कर्मचारीले नै लुकाए मन्त्रीको पत्र

235
  •  
  •  
  •  

युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल अमेरिकी दूतावासबाट पठाइएको एउटा पत्र मन्त्रालयकै कर्मचारीले लुकाएको थाहा पाएपछि मन्त्रालयका कर्मचारीसँग असन्तुष्ट बनेका छन्।
केही साताअघि अमेरिकी राजदूत एलाइना बी तेप्लिज भेट्न आउने भनी दूतावासबाट पठाइएको पत्रबारे मन्त्री मण्डललाई अन्तिम समयसम्म पनि जानकारी नगराइएपछि उनले कर्मचारीतन्त्रबाट आफूलाई सहयोग नभएको निष्कर्ष पनि निकालेका छन्।स्रोतका अनुसार मंसिर तेस्रो साता राजदूत तेप्लिज खेलकुदमन्त्रीलाई भेट्न आउने भनी अमेरिकी दूतावासबाट मन्त्रालयमा पत्र पठाइएको थियो।
दुई दिनपहिले नै आएको उक्त पत्रका विषयमा मन्त्री मण्डलले भने राजदूत भेट्न आउनुभन्दा आधा घन्टाअघि मात्र जानकारी पाएका थिए, त्यो पनि मन्त्रालयबाट नभई अन्यत्रैबाट। अमेरिकी राष्ट्रिय महिला फुटबल टोली नेपाल आउनेबारे जानकारी दिन राजदूत तेप्लिजले मन्त्री मण्डललाई भेट्न चाहेकी थिइन्। अमेरिकी टोली दुई महिनापछि नेपाल भ्रमणमा आउने भएको छ।
‘प्रधानमन्त्री कार्यालयका कर्मचारीले तपाईं अझै यहीं हुनुहुन्छ, तपाईंलाई भेट्न अमेरिकी राजदूत मन्त्रालय आउने बेला भइसक्यो त, भनेपछि म छक्क परें।’ -सत्‍यनारायण मण्डल युवा तथा खेलकुदमन्त्री
मन्त्री मण्डलले अमेरिकी राजदूत आफूलाई भेट्न आउने जानकारी आफूले आधा घन्टाअघि मात्र पाएको स्वीकारे। ‘दूतावासबाट दुई दिनअघि नै पत्र आएको रहेछ तर किन हो मलाई जानकारी गराइएन’, उनले भने। राजदूत भेट्न आउनेबारे जानकारी नपाएपछि उनी पार्टीको स्थायी समिति बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेका थिए।
बैठक चलिरहँदा प्रधानमन्त्री कार्यालयका एक कर्मचारीबाट राजदूत भेट्न आउने जानकारी उनले पाएका थिए। प्रधानमन्त्री कार्यालयलाई परराष्ट्र मन्त्रालयले यस विषयमा जानकारी गराएको थियो। ‘प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले तपाईं अझै यहीं हुनुहुन्छ, तपाईंलाई भेट्न अमेरिकी राजदूत मन्त्रालय आउने बेला भइसक्यो त, भनेपछि म छक्क परें। त्यसबारे मलाई कुनै जानकारी नै गराइएको थिएन’, मन्त्री मण्डलले भने।
अपराह्न १२ बजे हुने भेटबारे उनले ११:३० बजेमात्र जानकारी पाएका थिए। ‘जानकारी पाउनासाथ म पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई बताएर हतारहतार बैठकबाट बाहिरिएँ। समयमै जानकारी नपाएपछि भेटमा के कुरा गर्ने भनेर तयारी पनि गर्न पाइएन।
यस्ता कुराले लज्जित हुनुपर्ने अवस्था आउँदो रहेछ’, उनले भने, ‘यस विषयमा मैले पछि सचिवसँग सोधेको थिएँ, उहाँले पनि दूतावासबाट पत्र आएको विषयमा आफूलाई कुनै जानकारी नरहेको जबाफ दिनुभयो।’ स्रोतका अनुसार मन्त्रीले यो विषयलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित फाँट हेर्ने सहसचिवलाई पनि सोधेका थिए।
सम्बन्धित फाँट हेर्ने सहसचिवले ‘हामीले मन्त्रीलाई खबर गर्ने होइन, चेन अफ कमान्डअनुसार हिँड्ने हो’ भनेर मन्त्रीलाई जबाफ फर्काएको स्रोतले बतायो। ‘समस्या धेरै छन् तर, ऐनकानुनसँगै कर्मचारीतन्त्रको व्यवहारमा परिमार्जन नभएसम्म जतिसुकै क्रान्तिकारी कुरा गरे पनि केही हुनेवाला छैन’, मन्त्री मण्डलले दुःखेसो पोखे। युवा तथा खेलकुद मन्त्रालयका सचिव लक्ष्मण मैनालीले भने आफू त्यतिबेला भर्खरै सरुवा भएर आएकाले त्यस विषयमा राम्रो जानकारी नभएको बताए।

  •  
  •  
  •