‘तेजाव आक्रमणकारीलाई कुटपिट मुद्दा अन्तर्गत कारवाही’

422
  •  
  •  
  •  

काठमाडौं, १२ चैत (ओएनएस) : समय र विकासको क्रमसँगै अपराधका नयाँ प्रकृति देखा परेका छन् । गएको फागुन १० गते राजधानीमा ट्युशन पढिरहेका २ किशोरीमाथि एक युवाले एसिड (तेजाव) प्रहार गरे । मानिसमाथि तेजाव प्रहार भएको यो सम्भवत पहिलो घटना हो ।

तेजाव प्रहारबाट एसएलसीको तयारी गरिरहेका संगिता मगर र सिमा बस्नेत घाइते भए । उनीहरु अहिले अस्पतालको बेडबाटै एसएलसी दिइरहेका छन् । उनीहरुमाथि तेजाव प्रहार गरेको अभियोगमा २० वर्षीय जीवन विक पक्राउ परेका छन् । पीडितको तर्फबाट तेजाव आक्रमणकारीलाई फाँसीको सजाय दिनु पर्ने माग आइरहेको छ ।

तर नेपालमा यससम्बन्धी स्पष्ट कानुन नभएका कारण तेजाव आक्रमणकारी जीवन विकलाई कस्तो सजाय दिइने हो प्रष्ट भैसकेको छैन । सरकारले भने तेजाव आक्रमणका घटनालाई कुटपिटको मुद्दा अन्तर्गत हेर्ने र कारवाही गर्ने गरी कानुन ल्याउन लागेको छ ।

सरकारले पछिल्लोपटक ल्याउन लागेको फौजदारी कसुर सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा आगो लगाउने वा तेजावले पोल्ने सम्बन्धीको अपराधलाई कुटपिटको महल अन्तर्गत मुद्दा चलाउने प्रश्ताव गरेको छ । फौजदारी संहिता नाम दिएर आर्थिक वर्ष २०६४/०६५ मा विधायन समितिमा पेश भएको विधेयक अझै विचाराधिन छ ।

उक्त विधेयकमा पनि मुलुकी ऐनको नवौं संशोधनमा भएकै कानुनी सजायलाई निरन्तरता दिने प्रश्ताव गरिएको छ । आगो, आगो समान पोल्ने गराइएका बस्तु वा तेजाव इत्यादीले पोली, डामी, दली, घसी जीउमा पीडा गराएमा अधिकतम ८ हजार रुपैंयाँ जरिवाना र २ वर्ष ८ महिना कैद गर्न सकिने प्रश्ताव गरिएको छ ।

विधेयकमा भनिएको छ, ‘आगो, आगो समान पोल्ने गराइएका बस्तु वा तेजाव इत्यादीले पोल्नु हुँदैन । यस्तो कार्य दण्डनीय हुनेछ ।’ संसदमा विचाराधिन फौजदारी संहिता र त्यसमा भएको सजायका बारेमा अहिले छलफल भैरहेको छ । सरकारले ल्याउन लागेको कानुनमा तेजाव आक्रमण सम्बन्धीको घटनालाई कुटपिटभन्दा माथि नराखिएको बताउँछन् पूर्व सभाषद तथा अधिवक्ता खिमलाल देवकोटा ।

उनी भन्छन्, ‘तेजाव आक्रमणलाई कुटपिटभन्दा माथि राखिएको छैन । तेजाव आक्रमणका कारण कसैको ज्यान गयो भने मात्रै कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाइन्छ नत्र कुटपिटको मुद्दा अन्तर्गत राखिएको छ । तर तेजाव आक्रमणको घटनालाई कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाइनु पर्ने हो ।’

विधेयकमा सरकारले गरेको प्रश्ताव अनुसार तेजावले आङ, मुख र कानमा पोलेको भएमा ५ सय रुपैंयाँ जरिवाना र दुई महिना कैदको सजाय हुन्छ । त्यस्तै नाक र आँखामा भए एक हजार रुपैंयाँ जरिवाना र चार महिना कैद तथा गुदद्धारमा भए दुईहजार रुपैंयाँ जरिवाना र आठ महिना कैदको व्यबस्था छ ।

प्रश्ताव अनुसार आगो, आगो समान पोल्ने गराइएका बस्तु वा तेजाव इत्यादीले तेजावले लिङ्गमा पोलेमा चार हजार रुपैंयाँ जरिवाना र एक वर्ष चार महिना कैद र भगमा भएमा आठ हजार रुपैंयाँ जरिवाना र दुई वर्ष आठ महिना कैद सजायँ हुने व्यवस्था गरिएको छ ।

अपराधको प्रकृति र अपराधीले अवलम्बन गर्ने गरेका तरिकालाई ख्याल गरी कानुनको परिमार्जन गर्नु पर्नेमा अधिवक्ता खिमलाल देवकोटाले जोड दिएका छन् । उनी भन्छन्, ‘तेजाव आक्रमणसम्बन्धी अपराधलाई कुटपिटको महलमा राखिएको छ । तेजाव आक्रमणका कारण कसैको अङ्गभङ्ग मात्रै भए पनि ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा चलाइनुपर्छ ।’

कानुन व्यबसायिले मुद्रास्फिति भएपछि हरेक वर्ष मुल्य बृद्धि भएजस्तै हरेक वर्ष पुनरापलोकन गर्दै सजायमा बृद्धि गर्नु पर्ने माग गरेका छन् । कसुरको प्रकृति हेरी तेजाव आक्रमणका दोषीलाई पचास हजार रुपैंयाँदेखि एक लाख पचास हजार रुपैंयाँ जरिवाना र तीनदेखि आठ वर्षसम्म जेल कैद गर्न सकिने गरी कानुनी व्यवस्था गर्न अधिवक्ता देवकोटाको सुझाव छ ।

उनी भन्छन्, ‘एउटा विधेयक ७ वर्षदेखि विचाराधिन छ । यस अवधिमा अपराधका नयाँ प्रकृति देखिएका छन्, उनीहरुले नयाँ नयाँ तरिका अपनाएका छन् । तर हाम्रो कानुनमा एक पटकसम्म संशोधन हुन सकेको छैन ।’ तेजाव (एसिड) आक्रमणका पीडित संगिता मगर र सिमा बस्नेतले समेत आक्रमणकारीलाई फाँसीको सजाय दिन माग गरेका छन् ।

एकातर्फ सजायको प्रावधान फितलो हुनु अर्कोतिर अनुसन्धान तथा कारवाहीमा हुने ढिलाइका कारण अपराधीको मनोवल बढिरहेको देखिन्छ । सरकारले सडकबाट उठिरहेको मागलाई सम्बोधन गर्नुका साथै पीडितको पुनस्र्थापना तथा अपराध नियन्त्रणका लागि संसदको विधायन समितिमा विचाराधिन अवस्थामा रहेको फौजदारी संहितामा आवश्यक परिमार्जन गर्न जरुरी छ ।

साथै अपराधको प्रकृति र अपराधीले अवलम्बन गर्ने गरेका तरिकालाई ख्याल गरी समय सापेक्ष कानुनको परिमार्जन गर्दै कानुनी राज्यको अनुभुती गराउनुपर्छ ।


  •  
  •  
  •