । फाँसीको कानुन नभएकोले बलात्कारीलाई केमिकल प्रयोग गरेर नपुंसक बनाउने विधिलाई कानुनका रुपमा ल्याउनका लागि अध्ययन गर्न सरकारलाई निर्देशन दिएका हौं ।’

बलात्कार बिरुद्ध विशेष कानुन बनाउन सरकारलाई निर्देशन दिइएको जानकारी दिँदै सभापति रञ्जु ठाकुरले उक्त कानुनमा केमिकल क्यास्ट्रियसन मार्फत नपुंसक बनाउने विधि पनि समावेश हुने बताइन् । बैठकमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले समितिको निर्देशनका बारेमा प्रहरीलाई तत्काल सर्कुलर गर्ने तर कानूनबिना बलात्कारीलाई नपुंसक बनाउन नमिल्ने बताएका छन् ।

उनले भने, ‘हामीसँग भएको कानुनमा बालिकाको बलात्कारमा संलग्नलाई नपुंसक बनाउन सकिने प्रावधान छैन । समितिले दिएको निर्देशन प्रहरीलाई तत्काल सर्कुलर गर्ने प्रतिवद्धता गर्छु । केमिकल प्रयोग गरेर नपुंसक बनाउने प्रावधान सहितको कानून बनाउनमेरो तर्फबाट आवश्यक सहयोग रहन्छ ।’

पछिल्लो पटक बाराकी ६ वर्षीय बालिका पूजा साशको बलात्कारका कारण ज्यान गएपछि समिति बालिका बलात्कारमा संलग्नलाई नपुंसक बनाउनुपर्ने निर्णयमा पुगेको हो । सरकारले पछिल्लोपटक गरेको फौजदारी कसुर सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा नै दश वर्षभन्दा मुनिका बालिकाको बलात्कारमा संलग्नलाई १० देखि १५ वर्षसम्म सजायको प्रस्ताव गरिएको छ ।

फागुनमा मात्रै बलात्कार सम्बन्धी ७५ उजुरी 

गएको फागुन महिनामा मात्रै बलात्कार सम्बन्धी ७५ वटा उजुरी प्रहरीमा दर्ता भएका छन् । प्रहरीले बलात्कारका आरोपी ६९ जनालाई पक्रेको छ । आर्थिक वर्ष २०७१/०७२ को फागुन मसान्तसम्ममा प्रहरीमा बलात्कार सम्बन्धी ५ सय ८४ उजुरी दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले बताए । Rape Cases 11

जवरजस्ती करणीको उद्योग सम्बन्धी ३ सय ४४ उजुरी दर्ता भएको उनको भनाइ छ । फागुनमा मात्रै जवरजस्ती करणीको उद्योग सम्बन्धी प्रहरीमा ४३ उजुरी दर्ता भएकोमा ४७ जना आरोपी पक्राउ परेको प्रवक्ता बमले जानकारी दिए ।

उनले भने, ‘प्रहरीमा परेका उजुरी अनुसार राजधानी काठमाडौं आसपासका क्षेत्रमैं बलात्कारका घटना बढी भएको पाइएको छ । आर्थिक वर्ष २०७१/०७२ को फागुन मसान्तसम्मको तथ्याङ्क हेर्ने हो भने पनि उपत्यकाबाटै ७८ मुद्दा दर्ता भएका छन् । फागुनसम्मका ५ सय ८४ उजुरीमध्ये मध्यमाञ्चल विकास क्षेत्रबाटै सबैभन्दा बढी एक सय ९२ उजुरी दर्ता भएका छन् ।’

विगत वर्षका तथ्याङ्कलाई केलाउने हो भने पनि विकसित, शिक्षित समुदायको बसोबास भएको, सबै सुविधायुक्त, राजधानी आसपासका क्षेत्रमैं बलात्कारका घटना बढी भएको पाइएको छ । आर्थिक वर्ष २०६८/०६९ देखि आर्थिक वर्ष २०७१/०७२ को फागुन मसान्तसम्म प्रहरीमा दर्ता भएका २ हजार ७ सय २८ उजुरीमध्ये मध्यमाञ्चल विकास क्षेत्रमा ८ सय ९४ उजुरी दर्ता भएका छन् ।

त्यसपछि पूर्वाञ्चलमा ८ सय ३१, पश्चिमाञ्चलमा ४ सय ६३, मध्यपश्चिमाञ्चलमा ३ सय ७५ र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रमा १ सय ६५ उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । यस आर्थिक वर्षको फागुनसम्ममा बलात्कारमा संलग्न ५ सय ७८ अभियुक्त पक्राउ परेको प्रहरी प्रवक्ता कमलसिंह बमले बताए । Picture 11


  •  
  •  
  •